Comments Add Comment

यसपालि कुन पार्टीले कसरी जित्ला चुनाव ?

krishna abiralकृष्ण अविरल

मंसिर ४ मा संविधानसभाको दोस्रो चुनाव हुने लगभग निश्चित भएको छ । यतिबेला कांग्रेस-एमालेका अधिकांश नेता-कार्यकर्ता दुईतिहाइ बहुमतको दाबी गरिरहेका छन् । उनीहरुलाई लागिरहेको छ, एमाओवादी फुटेर दुई चिरा भएको मौकामा चुनावमा जान पाइयो भने एमाओवादीको शर्मनाक हार हुने पक्का छ ।

विगतमा सरकार सञ्चालनमा देखिएको असफलता, लोकपि्रय ठानिएका बाबुरामको शीघ्रपतन, सरकारी नियुक्ति र ठूलाखाले ठेक्कापट्टामा देखिएको ताण्डव, पूर्वलडाकुहरुको असन्तुष्टि, वेपत्ता तथा सहिदपरिवारको उपेक्षा आदिका कारणले पनि एमाओवादी चुनावमा पत्तासाफ हुने कांग्रेस र एमाले नेताहरुको अनुमान छ ।

उता माओवादी नेतृत्व भने आफ्नो १२० सिट सुरक्षित भएको र अलिकति बल गर्दा १६० पुर्‍याउन सकिने आँकलन गरिरहेको छ । संघीय समाजवादीलगायतका पार्टीसँग तालमेल गर्न सकियो र आन्तरिक कलह मिलाउन सकियो भने २० सिट थपिन सक्ने एमाओवादीको सपना छ ।

चुनावका लागि एमाओवादीले गरिरहेको हल्लाखल्ला हेर्दा उसको विश्लेषण सतहीजस्तो पनि देखिँदैन । उनीहरु भन्छन्- “पहिलो चुनावमा हामीसँग चुनावको अनुभव नै थिएन । हामीले त अँध्यारोमातिर हानेका थियौँ । यसपटक त हामीसँग अनुभव पनि छ, समर्थक पनि बढेका छन् । दुईतिहाइ किन आउँदैन ?”

साँच्चै नै । एमाओवादीसँग यतिखेर अनुभव मात्रै होइन साम, दाम, दण्ड, भेद सबैथोक छ । विगतका दरवारियाहरुको साथ र समर्थन छ । र, त्यसलाई प्रयोग गर्न सक्ने प्रचण्ड-कला पनि छ । यी सब अस्त्रका अगाडि आन्तरिक विवादमा रुमलिएका कांग्रेसका नेताहरुले ठूलो दल बन्छौं भन्दा विचरा Û भन्न मन लाग्छ ।

रामचन्द्र झाजस्ता इमानदार नेता र श्रवण मुकारुङजस्ता बफादार कार्यकर्ताहरुको समेत विश्वास जित्न नसक्ने एमाले नेताहरुको चुनावबारे कुरा सुन्दा त झन् दीपकराज गिरी र दीपाश्री निरौलाको ‘तीतो-सत्य’ नै बिर्सिइन्छ ।

एमाओवादीमा फुटेको घाउ आलो रहेका बेला चुनावमा गइयो भने उसको शर्मनाक हार हुने विश्लेषण कांग्रेस-एमालेका नेताहरुको छ । तर, एमाओवादीका नेताहरुले भने फुटलाई अवसरका रुपमा लिइरहेका छन् । हुन पनि शोकलाई शक्तिमा बदल्नु एमाओवादीको जन्मजात संस्कार नै हो । एमाओवादीका नेताहरुलाई थाहा छ, आफ्नो पार्टीका कार्यकर्ता, समर्थक शुभेच्छुकहरु आफ्नो पार्टीको पछिल्लो कार्यशैलीसँग जतिसुकै असन्तुष्ट भए पनि उनीहरुले कांग्रेस-एमाले वा अन्य संशोधनवादी पार्टीलाई भोट हाल्दैनन् । बरु चुनावका दिन कुनै अमूक नेताको मासुभात खाएर बस्छन् । त्यसकारण पनि उसले १६० सिट जित्ने आंकलन गरेको हुनसक्छ ।

चुनाव हुने अघिल्लो साँझका लागि एमाओवादीको तयारी त झन् साँच्चै डरलाग्दो हुन सक्छ । चुनाव हुने अघिल्लो साँझ एमाओवादीका कार्यकर्ताहरु मुखमा पटि्ट बाँधेर बहिष्कारवादी ड्यास माओवादीका कार्यकर्ता हौँ भन्दै कांग्रेस-एमाले समर्थकका घर-घरमा जान सक्टन् । “भोलि भोट हाल्न गयौ भने तिमेरलाई ठीक पार्छौँ” भनेर तर्साउन पनि बेर लगाउन्नन् । यस्तो अवस्थामा कट्टर कार्यकर्ताबाहेक कांग्रेस एमालेका जनसाधारण भोट हाल्न जाने छैनन् । उता एमाओवादीले भने आफ्ना समर्थक र शुभेच्छुकहरुलाई भने खोजीखोजी ल्याएर भोट हाल्न लगाउन सक्छ । त्यति भएपछि एमाओवादीले पहाडी इलाकामा मात्रै होइन, मधेशमा समेत सोरपटार पार्न सक्छ । प्रभावशाली नेताहरु मधेशबाट चुनाव लड्ने एमाओवादीको मधेश नीति हचुवाको भरमा त्यसै आएको होइन ।”

एमाओवादीका विगतका कमजोरी र करतुतहरुलाई दस्तावेजीकरण गरेर भँजाउन सकेको भए कांग्रेस-एमालेले आफ्नो पक्षमा जनमत जुटाउन सक्थे । त्यसका लागि युद्धमा लडेर अंगभग भएका तर अहिले विचल्लीको जीवन बाँचिरहेकाहरुलाई रणनीतिक रुपमा उपयोग गर्न सक्थे । विगतमा एमाले नेता माधव नेपाललाई हराउनका लागि उपयोग गरिएको अर्थात् तात्कालीन राजा ज्ञानेन्द्रलाई दाम राखेको फोटो घर-घरमा पुर्‍याएर हराएको घटनाबाट पाठ सिकेर प्रचण्ड-महलको असलियत, उनको विलासी दैनिकी, प्रकाशका करतुतहरुको कहानी, सुमार्गीसँगको लगानी साझेदारी मात्रै पनि उपयोग गर्न सक्थे भने चुनावी माहौल नै अर्को हुन सक्थ्यो । बाँकेको ढकेरीबाट हराएको भनिएको ३० केजी सुन र पाँच केजी चाँदीको भित्री कुरा, लडाकुका नाममा लिएको सरकारी रकमको घोटाला आदिका कुरा जनतालाई बुझाउन सकेको भए उनीहरुका विरुद्धमा हेलिकोप्टर चार्टर गरेर दौडाहा गर्नै पर्दैनथ्यो । जनतालाई भाषण कोच्याउनै पर्दैनथ्यो । लडाकु बन्ने क्रममा गरिब जनताका छोरीहरुले पार्टीलाई बुझाएको नाकको फुली, कानको टप र गलाको तिलहरी ढकेरीबाट हराएर प्रचण्ड महलको भित्ताभित्ता टाँसिन आइपुगेको छ भन्ने कुरा तिनकै कार्यकर्तालाई थाहा दिन सकेको भए माओवादीप्रतिको उनीहरुको धारणा नै फेरिन सक्थ्यो । एमाओवादी भनेको भारतीय गुप्तचर संस्था ‘रअ’ले योजनाबद्ध रुपमा जन्माएको ‘मानसपुत्र पार्टी’ हो भन्ने कुरा तथ्यगत रुपमा अघि सार्न सकेको भए उसका नेता-कार्यकर्ताले सार्वजनिक रुपमा अनुहार देखाउन सक्ने स्थिति पनि हुने थिएन । तर, गुटबन्दी र आफ्नै गाँड कोराकोरमा व्यस्त कांग्रेस-एमालेबाट जनसाधारणले यस्तो भण्डाफोरको अपेक्षा नगरे हुन्छ । तिनका अगुवा नेताहरुको कार्यशैली हेर्दा कमसे कम तिनको नेतृत्व रहेसम्म कांग्रेस र एमालेले दुईतिहाइ त के बहुमत ल्याउने सपना पनि नदेखे हुन्छ । ती पार्टीको नेतृत्व युवापुस्तामा आयो र रणनीति फेरियो भनेचाहिँ भन्न सकिन्न Û किनकि कांग्रेस र एमालेका अगुवाहरूको अनुहार टेलिभिजनमा देखियो भने मात्रै पनि आमजनताले टीभी नै बन्द गर्न थालिसकेका छन् । उनीहरुप्रति घृणा र वितृष्णा चरम भइसकेको छ । तर, असन्तुष्टिको उगाल आएपछि कमसे कम जनता अर्को विकल्प खोज्न बाध्य हुन्छन् !

नयाँ संविधानसभाबाट नयाँ नेपालको संविधान बन्ला भन्ने अपेक्षाचाहिँ नगरौँ । किनकि हाम्रा अगुवा भनिने नेताहरुले हाम्रो मुलुकलाई दासताको यति गहिरो खाडलमा पुर्‍याइसकेका छन् कि दक्षिणको छिमेकीले नचाहेसम्म हामी आफैंले चाहेर पनि यहाँ केही हुनेवाला छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment