Comments Add Comment

माछा मारियो, तर चुनाव हारियो…

-राजेश भण्डारी

चुनावी मैदानका उम्मेदवारहरुका लागि मंसिर ३ कहिले बित्ला जस्तै भएको थियो । त्यसमा एमाओवादी म्याग्दीका उम्मेदवार लोकेन्द्र विष्ट मगर पनि अछुतो रहेनन् । त्यही उत्सुकताको पारिलो घाममा हजाम बोलाएर कपाल काटे र नुहाइ-धुवाइ गरेर चिटिक्क परे । भोट हाल्न नपाए पनि भोलिपल्ट मंसिर ४ गतेको मतदान प्रक्रियाको निरीक्षण गर्न उनी हतारिए ।macha-mardai

मंसिर ४ को सुनौलो बिहानीमा सात बजेर केही मिनेट जान नपाउँदै आफ्ना सुरक्षाकर्मी र कार्यकर्ताको ढोका ढकढक्याउँदै आएका विष्ट भन्दै थिए ‘सरहरु कति सुतेको, उता शुशील दाले भोट हालिसके ।’ ग्रे कलरको हाफ ज्याकेट र ढाकाटोपीमा ठाँटिएका विष्टले विहानै म्याग्दीका दर्बाङ, बाबीयाचौर, सिंगा तातोपानी र बेनी लगायतका मतदान केन्द्रको गतिविधि नियाल्न भ्याए ।

बुथहरुमा मतदाताको मतदान प्रतिको उत्साह देखेर निकै खुसी भएका विष्ट त्यतिवेलासम्म आफ्नो विजय जुलुसको कल्पना गर्न थालिसकेका थिए । रुम गाविसको एउटा बुथमा उनका भतिजा विकास विष्ट खटीएका थिए । अलि दुर्गम भएका कारण विकास मतपेटिका लिएर ५ गते साँझ बेनीबजार आइपुगे । देशभरका मतपरिणामको लाईभ अपडेट हेरिरहेका लोकेन्द्र विष्टले टेलिभिजनको पर्दावाट आँखा हटाउँदै विकासलाई सोधे ‘के छ केटा ?’ हातमा च्यापेको ज्याकेट फ्यात्त बेडतिर हुत्याउँदै विकासले भने ‘के हुनु, रक्सी र मासु फ्रि ।’ एमालेको कार्यकर्ताले मतदातालाई लाईनमै गएर सूर्यमा भोट हाल र त्यसपछि होटेलमा गएर रोयलस्टेग र मासु खाउ भनेको भन्दै उनले भने, ‘तिनीहरुले रक्सी, मासु र पैसामा भोट बेचे । यस्तै हो भने हामी हार्छौं ।’

रुम गाविसकै अर्को बुथमा खटिएका रामचन्द्र विष्टका अनुसार लाईनमा बसेका मतदातालाई एमालेका कार्यकर्ताले जनही ५०० रुपैयाँ वितरण गरेका थिए । यो सुनेपछि निकै चिन्तित देखिएका विष्टले जिल्लाभरिका बुथमा भएका घटनाहरु बुझ्न जिल्ला ईन्चार्ज गोविन्द पौडेललाई निर्देशन दिए । सबै बुथको रिर्पोट आउँदा थाहा भयो देशभर जे भयो, म्याग्दीमा पनि त्यही भएछ ।

चुनावी अभियानबारे कुराकानी गर्न पंक्तिकार पुग्दा लोकेन्द्र विष्ट मगर ओछ्यान्मा थिए । लामो खोकीपछि उनले भने ‘म्याग्दीको चिसोले कोल्ड भाईरल भएछ, डाक्टरको सल्लाहअनुसार आराम गर्दैछु ।’ तेत्तीस वर्षे आफ्नो राजनीतिक जीवनमा विष्ट पहिलोपटक चुनाव लडेका थिए । सफल मान्छेहरु असफलताबाट अगाडि बढेका उदाहरण दिँदै पहिलो गाँसमा ढुंगा हैन, राम्रो अभ्यास भएको बताउँछन् विष्ट । नेपालीमा एउटा उखान छ ‘असफलता नै सफलताकी जननी हुन् ।’ जनतामा गएर आफ्ना एजेन्डा प्रष्ट राखेकाले अर्को अवसरमा जनताले मुल्यांकन गरेर पुरस्कृत गर्नेमा विश्वस्थ थिए उनी । जनताको घरमा पुग्दा उनीहरुको ओठमा आएको हाँसो आज पनि सम्झने विष्टले चुनाव हारेको महसुस गरेका छैनन् । उनी निर्धक्क भन्छन् ‘जनताले मत दिए पनि सोफेस्टीकेटेड डिजाईन बनाएर हामीलाई हराइयो ।’

असोज १७ गते मनोनयन दर्ता गरेपछि नेता लोकेन्द्र विष्ट मगर आक्रामक चुनाव प्रचारमा लागे । मगराँत राज्य समितिका ईन्चार्ज समेत रहेका उनले एक दिन पनि म्याग्दी छाडेनन् । कारण एउटै थियो, त्यहाँको कमजोर पार्टी संगठनका बाबजुद उनी स्पष्ट मतले निर्वाचन जित्न चाहन्थे । ०५२ सालमा युद्ध गर्न हिंडेजस्तै झोला र तुम्लेटमा पानी बोकेर म्याग्दीका गाउँ-गाउँ जान भ्याए विष्टले । चुनावी अभियानको क्रममा आएका दशैं, तिहार र छठपर्वको रौनकले उनलाई छोएन । घर परिवार सबै बिर्सेर उनी मंसिर १ गतेको मौन अवधि शुरु हुँदासम्म सक्रिय रहे । म्याग्दीका ४१ वटा गाविस र ठूलो भूगोलमा अप्ठेरो र विकटताका बावजुद उनी र उनको टिम राम्रैसँग खट्यो र करिब १ सय ५० वटा कार्यक्रम गर्न भ्यायो । एमाओवादी भित्र असाध्यै दुःख गर्ने नेताभित्र पर्छन विष्ट । उनी भन्छन् ‘पार्टीलाई गाह्रो परेको ठाउँमा म जाने गरेको छु, म्याग्दी अप्ठेरो थियो त्यसैले म गएँ ।’

अरुजस्ता आदर्शका पुस्तक पल्टाउने भन्दा पनि यथार्थलाई स्विकार्छन् विष्ट । शहर पसेपछि गाडी चढेर नेताहरु अलि मोटाएका कुरा स्विकार्न नहिचकीचाउने विष्ट भन्छन्,’म्याग्दीका उकाली ओरालीले ममा फिजीकल फिटनेश पैदा गर्‍यो ।’ जनतालाई अधिकार दिने बैधानिक लडाईको मोर्चा संहाल्न गएका विष्टले मुदीको ओरालोमा सड्किएको खुट्टो डमडमी सुन्निँदा पनि अभियान छाडेनन् । म्याग्दीको सवैभन्दा विकट गाविस गुर्जाखानी जाने क्रममा जंगलको बीचमा पानीले बेस्सरी चुटेको र शरीरमै पानी सुकेको, त्यस्तै अग्लो लेकमा भेटिएको छाप्रोमा चिया, मकै र सुकुटी खाएको कुरा आज उनी राजधानीमा बसेर सम्भिmरहेका छन् । जहाँ उनको टोलीका केही साथीलाई लेकसम्म लागेको थियो ।

म्याग्दी रेमिट्यान्सले चल्ने जिल्ला हो । त्यहाँका अधिकांश पुरुषहरु विदेशीएका छन् । गाउँमा रहेकाहरुको ध्यान पनि पैसामै केन्दि्रत छ । राजनीतिक चेतनाको हिसावले पछाडि परेपनि म्याग्देलीहरु सजिला भएको बताउँछन् विष्ट । चुनावी अभियानमा विष्टलाई नराम्ररी बिझेको कुरा के रहेछ भने जिल्लाका मुख्य बजारमा घरदैलो कार्यक्रम गर्दा त्यहाँका केहीले नमस्ते फर्काएनछन् । यो घटनाबाट आफैंलाई अप्ठेरो लागेको बताउँदै विष्टले भने ‘नमस्ते नफर्काउँदा आफैंलाई मनमनै प्रश्न गरें, मैले कसलाई नमस्ते गर्दैछु ?’  जनशैलीलाई प्रचारको मुख्य शैली बनाएका विष्टले अन्य पार्टी र तिनका उम्मेदवारले जस्तो तडक-भडक गरेनन् । उनलेे जनतालाई मौलिक संविधान र विकास दिने, अरुजस्तो जितेपछि शहरमै नहराउने प्रतिवद्धता जनाए । म्याग्दीका धेरै गाउँमा धेरैको चाहना तत्काल विकासका लागि पैसा नै थियो । भोट माग्ने बेला आउने र पछि फर्केर नहेर्ने विगतका जनप्रतिनिधीवाट जनता आक्रोशित थिए । पैरोको मुख्य समस्या रहेको म्याग्दीका अधिकांश गाविसका जनता पहिरो रोकथामका लागि बजेट माग्दै थिए भने कोही आफ्नो गाउँमा गाडी गुडेको देख्न चाहेको बताइरहेका थिए ।

कुईनेमंगले गाविसको चौरखानीमा विष्टलाई त्यहाँका केही मान्छेले पहिरो रोकथाम र सडक सञ्जालसँग आफ्नो गाउ“mलाई जोड्न केही करोड रुपैयाँ मागेका थिए । तर, तिनलाई सम्झाउँदै विष्टले भनेे ‘अहिले म एककौडी पनि दिन सक्दिन, पछि जिताएपछि राज्यका तर्फबाट सोचौंला ।’उनी जहाँ जान्थे जनताले भव्य स्वागत र सत्कारसहित विकास निर्माणका माग र आफ्ना समस्याहरु लेखिएको निवेदन पेश गर्थे । ती निवेदनहरु अहिले पनि आफूसँगै रहेको उनी बताउँछन् । उनले भने, ‘म्याग्देली जनताका मागहरुलाई क्रमैसँग पूरा गर्नेछु ।’

सबै ठाउँमा अपवाद हुन्छ भनेझंै जिल्लाको पोखरेबगरमा सबैले विष्टलाई हातमा फूल दिएर स्वागत गरे तर एकजना महिलाले केही दिईनन् बरु सरासर विष्टको नजिक गएर मुठ्ठी उठाएर लालसलाम भनिन् । अनि उनले थपिन् ‘हामीलाई विधान दिनुपर्‍यो, विधान गतिलो बन्यो भने विकास निर्माण सवै हुन्छ ।’ यो घटनाले आफूलाई खुब छोएको बताउँछन् विष्ट । हारबाट कत्ति पनि हतोत्साहित छैनन् उनी । केही दिनमै म्याग्दी जाने योजना सुनाउँदै विष्टले भने ‘म निरन्तर जानेछु, कहिले योजना लिएर जानेछु भने कहिले भेटघाट गर्न जानेछु ।’ उनी जनता र कार्यकर्तालाई भेट्न यति हतारिएका थिए कि कोल्ड भाईरलले नेभेटेको भए ओछ्यानमा पल्टनुको साटो म्याग्दीको जिल्ला समिति र गाउँ समितिका बैठकहरुमा सहभागिताको कल्पनामा उनी तल्लिन थिए । सक्कली जनमत षडयन्त्रपूर्वक कालिगण्डकी, राहुघाट र म्याग्दी खोलामा फालिदिएकाले हारे पनि जिते पनि हामी तपाईंहरुकै प्रतिनिधि हौं भनेर सिंगो म्याग्दीका जनतालाई भेटेर भन्ने योजनामा छन् विष्ट । असल कम्युनिष्ट जहाँ पनि गएर लड्न तयार हुनुपर्छ भनेर आफू म्याग्दीमा लड्न गएको बताउने विष्ट आफूहरु जहाँ जन्मियो, त्यो ठाऊँ नछाड्ने मुखिया जिम्मुवालजस्तो रैथाने कम्युनिष्ट नभएको दाबी गर्छन् ।

हारका कारण

देशभरबाट सिंगो पार्टी हारको कारणवारे निकै विश्वासिलो तर्क गरे विष्टले । देशभर १ सय ५० सिट ल्याउने गरी आफूहरु लागे पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्किलफुल डिजाईन बनाएर हराएको उनले निक्र्योल गरेका छन् । उनले भने ‘यसका पछाडि हाम्रो पनि कमजोरी छ । अलि लामो समयदेखि हामी नेता-कार्यकर्ताहरु जनतामा गएनौं ।’

उनका अनुसार एमाओवादीले अब आफैँलाई छाम्नुपर्छ । निर्मम र गम्भीर आत्मसमीक्षा गरेर संगठन र जनतासँगको सम्पर्कलाई केलाउनुपर्छ । नेता कार्यकर्ताको आचरण र खटाई, त्यसैगरी पार्टी एजेन्डा जनतामा गए गएनन् भन्नेबारे समीक्षा गर्नुपर्छ । पार्टीकै कमजोरीमा टेकेर सोफेस्टीकेटेड डिजाईन बनाईकन आफूहरुलाई बढारिएको उनको दावी छ । हुन पनि आफ्नै पहलमा हुन लागेको निर्वाचन हुनाले एमाओवादीलेे दाँयाबाँया ध्यान दिएन । एक हिसावले हामी खुरुखुरु गोरुजस्तै जोतियौं, हामी जोतिइरहँदा अहिले जितेका भनिएकाहरु डिजाईन बनाउन तल्लिन भए र फर्जी मत हाले, पैसाको खोलो बगाए, सुरक्षा घेराभित्रबाट मतपेटीका साटे, विष्टले थपे ।

म्याग्दीमा धेरै नेता कार्यकता नेकपा-मओवादीमा गएको हुनाले त्यसको प्रत्यक्ष असर चुनावमा देखा पर्‍यो । संगठन क्षतविक्षत हुनु र रुकुमका विष्टलाई विपक्षीले ‘टुरिष्ट’ उम्मेद्वारका रुपमा चर्चा गर्नु हारको प्रमुख कारण बन्यो । विष्टको भनाइ मान्ने हो भने त्यसमा सोफेस्टिकेटेड डिजाइनले पनि काम गर्‍यो । जिल्लाको दग्नाम गाविसमा मरेका र विदेश गएका मान्छेको नाममा समेत भोट खसेको दावी गर्दै विष्टलेे भने ‘निर्वाचनको मौन अवधि सुरु हुनुअघिसम्म हामी हावी थियौं, तर मौन अवधिमा षयडयन्त्रले उग्र रुप लिएछ ।’ पहिचान र सामथ्र्यका आधारको संघीयतालाई बंग्याएर एमाले कांग्रेसले जातीय संघीयताको रुपमा प्रचार गर्नुमा विष्टले ठूलो कपट देखेका छन् । आफूहरुले उठाएको मुद्दा ज्युँदो रहँदासम्म एक दुई वटा चुनावमा हार र जितको अर्थ नरहने भन्दै विष्टले भने ‘हामी डाईनोसर कदापी बन्दैनौं, बरु एजेन्डा नहुनेहरुको बाटो त्यही हो ।’

चुनावमा फुर्सद

देश चुनावमय भएको वेला दशैं र तिहारजस्ता ठूला पर्वलाई पनि नेपालीहरुले भुल्न सकेनन् । दशैंको रमझमका केही दिन र तिहारको टीकाको दिन एमाओवादीका नेता लोकेन्द्र विष्ट मगर भने कालिगण्डकीका माछासँग रमाइहेका थिए । फुर्सदको समयमा विहान बेलुका पढलेख गर्ने विष्ट घामको झुल्कोसँगै कार्यकर्ताको साथ जाल खेल्न पुगे । ०३९ सालमा नै जाल खेल्न सिकेकाका विष्ट जाल खेल्दा सबै तनावलाई भुल्छन् । जाल लिएर कम्मरमा फुर्लुङ कसेपछि उनको अनुहार यति चम्किलो हुन्छ कि मानांै उनी संसार जित्दैछन् । कालिगण्डकीमा जाल फाल्दै उनले भने ‘फिसीङ फर रिफ्रेसिङ ।’

सहयोगी र कार्यकर्ताहरु कालिगण्डकीको तीरमा पिकनिक मनाउन थाल्दा उनी तल्लिन भएर माछालाई आफ्नो जालमा पार्दै थिए । ‘मलाई माछा मार्न बुबाले सिकाउनुभएको’ उनले विगत सम्झिँए । बुबाले सिकाएकै अर्को सिप सिकार खेल्न पनि मलाई असाध्यै रहर लाग्छ । जनयुद्धकालमा पनि जनमुक्ति सेनालाई सेन्ट्रि राखेर काभ्रेका धेरै खोलामा जाल खेलेको बताउँछन् विष्ट । उनका पिएसओ दुर्योधन घर्तीले भने ‘उहाँले जाल नखेलेको खोला शायदै होलान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment