+
+
Shares
युनिभर्सल मेडिकल कलेजलाई प्रदेश सरकारको चेतावनी :

‘कि डाक्टर र नर्स देऊ कि कोरोना संक्रमितको उपचार गर’

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ १० गते १०:०२

१० जेठ, बुटवल । कोरोना विशेष अस्थायी अस्पताल बनाइएको भैरहवाको भीम अस्पताललाई सहमति अनुसार डाक्टर र नर्स उपलब्ध नगराएपछि युनिभर्सल मेडिकल कलेजलाई प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिएको छ ।

कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र बनाइएको भीम अस्पताललाई उक्त मेडिकल कलेजले दुई जना कन्सल्ट्यान्ट डाक्टर र १० जना नर्स उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

तर अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयले पटक पटक डाक्टर र नर्स उपलब्ध गराइदिन आग्रह गर्दा पनि मेडिकल कलेज प्रशासनले सरकारको निर्देशन अवज्ञा गरेपछि पत्र काटेर कारवाहीबारे जानकारी दिनुपरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

उक्त मेडिकल कलेज कोरोना विशेष अस्थायी अस्पताल भैरहवाको सञ्चालक समिति सदस्य समेत हो ।

‘हामीले पटकपटक सहमति अनुसार डाक्टर र नर्स पठाइदिनुपर्‍यो भन्यौं तर मेडिकल कलेजले उल्टै हामीलाई पत्र लेखेर पठायो’, मन्त्री बरालले भने ‘अब मेडिकल कलेजले प्रतिवद्धता अनुसार कि त डाक्टर र नर्स तत्काल पठाउनुपर्छ होइन भने तोकिए अनुसार मेडिकल कलेजमा कोरोना संक्रमितलाई भर्ना गर्नुपर्छ, अन्यथा कारवाही अघि बढ्छ ।’

मेडिकल कलेजले अब पनि सरकारको निर्देशन मान्न अटेर गरे महामारीमा असहयोग गरेको आधारमा प्रचलित कानून अनुसार कारवाही गर्ने मन्त्रालयको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले बताए ।

मेडिकल कलेजलाई पठाइएको पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मुख्यमन्त्री कार्यालय, उपकूलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य निर्देशनालय प्रदेश ५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पठाइएको छ ।

मेडिकल कलेजका मानव संशाधन विभागका संयोजक कमलराज ढकालले भने कलेजले आफै ‘फिबर क्लिनिक’ सञ्चालन गरेकाले जनशक्तिको अभाव भएकाले पठाउन नसकेको बताए ।

कोरोना विशेष अस्पताल भैरहवा सञ्चालक समिति सदस्य समेत रहेका उनले शुरुमा बसेको बैठकमा प्रदेश सरकारलाई आवश्यक परेमा जनशक्ति सहयोग गर्न सकिन्छ भन्ने कुरा मात्र गरेको तर सहमति नगरेको दावी गरे ।

सरकारले निजी संस्थालाई पेल्ने मात्र काम गरेको र सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको ढकालले आरोप लगाए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?