३० पुस, काठमाडौं । संविधानसभाको बैठक माघ ८ मा आह्वान भएपछि सभासदहरुलाई काठमाडौंमा डेरा खोज्ने चटारो शुरु भएको छ ।
गत संविधानसभामा प्रतिनिधित्व गर्ने केही सभासदहरुको लामो समयसम्म डेरा पाउन नसकेको तितो अनुभवले यसपालिका सभासदहरु बढी सचेत देखिएका छन् ।
काठमाडौं उपत्यकाको सुगम ठाउँमा खोजेजस्तो डेरा पाउन प्रायः कठिन हुन्छ । संविधानसभाको बैठक नयाँ बानेश्वरस्थि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने भएपछि प्राय सभासदहरु डेरा पायक पर्ने गरी खोजी गर्ने गर्दछन् ।
दोस्रो संविधानसभामा पनि निर्वाचित अधिकांश सभासदहरुलाई त कोठा खोज्न खासै समस्या नहोला तर दुर्गगमबाट प्रतिनिधित्व गर्ने नयाँ सभासदहरुलाई भने कोठाको चिन्ता सुरु भएको छ ।
दुर्गमका सभासदहरुले काठमाडौंमा रहेका विद्यार्थी र आफन्तहरुलाई डेरा खोज्न आग्रह गरिरहेका छन् । नेकपा एमालेबाट समानुपातिकमा परेका सभासद अभिलाल अखेडाले काठमाडौंमा डेरा खोज्ने समस्या सुनेर जिल्लाका विद्यार्थीहरुलाई कोठा खोज्न आग्रह गरेको बताए ।
कांग्रेसका समानुपातिक सभासद कैलालीका प्यारेलाल रानाथारुले बैठक बस्ने जानकारी पार्टीबाट आएपनि डेरा खोज्ने सुरसार नगरेको बताए ।
संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सभासदहरुलाई डेराभाडाबापत मासिक ६ हजार पाँच सय रुपैयाँ उपलव्ध गराउने साविककै व्यवस्था रहेको बताए । सो बाहेक मासिक तलव, सहयोगी राख्ने सुविधा र पत्रपत्रिको सुविधा पनि सभासदलाई रहेको खबर आजको गोरखापत्रमा लक्की चौधरीले लेखेका छन् ।
प्रतिक्रिया 4