Comments Add Comment

पत्रकार हत्या आरोपी कुन्दन फौजदार उमेद्वारमा सिफारिस

क्रान्ति शाह

२४ भदौ, वीरगञ्ज । एकीकृत नेकपा माओवादी बाराले पत्रकार वीरेन्द्र साहको हत्याको आरोपमा फरार व्यक्तिलाईसमेत आगामी संविधानसभाको चुनावमा प्रत्यक्षतर्फको उमेद्वार सिफारिस गरेको छ ।

बाराको क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको सिफारिसमा परेका कुन्दन फौजदार पत्रकार वीरेन्द्र साहको हत्या अभियोगमा फरार व्यक्ति हुन् । फौजदारको नाम पार्टीको बैठकबाटै आएकाले सिफारिस गरिएको स्थानीय एमाओवादी नेता लवकुश बैठाले बताउनुभयो ।

सिमरा र कलैयामा बेग्लाबेग्लै बैठक

मधेसमा बहुमत ल्याउने नेताहरुले दाबी गरिरहेका बेला संविधानसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसलाई लिएर बारामा एकीकृत नेकपा माओवादीका नेताबीच विवाद चर्किएको छ । केन्द्रीय सदस्य जयराम दाहाल पक्ष र अर्का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक शिवचन्द्र कुशवाहाले सोमबार सिमरा र कलैयामा छुट्टाछट्टै बैठक गरी फरक-फरक उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेका छन् । दुबैपक्षले सिफारिस गरेका नामावलीमा विपक्षी समूहका नेताको समेत नाम समावेश गरिएको छ ।

कुशवाहा समूहको सिफारिस

बाराको कलैयामा सोमबार बसेको कुशवाहा पक्षधरको बैठकले क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ शम्भु मण्डल, महानन्द यादव, गजेन्द्र जयसवाल, राजेश कुशवाहा र अनवर अन्सारीको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट शिवचन्द्र कुशवाहा , श्रीभगवान गिरी, शेर महम्मद, राजेश्वर सिंह, लालबाबु साह र सर्वेलाल यादव तथा क्षेत्र नम्बर ३ बाट श्रीप्रसाद पासवान, रामनारायण पाल, सुशील यादव, रामअशिष मेहता र असरफ अलीको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नम्बर ४ बाट हसनजान अन्सारी, रामराज चौधरी, धर्मदेव यादव, लालबाबु पटेल र लवकुश बैठाको नामा कुशवाहा पक्षले केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ५ बाट ज्वालाकुमारी साह, तपेश्वर चौधरी, छविलाल चौधरी, अशोक लामा र उद्धव पोख्रेल तथा क्षेत्र नम्बर ६ बाट हरिप्रसाद चौलागाई, ताराबहादुर कार्की, टंकप्रसाद पराजुली शेखर, जयराम दाहाल र ज्योतिमाया तामाङको नाम सिफारिस गरिएको कुशवाहा पक्षधरको बैठकमा सहभागी नेता लालकिरणले जानकारी दिनुभयो ।

दाहाल पक्षको अर्कै सिफारिस

केन्द्रीय सदस्य एवं पूर्वसभासद जयराम दाहाल पक्षधरको सोमबारै सिमरास्थित वाइसियल कार्यालयमा सम्पन्न अर्को बैठकले क्षेत्र नम्बर १ बाट शम्भु मण्डल, महानन्द यादव, गजेन्द्र जयसवाल र रामचन्द्र यादवको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ बाट रामबाबु यादव, शिवचन्द्र कुशवाहा, श्रीभगवान गिरी र शेर महम्मदको नाम सिफारिस गरेको छ । दाहाल पक्षधरले क्षेत्र नम्बर ३ बाट श्रीप्रसाद पासवान, लवकुश बैठा, सुशील यादव, महम्मद समीर र रामनारायण पाललाई सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट सुरेश साह, रामराज चौधरी, ब्रम्हदेव यादव, उमेश कुशवाहा, हसनजान अन्सारी र क्षेत्र नम्बर ५ बाट पत्रकार वीरेन्द्र साहको हत्या अभियोगमा फरार अभियुक्त कुन्दन फौजदारको समेत नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर ५ बाट ज्वालाकुमारी साह, तपेश्वर चौधरी तथा क्षेत्र नम्बर ६ बाट जयराम दाहाल, हरिप्रसाद चौलागाई, टंकप्रसाद पराजुली र ताराबहादुर कार्कीको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य दाहालले जानकारी दिनुभयो ।

आ-आफ्नै दाबी

दुबै समुहले आ-आफनो बैठकलाई पार्टीको आधिकारी बैठक भएको दाबी गरेका छन् । जिल्ला संयोजक कुशवाहाले भने सिमरामा अर्को समुहको बैठक बसेको बारे आफुलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भोजपुरा संयोजक छत्रबहादुर श्रेष्ठ अनिलको प्रमुख आतिथ्यतामा बसेको बैठकले आधिकारिक उम्मेदवारहरुको नाम सिफारिस गरेको दाबी गर्नुभयो ।

कुशवाहाको नेतृत्वमा बसेको बैठकले बैठकले जयराम दाहाल, लवकुश बैठासहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कुशवाहाले जानकारी दिनुभयो । उता जयराम दाहाल पक्षधरको बैठकमा सहभागी क्षेत्र नम्बर ४ का संयोजक लवकुश बैठाले कुशवाहालाई संयोजक नमान्ने निर्णय भएको बताउनुभयो । ११ सदस्यीय कार्यालयमध्ये ७ जना आफुहरुको बैठकमा सहभागी भएको दाबी बैठाले गर्नुभयो ।

जिल्ला संयोजक कुशवाहाले मनोमानी ढंगले पार्टी चलाउन खोजेको र आफुहरुको सल्लाहबिनै कलैयामा बैठक डाकेकाले आफुहरुले सिमरामा छुट्टै बैठक बोलाएर उम्मेदवारहरुको नाम सिफारिस गरिएको नेता बैठाले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment