Comments Add Comment

सरकारी अनुगमनको विरोधमा सुनचाँदी व्यवसायीले गरे मापदण्डको स्वघोषणा

१६ असोज, काठमाडौं । सरकारले दसैंको मुखमा सुनचाँदी व्यवसायमा अनुगमन सक्रिय बनाएपछि व्यवसायी विरोधमा उत्रिएका छन् । अनुगमन टोलीले दुई दिनअघि पाँच पसलबाट नमूना संकलन गरेको घटनाको विरोध गर्दै व्यवसायीले बुधबार आफैं अनुगमन मापदण्ड घोषणा गरेका छन् ।

यसअघि आफूहरुसँग सहमति गरेर अनुगमन मापदण्ड जारी गर्ने सहमति गरे पनि सरकारले एक पक्षीय ढंगले अनुगमन गरेर व्यवसायीलाई आतंकित गर्ने काम गरेको उनीहरुले बताए । गत असारमा भएको अनुगमनको सुनचाँदी व्यवसायीले सडक आन्दोलनबाट विरोध गरेका थिए । सरकारले ८ जना व्यवसायीविरुद्ध लगाएको मुद्दा स्थगन गर्ने तथा समझदारीमा मापदण्ड तयार गर्ने सहमति गरेको उनीहरुको भनाइ छ ।

सरकारले वैज्ञानिक मापदण्ड नबनाई अव्यावहारिक ढंगबाट अनुगमन गरेको भन्दै सुनचाँदी व्यवसायीले सरकारी मापदण्ड नमान्ने घोषणा गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी तथा रत्न आभुषण महासंघले संयुक्त रुपमा मापदण्ड जारी गरेर कार्यान्वयनका लागि व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

Gold-Shop

‘सरकार गरगहना व्यवसायलाई व्यवस्थित बनाउनेभन्दा पनि अस्तव्यस्त पार्ने गतिविधिमा संलग्न भएकोप्रति संवेदनशील हुँदै गरगहना व्यवसायीका प्रतिनिधिमूलक शीर्षस्थ संघीय संस्थाको हैसियतले आम उपभोक्ता, राज्य एवं व्यवसायीहरुप्रतिको उत्तरदायित्व बहन गर्दै दैनिक कारोबार सञ्चालनका लागि नियमावली बनाई जारी गरेको’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

नियमावली आ-आफ्नो पसलमा सबैले स्पष्टसँग देख्ने गरी टाँस्न र सोही प्रावधानबमोजिम कारोबार गर्न गराउन व्यवसायीहरुलाई दुई महासंघले आग्रह गरेका छन् । ‘सरकारले समझदारीमा मापदण्ड तयार नगरेसम्म अनुगमन कार्य अघि नबढाउने र विगतका अनुगमनका विषयलाई समेत संयुक्त कार्यदलमा निर्णय भएअनुरुप गर्ने सम्झौतालाई सरकारले लत्ताएको’ आरोप विज्ञप्तिमा लगाइएको छ ।

सरकारले परिस्थितिलाई थप अन्यौलपूर्ण बनाउँदै बजार अनुगमन गरेकाले सबै प्रयास, निर्णय र सम्झौताहरु स्वतः औचित्यहीन सिद्ध भएको महासंघहरुले उल्लेख गरेका छन् ।

 यस्तो छ नियामावली

· सुनको गरगहना बनाउँदा गरगहनाहरुको डिजाइनअनुसार बढीमा ३ प्रतिशतदेखि १५ प्रतिशतसम्म जाने जर्तिको व्यवस्था गर्ने

· चाँदीको गरगहना, भाँडाकुँडा, अन्य समान बनाउँदा डिजाइन र सामानको ढाँचाअनुसार बढीमा ४ प्रतिशतदेखि २० प्रतिशतसम्म जर्तिको व्यवस्था गर्ने

· हिरा लगायतका विभिन्न पत्थरहरु जडित गरगहना बनाउँदा ३ प्रतिशतदेखि २० प्रतिशतसम्म जर्तिको व्यवस्था गर्ने

· गरगहना तयार गर्दा गरिँदा एकै टुक्रा सुनलाई पटक-पटक बुट्टा बनाउँदै, त्यसबाट निस्किएको सुन र धुलोलाई पुनः धेरै पटक पगाल्दै अर्को बुट्टा बनाउँदै जोडेर बनाउनुपर्ने हुँदा गरगहना तयार भइसक्दासम्म तौलको जर्ति गएजस्तै गरी त्यसको गुणस्तरमा पनि अन्तर हुने बाध्यात्मक अवस्था रहने भएकाले सुनमा ३ प्रतिशत र चाँदीमा ५ प्रतिशतसम्म अन्तर कायम गर्ने

· सनुको गुणस्तर २४ क्यारेट, २२ क्यारेट, १८ क्यारेट, १४ क्यारेट, ९ क्यारेट आदि उल्लेख गरि प्रचलित दरभाउअनुसार मूल्य लिने

· वायुको चाप, भौगोलिक अवस्था, नापजाँच गर्ने मेशिनको कारणले नापतौलमा केही फरक पर्न सक्ने भएकोले निम्नानुसार घटीबढी मानिनेछ ।

क) सुनको चौल गर्दा १० मिलिग्रामसम्म

ख) चाँदीको तौल गर्दा २० मिलिग्रामसम्म

ग) मूल्यवान पत्थरको तौल गर्दा २ मिलिग्राम (०.०१ क्यारेट)

घ) अर्धमूल्यवान र कृतिम पत्थरको तौल गर्दा १० मिलिग्राम (०.०५ क्यारेट)

· व्यवसायीहरुले उपभोक्ताबाट गरगहना खरीद गर्दा प्रचलित मूल्यमा बढीमा १० प्रतिशतसम्म कट्टा गर्न सक्ने

· स्थानिय बजार मूल्यमा सुनचाँदीको गरगहना निर्माण गर्दा, डिजाइन, जर्ति, ज्याला, व्यवस्थापकीय खर्च आदिसमेत जोडी हुन आउने खूद मूल्यमा अधिकतम २० प्रतिशतसम्म मुनाफा लिई बिक्री वितरण गर्न सकिने

· आफ्नो मेहेनत, सिर्जना, डिजाइन वा कलाकारिताको मेहेनतमा निर्धारण गर्ने हक गरगहनाका निर्माता एवं सर्जकहरुको हुने हँुदा उनीहरुले निर्धारण गरेअनुसारको ज्याला लिन पाउनुपर्ने

· सुनचाँदी वा पत्थरबाट गरगहना वा अन्य चिजवस्तु बनाउँदा वा बिक्री गर्दा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने कुनै पनि धातु वा चिज मिश्रण गर्न नपाइने

· सुनचाँदीमा विभिन्न पत्थरहरु जडान गरि गरगहनाहरु उत्पादन तथा बिक्री वितरण गर्दा अन्तर्राष्ट्रिय व्यापारिक अभ्यास अनुरुप रत्न र पत्थरहरुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकि बिक्री वितरण गर्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment