Comments Add Comment

‘स्थानीय मुद्रामा ऋणपत्र केही दिनमै’

२० भदौ, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपाल सरकार र विश्व बैंक दुवैको लक्ष्य गरिबी न्यूनीकरण भएकाले सहकार्य आवश्यक भएको बताउनु भएको छ ।

DSC09367

विश्व बैंक दक्षिण एशिया समूहका निर्देशक डा. सुन्दरम अन्नामालायसँगको भेटमा अर्थमन्त्री कोइरालाले देशमा रहेको २५ प्रतिशत गरिबीलाई तीन वर्षभित्र १९ प्रतिशतमा झार्ने उद्देश्य पूरा गर्ने अभियानलाई सघाउन विश्व बैंकसँग आग्रह गर्नुभयो ।

मन्त्री कोइरालाले वैदेशिक लगानीको जोखिम कम गर्न स्थानीय मुद्रामा ऋणपत्र जारीको सुविधाका लागि सरकार अग्रसर भएर लागेको जानकारी दिँदै केही दिनमै सुखद् परिणाम आउने विश्वास दिलाउनुभयो ।

विश्व बैंकले नेपाललाई दिने भनेको सय मिलियन सहयोगमध्ये ३० मिलियन प्राप्त भइसकेकोमा खुसी व्यक्त गर्दै मन्त्री कोइरालाले भन्नुभयो- ‘मुलुकमा अब लगानीमैत्री वातावरण बन्दै गएको छ । त्यसैले विश्व बैंकले सरकारले बजेटमार्फत प्राथमिकतामा राखेका ऊर्जा, पूर्वाधार विकास, सिंचाई जस्ता क्षेत्रमा लगानी बढाउनुपर्छ ।’

सो अवसरमा मन्त्री कोइरालाले बिनाजानकारी नेपालस्थित विश्व बैंक कार्यालय सारिएको घटनामा असन्तुष्टि जनाउँदै तत्काल कार्यालय पुनस्र्थापना गर्न माग गर्नुभयो ।

निर्देशक अन्नमालायले विश्व बैंक कार्यकारी परिषद्को बैठक बस्न लागेको जानकारी दिंदै नेपालका चासो र सरोकारका विषयमा आफूले परिषद्को ध्यानाकर्षण गराइदिने बचन दिनुभयो ।

उहाँले विश्व बैंकले नेपाल सरकारले प्रस्ताव गरेका एजेण्डामा लगानी वृद्धि गर्दै लैजाने विश्वास दिलाउँदै लगानीको सुरक्षा प्रत्याभूति हुने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभयो ।

कुवेती दूतावास खोल्न माग

आजै अर्थमन्त्री कोइरालासँग नेपालका लागि कुवेतका राजदूत सामी महम्मद अल सुलयमानले भेट गरी नेपालको विकासमा कुवेतको सहभागिता बढाउँदै लैजाने बताउनुभयो ।

DSC09358

भारतमा आवासीय राजदूत रहेका उहाँले नेपाल र कुवेती उद्योग वाणिज्य महासंघबीच आपसी सहकार्य आवश्यक भएको बताउँदै त्यसका लागि गृहकार्य गरिने जानकारी दिनुभयो ।

राजदूत सुलयमानले कुवेतमा रहेका ६५ हजार कामदारको सुरक्षाप्रति सरकारलाई आश्वस्त दिलाउँदै दुई देशका उत्पादनलाई बजार पहुँचमा सरलीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

मन्त्री कोइरालाले तत्काल नेपालमा आवासीय दूतावास खोल्न आग्रह गर्दै १९७९ बाट शुरु भएको दुई देशीय कुटनीतिक र पारस्परिक सम्बन्धलाई जनताको हित अनुकूल कसिलो बनाउनुपर्ने बताउनु भयो ।

बुढी गण्डकी परियोजनामा कुबेत सरकारले लगानी गरेकोमा खुसी व्यक्त गर्दै उहाँले हाईड्रोपावर र पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउन ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा अर्थ मन्त्रालय वैदेशिक महाशाखा प्रमुख मधुकुमार मरासिनी, सहसचिव नवराज भण्डारी र नेपाल – कुवेत चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment