Comments Add Comment

मोबाइलमा विज्ञापन हेर्दा खातामा पैसा जम्मा

२० साउन, काठमाडौं । एण्ड्रोइड मोबाइलमा विज्ञापन हेरेर आम्दानी गर्न सक्ने सुविधा आएको छ । आफूले विकास गरेको उक्त सेवाबारे क्यास एण्ड एडले बिहीबार पत्रकार भेट गरी सार्वजनिक गरेको हो ।

cash on ad

यसको लागि मोबाइलमा निःशुल्क एप्स cashonad डाउनलोड गर्नुपर्छ । एप्स इन्स्टल गरेर दर्ता गरेपछि मोबाइलमा फोनको घण्टीसँगै विज्ञापन बज्छ । फोन उठाउनुअघि विज्ञापन हेरे त्यसबाट आम्दानी हुन्छ । यो सेवा विश्वमै पहिलो भएको जारी गर्ने कम्पनीले जनाएको छ ।

यो सेवा लिएवापत फोन प्रयोगकर्ताले कुनै पनि रकम खर्च गर्नुपर्दैन । एप्स डाउनलोड गरेपछि रजिष्टे्रशन गर्नुपर्दछ । फेसबुक लग इन गरेर पनि क्यास एण्ड एडमा दर्ता गर्न सकिने बताइएको छ ।

रजिष्ट्रेशन भैसकेपछि फोनमा विज्ञापन देखिन थाल्छ । पैसा आम्दानी गर्नका लागि यो विज्ञापन कम्तिमा पनि छ सेकेण्ड हुर्नुपर्दछ । एक विज्ञापनवापत एक अमेरिकी सेन्ट खातामा थपिंदै जान्छ । आफ्नो खातामा जम्मा भएको रकम तत्काल हेर्न सकिन्छ ।

यसरी क्यास एण्ड एडमा जम्मा भएको रकम नेपालमा इ-सेवामा ट्रान्सफर गर्न सकिन्छ । विदेशमा पेपल खातामा रकम ट्रान्सफर गर्नका लागि एप्समै बटनको व्यवस्था छ ।

इसेवामा प्राप्त रकम मोवाइल टपअप गर्न, विद्युत, खानेपानी, टेलिफोन लगायत युटिलिटीको महसुल तिर्न, सिनेमाको टिकट खरिद गर्न, बस, विमानको टिकट किन्न तथा इसेवाले प्रदान गर्ने अन्य सेवाहरुमा उपयोग गर्न सकिन्छ ।

‘यो सेवा प्रयोग गरेबापत कम्तिमा पनि टेलिफोन कम्युनिकेशनको ५० प्रतिशत खर्च घटाउन सकिन्छ’, क्यास एण्ड एडका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठले भन्नुभयो ।

क्यास एण्ड एडको ब्यालेन्स हरेक २४ घण्टामा एक पटक इन्टरनेटमा सिंक गर्नुपर्दछ । यो सेवा प्रयोगका क्रममा टेलिफोन कम्पनीको कल काउण्ट भए पनि डाटा भने प्रयोग हुँदैन ।

ब्यालेन्स सिंक गर्दा एप्सले आवश्यक विज्ञापन मोबाइलमै डाउनलोड गर्दछ भने घण्टीको सट्टा एप्सले विज्ञापन बजाउँछ । फेसबुकबाट लिएको डाटालाई प्रयोग गरेर क्यास एण्ड एडले विज्ञापनदाताको लक्षित समूहसम्म विज्ञापन पठाउँछ ।

एक महिनादेखि प्रयोगमा रहेको यो सेवाका अहिले दश हजारभन्दा बढी प्रयोगकर्ता भैसकेका छन् । केही महिनाभित्र भारत, बंगलादेश, श्रीलंका, मलेसिया, फिलिपिन्स, इन्डोनेशिया, ब्राजिल, कम्बोडिया, अमेरिका, सिंगापुर र संयुक्त अरब इमिरेट्स लगायत १८ मुलुकमा सेवा विस्तार गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment