Comments Add Comment
काठमाडौं उपत्यकामा कोरोना संकट :

४० लाख मानिस बस्छन्, आइसोलेसन वेड जम्मा १९७ !

टेकु अस्पतालको आइसोलेसन वार्ड ।

९ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भयो । तर आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरूसँगै बसे ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको थियो, जुन यसअघि नै संक्रमितले भरिइसकेको छ । त्यही कारण जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका ८ जनालाई दाङ पठाउनु परेको थियो ।

सोमबार थपिएका ५९ जनालाई ३६ घण्टापछि नेपालगञ्जको डेन्टल अस्पतालमा लगियो । त्यहाँ पनि नअटाएपछि २५ आइसोलेसन बेडमा ५९ जनालाई कोचियो ।

नेपालमा कोरोना संक्रमण देखिएको चार महिनामा पनि संक्रमित राख्ने आइसोलेसन बेड व्यवस्था गर्न नसक्नु सरकारको लापरवाही रहेको इपिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । ‘महामारी फैलने पूर्वअनुमान गर्न नस्कनु राज्यको ठूलो कमजोरी हो’ उनी भन्छन्, ‘आइसोलेसन बेड मात्र होइन, क्वारेन्टाइन भन्दै भेडाबाख्रा जसरी मानिसहरु खाँदिएको छ, यसले त्यहीबाट संक्रमण फैलाउँछ ।’

नरैनापुर त एउटा प्रतिनिधि ठाउँ मात्र हो । अहिले प्रदेश ५ मै आइसोलेसन वेडको अभाव हुन थालेको छ । र, संक्रमितको संख्या बढ्दै जाँदा देशभर समस्या हुने देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशरभरका निजी तथा सरकारी अस्पतालहरुमा गरेर कोभिड–१९ को बिरामीलाई उपचार गर्न भनेर ३ हजार ७६ आइसोलेसन बेड, १ हजार ५९५ आईसीयू र ८४० वटा भेन्टिलेटर छ ।

करिव ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा मात्र १९७ वटा आइसोलेसन वेड छ । यहाँका ७ अस्पतालमा १०१ आईसीयू र ४९ वटा भेन्टिलेटर छ ।

काठमाडौं उपत्यकामा संक्रमण बढेमा यो पूर्वाधारले नधान्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

मन्त्रालयले मे २०२० मा कोभिड–१९ महामारीको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान बनाएको छ । त्यसअनुसार संक्रमितको संख्या दुई हजार पुग्दा १६ सय जनालाई आइसोलेट गर्नुपर्छ । उनीहरुमध्ये तीन सयलाई अक्सिजन सपोर्ट र एक सय जनालाई आईसीयू चाहिनसक्ने अनुमान गरिएको छ ।

यही तथ्यांकलाई आधार मान्ने हो भने उपत्यकामा एक हजार मानिस संक्रमित भएमा अस्पतालको पूर्वाधारले धान्दैन । ‘संक्रमण बढ्न थालेपछि सरकारले उपचार गर्न सक्दैन भन्ने पूर्वाधार हेर्दा नै थाहा हुन्छ’ डा. मरासिनीले अनलाइनखबरसँग भने, ‘अहिले मानिसहरुले क्वारेन्टाइनमा त राम्रोसँग बस्न पाएका छैनन् भने भोलि भेन्टिलेटर आवश्यक परे कहाँबाट पाउनु ?’

सरुवा रोगको उपचार गराउने केन्द्रीय अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा ५ वटा मात्र आइसोलेसन बेड छ । थप ३० आइसोलेसन बेड बनाउने भनेर काम सुरु गरेको भए पनि अहिलेसम्म पूरा भएको छैन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ८ वटा आइसोलेसन बेड छ भने २० वटा भेन्टिलेटरसहित ५१ वटा आईसीयू वेड छ । शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘हामीलाई सरकारले लेभल–थ्री अस्पताल भनेको छ । यहाँ अपरेशन गर्नुपर्ने अवस्थामा मात्र कोभिडका बिरामी ल्याइन्छ ।’

त्यहाँ हाल एक संक्रमित उपचार गराइरहेका छन् ।

२ महिनाअघि सरकारले १५ दिनभित्र उपत्यकामा १२० आईसीयू वेड थप्ने गर्ने निर्णय गरेको थियो । टेकुले ४० र अन्य चार (वीर, पाटन र टिचिङ) अस्पतालले २० बेडका दरले आईसीयू थप्ने गरी रकम निकासा पनि भएको थियो ।

तर १५ दिनभित्र गर्ने भनिएको काम दुई महिनामा पनि पूरा भएको छैन । टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी भन्छन्, ‘अस्पतालमा अक्सिजन प्लान्ट नभएको कारण आईसीयू जडान गर्न सकिएन, अब छिट्टै जडान गर्छौं ।’

ललितपुरस्थित पाटन अस्पतालले भने २१ वटा आईसीयू जडान गरिसकेको बताएको छ । सरकारले भनेअनुसार नै आईसीयू तयार पारिएको बताउँदै अस्पतालको निर्देशक डा. विष्णु शर्मा भन्छन्, ‘सरकारले निर्णय गर्नासाथ हामीले १५ भेण्टिलेटरसहित २१ वटा आईसीयू बेड तयार पारेका छौं ।’

सशस्त्र प्रहरी अस्पताल बलम्बुले १२० वटा आइसोलेसन वेड कोभिड–१९ का लागि छुट्याएको छ । यसमध्ये २० वटा आईसीयू र २ वटा भेन्टिलेटर सहित छ । सशस्त्र प्रहरी अस्पतालका कोभिड संयोजक डा‍. महेन्द्रराज श्रेष्ठले भने, ‘हाम्रो अस्पतालको २ वटा बिल्डिङलाई कोभिडको लागि भनेर छुट्याएका हौं ।’

मुलुककै जेठो अस्पताल वीरले भने दुई महिनासम्म खरिद प्रक्रिया नै अघि बढाएको छैन । आईसीयू थप्न पाएको १२ करोड ५० लाखमध्ये एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । वीरले अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले अनलाइनखरसँग भने, ‘अब चाँडै नै प्रक्रिया अघि बढाउने तयारी छ ।’

यस्तै काठमाडौं मेडिकल कलेज, दुवाकोटसँग २४ वटा आइसोलेसन बेड छ भने ९ वटा आईसीयू र २ वटा मात्र भेन्टिलेटर छ । १० वटा आइसोलेसन बेड छुट्याएको भक्तपुर अस्पतालसँग भने आईसीयू र भेन्टिलेटर दुवै सुविधा छैन ।

संक्रमित बढे छुट्टै रणनीति !

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की संक्रमणको ग्राफ बढेसँगै अहिले तोकिएका बाहेकका अस्पतालले पनि संक्रमितको उपचार गर्ने बताउँछन् । सबै निजी अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको भन्दै उनले भने, ‘आउने अवस्था सामना गर्न हामी सबै तयार रहनुपर्छ ।’

मन्त्रालयका आपतकालीन व्यवस्थापन महाशाखाका प्रमुख डा. गुणराज लोहनीकाअनुसार मन्त्रालयको विज्ञ टिमले गरेको अध्ययनमा दुई हजार संक्रमित पुगेको अवस्थामा १६ सय जनालाई मात्र आइसोलेसनमा राख्नुपर्ने देखिएको छ । उनीहरूमध्ये तीन सयलाई अक्सिजन सपोर्ट र सय जनालाई आईसीयू चाहिन सक्छ । मन्त्रालयले यसलाई पहिलो चरणको उपचार रणनीति भनेको छ ।

यस्तै दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुग्यो भने दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ । उनीहरूमध्ये चार हजार जनालाई आइसोलेसनमा राख्नुपर्ने अवस्था आउनसक्छ भने ७५० जनालाई अक्सिजन सपोर्ट र २५० जनालाई आईसीयू केयर चाहिने स्वास्थ्य मन्त्रालयको आकलन छ ।

यस्तै पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ । यसमा आठ हजारलाई आइसोलेट गर्नुपर्ने हुनसक्छ भने १५०० लाई अक्सिजन सपोर्ट र ५०० लाई आईसीयू चाहिन सक्छ ।

१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड–१९ को बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने ५ सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो ।

संक्रमितको संख्या बढ्दै गएपछि सबैलाई अस्पतालमा राख्न नसकिने मन्त्रालयका विज्ञ सल्लाहाकार कार्की बताउँछन् । उनकाअनुसार त्यो अवस्थामा बिरामीको अवस्था, शरीरमा भाइरसको सक्रियता र जोखिम अध्ययन गरेर घरमै राख्ने व्यवस्था समेत गरिन्छ ।

कस्तो छ देशभरको अस्पतालको अवस्था ?

मन्त्रालयको तथ्यांकअनुसार देशभर निजी र सरकारी अस्पतालका कुल बेड सङ्ख्या २६ हजार ९३० हो । त्यसमा तीन हजार ७६ आइसोलेसन बेड छन् । यसमा बाहेकका अरुमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गराउनुपर्ने हुन्छ ।

यस्तै देशभरका अस्पतालमा १५९५ आईसीयू बेड छन् भने ८४० भेन्टिलेटर छन् ।

१९४ वटा अस्पतालमा आईसीयूको सुविधा छ ।

मन्त्रालयका अनुसार लेभल–१ अस्पताल १३ वटा छ भने लेभल–२ अस्पताल १२ वटा छ । यस्तै लेभल–३ अस्पताल तीन वटा छन् ।

कोरोनाका संक्रमित बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको आकलन र अस्पतालहरूको अवस्था हेर्दा सन्तोषजनक छैन । किनकी, काठमाडौं उपत्यकामा संक्रमण बढे धान्न नसक्ने देखिइसकेको छ ।

यो पनि पढ्नुहोस काठमाडौं उपत्यकामा कोरोना संक्रमण भित्रभित्रै फैलिइरहेको छ ! यो पनि पढ्नुहोस निजी अस्पताललाई प्रयोग गर्न दिइने आरडीटी किटको गुणस्तरमै शंका यो पनि पढ्नुहोस पीसीआरलाई पन्छाएर किनिएको आरडीटी किटको नालीबेली यो पनि पढ्नुहोस कोरोना फैलाउने अखडा बन्दैछ क्वारेन्टाइन स्थल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment