+
+
Shares

दलहरुको कारोबार कति पारदर्शी ?

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २ गते ९:०८

२ कात्तिक, काठमाण्डौं । चुनावमा लिइने चन्दालाई पारदर्शी बनाउने भन्दै ठूला दलहरूले बैंकिङ प्रणालीमार्फत चन्दा लिन सुरु गरेका छन् । कांग्रेस र एमालेले बैंकमार्फत चन्दा दिन आह्वान गर्दै खाता नम्बर सार्वजनिक गरे । एमाओवादी शनिबार घोषणापत्रसँगै बैंक खाता सार्वजनिक गर्ने तयारीमा छ ।

कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायका अनुसार पार्टीको बैंक खातामा करिब ३ करोड रुपैयाँ जम्मा भएको छ । एमालेको खातामा ५५ लाख रुपैयाँ जति भयो होला भन्छन्, नेता भरतमोहन अधिकारी । निर्वाचन आचारसंहिताको सीमाभित्र (प्रत्यक्षमा १० लाख र समानुपातिकका उम्मेदवारले १ लाख रुपैयाँसम्म) रहेर खर्च गर्दा पनि एउटा दलले २ सय ४० क्षेत्रमै उम्मेदवारी दिँदा कम्तीमा १० करोड ७८ लाख रुपैयाँ जुटाउनुपर्ने हुन्छ ।

समानुपातिकतर्फ दललाई १ करोड २० लाख हाराहारीमा खर्च हुन्छ । आचारसंहिता मात्रै पालना गर्ने हो भने पनि सबै दलबाट गरी कम्तीमा १ अर्ब खर्च हुने अवस्था छ । चुनावी खर्च अकासिँदै गएकाले आचारसंहिताको सीमाभन्दा निकै गुणा बढी खर्च हुने गरेको विश्लेषक बताउँछन् ।

अधिकारी दसैंको बिदापछि खातामा पैसा आउने दाबी गर्दै बैंकमार्फत संकलित सहयोगबाटै चुनावी खर्च धानिने विश्वास व्यक्त गर्छन् । पहिलो किस्तामा प्रतिउम्मेदवार १ लाख रुपैयाँ पठाउन थालेको र खातामा पैसा जम्मा हुने क्रमसँगै थप रकम पठाउने उनले बताए । एमाओवादीले प्रतिउम्मेदवार ५ लाख रुपैयाँ वितरण थालेको छ । ५ लाख दिने भनेको कांग्रेसले अहिले १ लाख रुपैयाँ मात्र दिन सकेको छ । उम्मेदवारको खर्च पार्टीले दिने रकमभन्दा निकै बढी रहेको कान्तिपुर दैनिकमा खबर छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको ‘ट्रान्सपरेन्सी इन पलिटिकल फाइनान्स इन नेपाल’ मा अनुसन्धान गरेका शोधकर्ता विनोदकुमार भट्टराई अहिलेको अवस्थामा जुनसुकै क्षेत्रबाट चुनाव लड्दा पनि एउटा उम्मेदवारलाई कम्तीमा ५० लाख रुपैयाँ चाहिने बताउँछन् । तराईमा त करोड हाराहारीमा खर्च नगरी चुनाव जित्न नसक्ने अवस्था बन्दै गएको छ । चुनावमा उठ्ने उम्मेदवारको आर्थिक पृष्ठभूमि हेर्दा एक्लैले त्यो खर्च धान्न सक्ने अवस्था देखिँदैन ।

कुन दलको खातामा कति रकम ?

कांग्रेसले विदेशबाट सहयोग गर्न चाहनेलाई ११ रेमिट्यान्स कम्पनीको नामसमेत उल्लेख गरी वेबसाइटमा राखेको छ । उसले हाल बैंकमा ३ करोड रुपैयाँ राखी त्यसैको ब्याजले खर्च धानिरहेको दाबी गरेको छ । ‘चुनावमा हुने अपारदर्शी कारोबारले भ्रष्टाचार संस्थागत गर्छ,’ कांग्रेस नेता गगन थापा भन्छन् । खातामा जम्मा भएको रकमले उम्मेदवारको खर्च नधानिए पनि यो पारदर्शितातर्फको पहिलो पाइला भएको उनी बताउँछन् । चन्दादाताले पार्टीलाई दिइसकेको छु भनेर उम्मेदवारलाई नदिन सजिलो हुने भएकाले चन्दादाताले पार्टीको खातामा चन्दा दिएर पारदर्शी बन्न सघाउन पर्ने उनको भनाइ छ । एमाले नेता सुरेन्द्र पाण्डे गुपचुप लेनदेन रोकिन्छ भन्ने नभए पनि सकारात्मक सुरुवात भएको टिप्पणी गर्छन् । यसैगरी उम्मेदवारले पनि बैंकिङ प्रणालीमार्फत चन्दा लिने परिपाटी सुरु गर्नुपर्ने उनको सुझाव छ ।

अधिकांश ठूला दलले आफ्ना उम्मेदवारलाई सहयोग गर्ने गरे पनि त्यो पर्याप्त हुँदैन । यस्तो सहयोग उम्मेदवारको आर्थिक हैसियत र पकडका आधारमा दिने गरिएको छ । निर्वाचन खर्च जुटाउन कांग्रेसले सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सम्मिलित समिति बनाएको छ । एमाओवादीले अध्यक्ष प्रचण्डकै संयोजकत्वमा अर्थ संकलन समिति बनाएको छ । एमालेले अर्थ संकलनको सर्वेसर्वा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलाई बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?