Comments Add Comment

उमेद्वार बन्न नपाएपछि राष्ट्रपतिका छोरा सडकमा

विरेन्द्र रमण

१९ भदौ, जनकपुर । धनुषा क्षेत्र नम्बर ५ को उम्मेदवारका लागि आफ्नो नाम सिफारिस नभएपछि राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवले समर्थकसहित जनकपुरमा सडकमै उत्रिएर विरोध प्रदर्शन गर्नुभएको छ । डा. चन्द्रमोहन बुधबार आफ्ना समर्थकलाई दिएर नाराबाजीसहित कांग्रेस धनुषाको कार्यालयमा पुग्नुभएको हो ।

chandra-mohan

डा. चन्द्रमोहनका समर्थकहरुले कांग्रेस धनुषाका सभापति रामसरोज यादव र प्रत्यक्षको उम्मेदवारमा सिफारिसमा पर्नुभएका पूर्वसभासद महेन्द्र यादवविरुद्ध नाराबाजी गरेका छन् । अघिल्लो उपनिर्वाचनमा पिताको निर्वाचन क्षेत्रमा एमालेका रघुवीर महासेठसँग पराजीत हुनुभएका डा. यादव सभासद बन्ने धोको पूरा नहुने देखेपछि आन्दोलनमा उत्रिनुभएको हो । सभासद हुनकै लागि उहाँले ०६५ सालमा वीर अस्पतालको रेडियोजिष्टबाट राजीनामा दिइसक्नुभएको छ ।

नेपाली कांग्रेसको क्षेत्रीय समितिले महेन्द्रसँगै कुमरकान्त झा र क्षेत्रीय सभापति योगेन्द्र पंजियारको नाम मंगलबार सिफारिस गरेको थियो । प्रत्यक्ष र समानुपातिक दुबैतर्फ आफ्नो नाम सिफारिस नभएछि चन्द्रमोहन र रामइश्वर यादवले समितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्नु भएको थियो ।

क्षेत्रीय समितिले पठाएको नामलाई अन्तिम रुप दिएर केन्द्रमा पठाउन बुधबार बोलाइएको जिल्ला कार्यसमितिको बैठक भने स्थगित भएको छ । सबै क्षेत्रीय समितिले नाम नपठाएकाले बैठक स्थगित भएको कांग्रेस धनुषाका सचिव कोमलकान्त झाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment