२५ भदौ, उदयपुर । दसैँका लागि खसीको जोहो गर्न थालेका गाईघाटवासीले अहिले खसीबोकाको मूल्य धेरै बढेको बताएका छन् । विशेषगरी व्यवसायीहरूले गाईघाट क्षेत्रमा छिमेकी पहाडी जिल्लाहरू खोटाङ तथा ओखलढुङ्गा क्षेत्रबाट खसीबोका खरिद गरेर ल्याई बिक्री गर्ने गरेका छन् ।
अहिले खसीबोकाको मूल्य प्रतिकिलो ८०० रुपैयाँसम्म पर्न थालेको स्थानीय कमल खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दसैँ आयो, महँगो मूल्यमा खसी किन्न बाध्य भएँ, १५ किलोको खसीलाई रु १२ हजारमा किनेर ल्याएँ ।”
स्थानीय मोहन दाहाल भन्नुहुन्छ, “यसअघिसम्म प्रतिकिलो ५०० देखि ६०० सम्ममा खसी खरिद गर्न सकिने अवस्था थियो, अहिले व्यापारीहरूले अचानक खसीको मूल्य व्यापकरूपमा बढाएका छन्, अब प्रतिकिलो ८०० भन्दा तल व्यापारीहरू दिनै मान्दैनन् ।”
खसीबोकाको मूल्यमा व्यापक वृद्धि भएपछि दसैँमा खसी किनेर खान नसकिने भो भन्दै सर्वसाधारणले गुनासो गर्न थालेका छन् । यता खसी खरिद कर्ताहरू भने पहाडी क्षेत्रबाट लामो बाटो हिँडाएर खसीबोका खरिद गरेर झार्नु पर्दा महँगो हुने गरेको बताउँछन् ।
खोटाङ-४ डमर्खु शिवालयका कृष्ण विष्ट भन्नुहुन्छ, मैले २० वटा खसी खरिद गरेर उदयपुरमा झारेको छु, बाटामा खान बस्न गर्दै हप्तौँ दिन बिताएर खसीबोका झार्दा दसौँ हजार आˆनै खर्च भएका कारण पनि सस्तोमा खसी बिक्री गर्न सक्ने अवस्था रहेन ।
खसीबोका बिक्रीका लागि स्थानीय निकाय तथा प्रशासनले निश्चित मापदण्ड बनाई खसी व्यापारीहरूको मनपरीतन्त्र हटाउनुपर्ने उपभोक्ताको धारणा रहेको छ । रासस
प्रतिक्रिया 4