+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मोरङमा पहिलो पार्टी बन्ने एमालेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २४ गते २०:२९

२४ असोज, बिराटनगर । नेपालमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको जिल्ला काठमाडौं हो भने दोस्रो ठूलो मोरङ हो । ०६४ को चुनावमा काठमाडौं उपत्यकामा शून्य सीटमा खुम्चिएको नेकपा एमालेले मोरङमा पनि सम्पूर्ण ९ वटै सीटबाट हार व्यहोरेको थियो । तर, अहिलेको चुनावमा मोरङमा चुनावी खाता खोल्ने दाबी एमाले नेताहरुले गरेका छन् ।

Pun-n-ghanashyamमोरङ जिल्लाको चुनावी प्रतिश्पर्धा निकै रोचक किसिमको छ । एमातिर एमाओवादीका पूर्वअर्थमन्त्री वर्षमान पुन चुनाव लड्न मोरङको उत्तरी भेगमा पर्ने ९ नम्बर क्षेत्रमा पुग्नुभएको छ भने क्षेत्र नं ७ मा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र कांग्रेस नेता डा. शेखर कोइरालावीच प्रतिपर्धा हुँदैछ । क्षेत्र नं ५ मा जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको उम्मेद्वारी परेकाले मोरङको चुनावमा राष्ट्रिय चासो रहेको छ ।

नेकपा एमालेले यसपालि मोरङमा स्थानीय उम्मेद्वारलाई प्राथमिकता दिएको छ । अघिल्लो चुनावमा उसले बाहिरियालाई टिकट दिएका कारणले हार व्यहोर्नु परेको निश्कर्ष निकाल्दै साना कदका स्थानीय नेतालाई प्राथमिकता दिएको हो । यद्यपि क्षेत्र नं ३ मा भने केन्द्रीय सदस्य गुरु बराललाई टिकट दिएको छ ।

एमालेको पुरानो वर्चश्व

मोरङ जिल्लालाई एमालेले आफ्नो पुरानो वर्चश्वका रुपमा बुझ्दै आएको छ । ०४८ को चुनावमा ६ वटा क्षेत्र रहेको मोरङमा एमालेले ३ सीट र कांग्रेसले ३ सीट गरी बराबरी जीत हासिल गरेका थिए । ०५१ को मध्यावधिमा मोरङलाई ७ वटा निर्वाचन क्षेत्र बनाइयो जसमा एमालेले ४ सीट जित्यो भने कांग्रेस ३ सीटमै सीमित भयो । ०५६ को चुनावमा एमाले र कांग्रेसले पुनः ३/३ सीटमा विजय हासिल गरे भने एउटा क्षेत्रमा सद्भावनाका बद्रीप्रसाद मण्डलले कांग्रेस नेतृ शैलजा आचार्यलाई हराइदिए ।

०६४ मा एमाले र कांग्रेसलाई धक्का

१५ वर्षदेखि निरन्तर जीत हासिल गर्दै आएका कांग्रेस र एमालेले ०६४ को संविधानसभामा मोरङबाट सोच्दै नसोचेको ठूलो धक्का खानुपर्‍यो । कांग्रेसले क्षेत्र नं १ बाट एउटा सीटमा जितेर चित्त बुझाउनुपर्‍यो भने एमालेले एक सीट पनि जितेन । ०६४ को चुनावमा मोरङका ९ सीट मध्ये एउटा कांग्रेसले जित्यो र बाँकी ४/४ सीट एमाओवादी र मधेसी जनअधिकार फोरमले बाँडेर लिए ।

अघिल्लो संविधानसभा चुनावमा एमाले नेता भरतमोहन अधिकारीले मोरङ २ बाट एमाओवादीका लालबहादुर सुस्लिङ मगरसँग पराजय व्यहोर्नुपर्‍यो भने केन्द्रीय सदस्य गुरु बरालले ८ नं क्षेत्रमा एमाओवादीका गोपी अछामीसँग थोरै मतान्तरले हार व्यहोर्नुपर्‍यो । तत्कालीन एमाले पार्टी सचिव नरेश पोखरेलले क्षत्रे नं ३ मा तेस्रो स्थानमात्रै प्राप्त गर्नुभयो ।

पुरानै स्थितिमा र्फकने दाबी

यसपालिको चुनावमा एमालेले आफ्नो पुरानै स्थिति कायम राख्ने रणनीति लिएको एमाले नेताहरु बताउँछन् । विशेष गरी ०४८ देखि जित्दै आएको उत्तरी मोरङमा जीत हासिल गर्ने एमालेको लक्ष छ । उत्तरी मोरङ, विशेष गरी गैर मधेसी समुदायको बाहुल्य रहेका क्षेत्र नं २, ३, ८ र ९ मा जीत हासिल गर्ने एमालेको लक्ष छ । यसबा लागि उसले स्थानीय नेताहरुलाई प्राथमिकता दिएको छ । २ नं क्षेत्रमा स्थानीय चण्डी राई, ९ नम्बरमा लेटाङका पूर्व गाविसअध्यक्ष घनश्याम खतिवडा र ८ नम्बरमा इन्द्रपुरका पूर्वगाविस अध्यक्ष चन्द्रवीर गुरुङलाई एमालेले टिकट दिएको छ । क्षेत्र नं ३ मा एमालेले केन्द्रीय सदस्य गुरु बराललाई टिकट दिएको छ । एमालेले जित्ने दाबी गरेका यी चारवटै क्षेत्रमा पहिले एमाओवादीले जितेको थियो । रोचक के छ भने यी मध्ये ९, २ र ३ नम्बर क्षेत्रका पूर्व सभासदहरु नगेन्द्र धिमाल, लालबहादुर मगर र सावित्रीकुमार काफ्ले यतिबेला वैद्य समूहमा लागेका छन् । ८ नम्बरमा एमाओवादीले पुरानै उम्मेद्वार गोपी अछामीलाई उठाएको छ ।

फर्केला त एमाले ?

एमालेले आफूले गुमाएका मोरङका यी चारवटा क्षेत्रमा विजय हासिल गर्ला त ? यसबारे जिज्ञासा राख्दा क्षेत्र नं ९ मा वर्षमान पुन अनन्तका प्रतिद्वन्दी घनश्याम खतिवडा भन्न्नहुन्छ, ‘संविधानसभामा मोरङमा एमालेले चौथो शक्ति भएको थियो तर यसपालि जिल्लामा आफ्नो वर्चश्व फर्काउँछ, वर्षमान पुनजी रोल्पाबाट आउनुभएको छ, तर यसपालि यहाँका जनताले स्थानीय उम्मेद्वार खोजेका छन्, त्यसैले ९ नम्बरमा चुनाव जित्नेमा म ढुक्क छु ।’

त्यसैगरी विगतमा जस्तो एमाओवादीको लहर नभएको र मोरंगका अधिकांश पूर्वसभासदहरु वैद्य माओवादीतिर गइसकेकाले एमालेले मोरङमा आाफूलाई पहिलो पार्टी बनाउने खतिवडाले दाबी गर्नुभयो ।

तर, एमालेले आफूलाई पहिलो पार्टी बन्ने दाबी गरे पनि एमाओवादी नेताहरुले ९, ८ र ४ नम्बरमा आफूले जित्ने दाबी गर्दै आएका छन् । उपेन्द्र यादव र विजय गच्छदारको पनि आफूले जित्ने दाबी छ । कांग्रेसका डा. शेखर कोइराला यसपालि गच्छदारलाई आफूले हराउने बताउनुहुन्छ । क्षेत्र नं १ मा कांग्रेसले आफ्नो विजय सुनिश्चित रहेको र अरु पनि केही सीट थप्ने दाबी गरेको छ ।

हेरौं, यसपालि मोरङमा चार प्रमुख शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसवादीमध्ये कसले शून्य सीटमा चित्त बुझाउनुपर्ने हो, विगतमा एमालेले जस्तै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?