Comments Add Comment

एभरेष्ट बैंकको बोनस सेयर बढ्ने सम्भावना

२३ भदौ, काठमाडौं । एभरेष्ट बैंकले लगानीकर्ताको अपेक्षाविपरीत थोरै बोनस सेयर दिने प्रस्ताव गरेपछि सेयर बजारमा तत्काल तीव्र प्रतिक्रिया देखिएको छ । यद्यपि बैंकको निर्णय राष्ट्र बैंकको नियमसँग नमिल्ने हुँदा बोनस सेयर बढ्ने सम्भावना बलियो देखिएको छ ।

everest-bank

आज स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको सेयर न्यूनतम १६३८ रुपैयाँसम्ममा झरेको छ, जुन बिहीबार कारोबार बन्द भएको मूल्यभन्दा १८२ रुपैयाँले कम हो । कारोबार बन्द हुँदा मूल्य १६९२ पुगेको छ, जुन बिहीबारको तुलनामा १२८ ले कम हो ।

एभरेष्ट बैंकको करिब २८ हजार कित्ता सेयर कारोबार भएको छ । त्यसमध्ये धेरै जसो कारोबार १६५० रुपैयाँको रेन्जमा बिक्री भएको छ । कारोबार गरेका सेयरधनीको हिसाब गर्दा उनीहरुले ४७ लाख रुपैयाँभन्दा बढी गुमाएका छन् ।

१ अर्ब ६० करोड चुक्ता पुँजी रहेको एभरेष्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिएर २ अर्ब चुक्ता पुँजी पुर्‍याउने अनुमान गरिएको थियो । तर बैंक सञ्चालक समितिले १० प्रतिशत मात्र बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको बोनस सेयर पारित भएमा चुक्ता पुँजी १ अर्ब ७६ करोड रुपैयाँ मात्र हुनेछ । राष्ट्र बैंकले यसअघि न्युनतम चुक्ता पुँजी पुर्‍याउन २० प्रतिशतसम्म वैधानिक जगेडाबाहेकको जगेडा रकम गणना गर्न सकिने व्यवस्था गरेको थियो । तर चालू आर्थिक वर्षको मौदि्रक नीति र निर्देशिकामार्फत केन्द्रीय बैंकले चुक्ता पुँजी नै २ अर्ब पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ ।

एभरेष्ट बैंकसँग १६ करोड रुपैयाँको कन्भर्टिभल पि्रफरेन्स सेयर रहेको छ । हरेक तीन वर्षमा २० प्रतिशत साधारण सेयरमा रुपान्तरण हुने गरी बैंकले २० करोडको पि्रफरेन्स जारी गरेको थियो । यदि अहिले २५ प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी पुर्‍याउने हो भने पछि बैंकको चुक्ता पुँजी २ अर्ब १६ करोड रुपैयाँ हुन जान्छ ।

एभरेष्ट बैंकले भने अन्तर्राष्ट्रिय मान्यताअनुरुप २० प्रतिशत रकम जगेडाबाट गणना गर्न पाउनुपर्ने भन्दै केन्द्रीय बैंकसँग आग्रह गरिरहेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले आइतबार भन्नुभयो, ‘हामीले २ अर्ब नै चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएका छौं, अन्य पुँजी गणना गर्न पाइदैन ।’

राष्ट्र बैंकले यसअघि गरेको व्यवस्था लामो छलफल र तयारीपछि परिवर्तन गरेको उल्लेख गर्दै केन्द्रीय बैंकका उच्च अधिकारीले एभरेष्टको आग्रहअनुसारको व्यवस्था हुने सम्भावना नरहेको बताए । त्यसो भएमा एभरेष्टले २५ प्रतिशत बोनस सेयरकै प्रस्ताव राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

सञ्चालक समितिले गरेको निर्णय राष्ट्र बैंकमा पेश गरेर स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यसपछि उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्र लागू हुन्छ । प्रस्ताव गरेको लाभांश बढाउन नपाउने, घटाउन मात्र पाउने व्यवस्था छ ।

अन्योलको बीचमा बैंकको निर्णय सार्वजनिक हुँदा सेयरधनी मर्कामा परेका छन् । यस्तो अवस्थामा सेयर कारोबार स्थगन गर्नुपर्ने वा बैंकले स्पष्ट जानकारीसहित निर्णय सार्वजनिक गर्नुपर्ने सेयरधनीको माग छ । ‘बैंक व्यवस्थापन र राष्ट्र बैंकबीचको कुराले हामी साधारण सेयरधनी मर्कामा पर्नु हुन्न’, उनीहरुको भनाइ छ ।

एभरेष्टले प्रस्ताव गरेको बोनस सेयर र ५० प्रतिशतको नगद लाभांश गरी वास्तविक प्रतिकित्ता २१२ रुपैयाँको हाराहारी लाभ पाउने छन् । बैंकले बोनस २५ र नगद ३५ प्रतिशत गर्दा सेयरधनी लाभ ३७२ रुपैयाँ हुन जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment