Comments Add Comment

मनिषाको विरोध गर्दै सुष्मा स्वराजका श्रीमानले लेखे– चीनको बोर्डर वीरगञ्जसम्म आयो

८ जेठ, काठमाडौं । भारतकी पूर्वविदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजका श्रीमान् स्वराज कौशल नायिका मनिषा कोइरालामाथि खनिएका छन् । उनले धारावाहिक ट्विट गर्दै मनिषामाथि लाञ्छना लगाएका छन् र नेपाल चीनको पकडमा गएको दाबीसमेत गरेका छन् ।

मनिषाले लिपुलेकको मुद्दामा चीनलाई तान्न खोज्नु गलत भएको कौशलको दावी छ । यसबाट नेपाल र भारतबीचको हजारौं वर्ष पुरानो सम्वन्ध ध्वस्त हुने तथा नेपालको सार्वभौम हैसियत गुम्ने उनले चेतावनी दिएका छन् ।

उनी लेख्छन्, ‘चीनलाई तानिरहँदा तिमीहरुले हामीसँगको हजारौं वर्ष पुरानो सम्वन्ध ध्वस्त बनाइरहेका छौ । तिमीहरु हाम्रो साझा सम्प्दाहरु नष्ट पारिरहेका छौ । सबैभन्दा महत्वपूर्ण, तिमीहरु आफ्नो सार्वभौम राष्ट्रको हैसियत गुमाइरहेका छौ ।’

स्वराज यतिमा रोकिँदैनन् । उनी अगाडि लेख्छन्, ‘नेपालमा कम्युनिष्टहरुले चीनलाई भारतविरुद्ध प्रयोग गरिरहेका छन् । वा चीनले कम्युनिष्टलाई भारतविरुद्ध प्रयोग गरिरहेको छ । परम्परागत रुपमा चीनको भारतसँगको सीमा हिमालयसम्म थियो । अहिले चीनको भारतसँग बोर्डर बीरगञ्जमा सरेको छ ।’

मनिषालाई सम्वोधन गर्दै स्वराजले भनेका छन्, ‘म तिमीसँग बहस गर्न सक्दिनँ मेरी बच्ची मनिषा । मैले सँधै तिमीलाई आफ्नी छोरीका रुपमा व्यवहार गरेँ । जब तिमीले मलाई १९४२ अ लभ स्टोरीको प्रिमियरमा बोलायौ, म फिल्मका लागि बसिनँ । हो, सुस्माले फिल्म हेरिन् र तिम्रो काखमा बाँसुरी (स्वराजकी छोरी) थिइन् ।’

त्यसपछिका ट्विटहरु उनी लेख्छन्ः

‘त्यो मात्र २७ वर्ष गाडीको कुरा हो । तिम्रा पिता प्रकाश कोइराला मेरा भाइजस्ता हुन् र आमा सुष्मा कोइराला बुहारीजस्ती र साथी हुन् । हामीले धेरै कठिन परिस्थितिहरु सँगै भोगेका छौं ।

‘तिम्रा हजुरबुवा बीपी कोइरालालाई क्यान्सर पहिचान हुँदा म उहाँसँगै थिएँ । म सम्झिन्छु कि उनले भनेका थिए, यो एड्भान्स्ड स्टेजको क्यान्सर हो र म अब ६ महिना मात्रै बाँच्छु । म निराश बनेको थिएँ । तर, उनको अनुहारमा कुनै उदासी थिएन ।

मलाई तिम्रो परिवारको गरिमामय परम्परा थाहा छ । तिम्रा हजुरबाका तीन दाजुभाइलाई म चिन्छु । उनीहरु सबै नेपालका प्रधानमन्त्री बनेका थिए । मलाई थाहा छ, तिम्रो परिवारले कति संघर्ष गरेको छ । तिम्रा हजुरबा वीपी १८ वर्षसम्म जेल बसे । उनले यसकारण मृत्युदण्ड पाएनन् कि नेपालमा ब्राम्हणलाई मृत्यूदण्ड दिइँदैनथ्यो ।’

त्यसपछि स्वराजले मनिषाका पिता प्रकाश कोइरालालाई सम्वोधन गरेका छन् । उनी लेख्छन्ः

‘म नेपालमा धेरै हप्तासम्म बसेको छु र राजदरबारको भित्रसम्म पुगेको छु । तिमीहरुको प्रजातन्त्रको लडाईंमा हामी साथ थियौं । त्यसमा भारत वा भारतीयलाई केही प्राप्त हुनेवाला थिएन । राजा हटेपछि संसदका रुपमा जब हामीले तिम्रो विचार सुन्यौं, त्यसले हामीलाई निराश बनायो । भारतीहरुहरुले बुझ्नुृपर्छ कि संसारको एक मात्र हिन्दू राज्य समाप्त पार्न षडयन्त्र भएको थियो । उनीहरु माओवादीसँग मिलेका थिए । उनीहरुले प्रचण्ड र बाबुराम भट्टराईलाई सुरक्षित आश्रय दिए । उनीहरुले एक मात्र हिन्दू राज्यलाई ध्वस्त पारे । उनीहरुको मिसन समाप्त भयो ।

‘भारतको नेपालसँग गुनासोहरु होलान् र नेपालको भारतसँग मुद्दाहरु होलान् । यो नेपाल र भारतबीचको कुरा हो । यसमा कसरी चीनलाई तान्छौ तिमीहरु ? त्यो खराब हो हाम्रा लागि । नेपालको लागि पनि ठीक होइन ।’

स्वराजले यो विषयलाई लुकाउने चेष्टा गरेका छन् कि लिपुलेक विवादमा चीन पनि एउटा पक्ष हो । यो नेपाल, चीन र भारतबीचको त्रिदेशीय बिन्दू भएकाले नेपालले चीनसँग पनि संवाद अघि बढाइरहेको छ ।
यो पनि पढ्नुहोस मनिषा कोइराला नेपालकी छोरी हुन्, भारतकी होइनन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment