Comments Add Comment
नेपाल–भारत सम्बन्ध :

‘स्यालको शिकार गर्न बाघको तयारी गरौं’

९ जेठ, काठमाडौं । नेपालले वार्ताद्वारा सीमा समस्या समाधान गर्न गरेको आग्रहलाई भारतले पटक-पटक बेवास्ता गर्‍यो । त्यसपछि नेपालले विगतका सन्धि, सम्झौता, ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नयाँ नक्सा प्रकाशित गरेको हो ।

नेपाली भूमिसमेत आफ्नोमा पारेर भारतले नक्सा प्रकाशित गरेपछि नेपालले जनाएको आपत्तिलाई उसले पुरै बेवास्ता गर्‍यो । नेपाली भूमिमा मानसरोवर जाने सडक बनाएको विरोध गर्दा पनि उसले सुनेको नसुन्यै गर्‍यो ।

नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि मात्रै देखिने गरी कूटनीतिक तहमा भारतले मुख खोलेको छ । फलाम तातेकै बेला अहिले वार्ताद्वारा सीमा समस्या हल गर्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।

यो विषयमा पूर्वपरराष्ट्र मन्त्री तथा नेपाल-भारत सम्बन्ध प्रबुद्ध व्यक्ति समूह (इपिजी) का नेपाल संयोजक डा. भेषबहादुर थापा, भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता राम कार्कीसँग हामीले कुराकानी गरेका छौं ।

नेपाली भूमि अतिक्रमण गरेर चुपचाप बसेको भारतसँग अब वार्तामा बस्दा पर्याप्त तयारी गर्नुपर्ने उनीहरूको सुझाव छ ।

‘विरोध नेपालको रहर होइन बाध्यता हो’

डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्रमन्त्री

विवादको सुरुवात भारतले गरेको हो, नेपालले होइन । नेपालको भूमि समेत राखेर नक्सा निकालेपछि विवाद सुरु भयो । नेपालले बाध्यताले यो कदम चाल्नुपरेको हो । नेपालले रहरले विरोध गरेको होइन ।

कालापानी र सुस्तामा विवाद छ भनेर दुवैले स्वीकारेर प्रतिवेदनमा समेत राखेको अवस्थामा एकतर्फीरुपमा नक्सा जारी भयो । विवाद छ भनिसकेपछि राजनीतिक र कूटनीतिक तहमा छलफल गरेर स्थायी समाधान निकाल्नुपर्ने थियो ।

भारतले आफ्नो सेना प्रमुखलाई बोल्न लगाएर र परराष्ट्र मन्त्रालयले समेत आफ्नो सार्वभौमिकताको कुरा गरेपछि नेपालीहरू जुर्मुराएका हुन् । सुगौली सन्धि, अंग्रेज जाने बेलामा भएका सन्धिलगायतका प्रमाणहरूका आधारमा सम्वाद गरौं ।

नेपालले वार्ताको माध्यमबाट समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयबाट समेत समाधानको पहल गरेको छ । त्यसलाई निरन्तरता दिनुपर्छ । नेपाल सहमतिको पक्षमा छ, विवादको पक्षमा छैन ।

‘भारतको नीति थकाउने-गलाउने हो’

दीपकुमार उपाध्याय, पूर्वराजदूत

विश्वासको वातावरण बनाएर जानुपर्छ । हाम्रो भूमि अतिक्रमणमा परेकाले हामीले नै परिपक्वता देखाउनुपर्छ। ठूलाको ठूलो चासो होला । थकाउने, गलाउने भारतको नीति नै हो । तर, मानवीय दृष्टिकोणले भने भारतले नेपालप्रति ठूलो दाइको व्यवहार देखाउन मिल्दैन ।

पानी बाराबार भएर जानु भनेको भारतकै लागि पनि कूटनीतिक असफलता हो । उसलाई पनि यसबाट केही पनि फाइदा छैन।

नेपालको त भूमि अतिक्रमणमा परेको छ, हामीले त भोग्नु नै छ । बाहिर पनि नेपालजस्तो शान्त देशलाई के गरेको ? त्यस्तो शान्त ठाउँमा गएर भारतले के गर्न खोजेको भन्ने सन्देश जान्छ ।

भारत आफैँले विवादित भूमि भनेर स्वीकारेको हो । वार्ताबाट समस्या समाधान गर्न पनि खोजेकै हो । प्रमाण हेरेर समस्याको निकास निकाल्दा भइहाल्छ त । विश्वासको वातावरण बनाएर जाने हो भने विशेषज्ञले छुट्याइहाल्छ नि ।

वार्ता कोभिड–१९ को महामारीअघि कि पछि भन्ने प्रश्न आउला । तर, मेरो विचरामा कोरोनाअघि नै वार्तामा बसेर समस्याको निकास निकाल्नुपर्छ ।

‘व्यापक तयारी गरौं, भारतीय मिडियाजस्तो उत्ताउलो नबनौं’

राम कार्की, नेकपा नेता

नेपालले आन्तरिक तयारीलाई व्यापकता दिनुपर्छ । सरकारले विज्ञहरू राखेर अध्ययन समिति बनाउनुपर्छ । परराष्ट्र, सिमाना, भूगोल, जलधार, नक्सा आदि क्षेत्रमा काम गर्नेहरूलाई अध्ययनमा लगाउनुपर्छ । यस्तो अध्ययन समिति सरकारी र सरकारी सेवामा नरहेकाहरूलाई राखेर बनाउन सकिन्छ ।

मन्त्रालय, पार्टी वा नेतापिच्छे फरक-फरक धारणा बनाउनुहुँदैन । सम्पूर्ण नेपालीहरू एक स्वर बनाउनुपर्छ । एमसीसी, बीआरआई जस्ता कुरामा पनि आफ्नो नीति आउनुपर्छ । ताकि हामीले कुनै पनि सैन्य गठबन्धनमा छैनौं भनेर सन्देश दिन सकियोस् । सार्वभौम नेपाल असंलग्न नीतिमा प्रतिबद्ध छ भन्ने स्पष्ट पार्न सक्नुपर्छ ।

सन् १९६२ मा भारत–चीनबीच लडाइँ हुँदा नेपालकै कारण थप युद्ध भड्किएको थिएन । त्योबेलामा नेपालले लगाएको गुन बिर्सनु हुँदैन । छिमेकीहरूले नेपालको भौगोलिक अवस्थितिको ख्याल गर्नुपर्छ ।

यस्तोबेलामा कलाकार, बुद्धिजीवी, सञ्चारकर्मीको जनस्तरको सम्बन्ध प्रयोग गरेर वास्तविक समस्या यो हो भन्ने बुझाउन सक्नुपर्छ । यतिबेला भारतीय मिडियाको ठूलो हिस्साले उन्माद प्रयोग गरिरहेका छन् । तर, हाम्रा मिडिया बहकिनुहुँदैन ।

अहिलेसम्मको अभ्यास हेर्दा नेपाली मिडिया धेरै विश्वसनीय छ । जुनसुकै सरकारले गरेको गलत कुराको आलोचना गर्छ भन्ने विश्वास जित्न सफल छ । जबकि भारतीय मिडियाले लोकतन्त्रको मर्म जोगाउन सकेको छैन ।

त्यसकारण, हामीले उत्तेजक र उत्ताउलो कुरा गर्नुहुँदैन । हाम्रो संस्थागत अभिलेख कमजोर छ भन्नेहरूलाई राम्रो अभिलेख राखेर देखाउन सक्नुपर्छ । छ महिनापछि यो मुद्दामा शिथिलता आउन दिनुहुँदैन । अर्थात् हामीले निरन्तर प्रयत्न जारी राख्नुपर्छ । राजनीतिक तहमा पूर्ण जिम्मेवार र कूटनीतिक तहमा कौशल देखाउने बेला आएको छ ।

यो पनि पढ्नुहोस एसडी मुनिको स्वीकारोक्ति : भारत सारा छिमेकमा फेल भइरहेको छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment