१५ माघ, काठमाडौं । झट्ट हेर्दा सुरक्षानिकायका हाकिमजस्तै लाग्ने यी व्यक्तिलाई धेरैले नामले मात्रै चिन्छन् । तर, यिनै व्यक्ति हुन्, जसले गत संविधानसभा चुनावमा सर्लाही १ बाट’हेभी वेट’का एमाले अध्यक्ष झलनाथ खनाललाई पराजित गरेर नाम कमाए ।
सर्लाही १ बाट निर्वाचित सभासद शम्भु श्रेष्ठको विशेषता अर्को पनि छ । उनी उम्मेद्वारी दर्ता हुनुभन्दा ७२ घण्टा अघिसम्म नेपाली कांग्रेसको महासमिति सदस्य थिए । उनले कांग्रेस छाडेर एमाओवादीमा प्रवेश गरेको केही घण्टामै टिकट पाए । जतात्यतै हारै हार व्यहोरेका बेला श्रेष्ठले एमाओवादीलाई एक सीटमा जीतसमेत दिलाएरै छाडे ।
फेरिएको दैनिकी
यौवनावस्थाका झण्डै ३० वर्ष ‘जय नेपाल’ भन्दैमा बिताएका सभासद श्रेष्ठको दैनिकी आजकल फेरिएको छ । संविधानसभा निर्वाचनमा कांग्रेसले दिइसकेको टिकट खोसेपछि तत्काल एमाओवादीमा प्रवेश गरेका श्रेष्ठ अहिले ‘लाल सलाम’ भन्न सिकिरहेका छन् ।
एमाले अध्यक्ष खनाललाई पराजित गरेपछि चर्चामा आएका उनले संविधानसभा भवनभन्दा ७/८ सय मीटर टाढा रहेको आफ्नो डेरामा अनलाइनखबरसँग कुरा गर्दै भने- ‘जय नेपालको साटो सलाम भन्ने प्रयन्त गर्दैछु । विद्यार्थीकालदेखि ३० वर्षसम्म जय नेपाल भनेर हिँडेको मान्छे, अभिवादन, सलाम भन्नुपर्छ । बोलीचाली सिक्दैछु । कांग्रेसमा खुला परिवेशको राजनीति गरेको मान्छे, यहाँ केन्द्रीकृत हुनुपर्ने । गाह्रो त गाह्रै छ तर, परिर्वतन हुन प्रयत्न गर्दैछु ।’
राजनीतिकरुपमा कांग्रेस परित्याग गरेपछि अब दत्तचित्तले एमाओवादीको हितमा लाग्ने भन्दै सभासद श्रेष्ठले भने-‘अब दुई वर्ष या ५ वर्षपछि यो पार्टी परिर्वतन गरेर अर्कोमा गएँ भने म जनताको नजरमा गिर्छु । त्यसैले यो पार्टीलाई नीति र नियमले चल्ने पार्टी बनाउन लाग्छु ।’ उद्यपि उनले आफू एमाओवादीमा रहेका कुनै गुटमा नलाग्ने बताए ।
मीनभवन क्याम्पसमा अध्ययन गर्दा नेविसंघको साधारण सदस्य रहेका उनले बीबीएसको पढाइ पूरा गर्न नपाए पनि व्यापार व्यवसायमा भने पीएचडीसरह अनुभव हासिल गरेका छन् । सहकारीको क्षेत्रमा पनि आफूसँग अनुभव रहेको उनी बताउँछन् ।
पहिले माओवादीको तारो, अहिले प्यारो
कांग्रेस छाडेर अहिले एमाओवादी भएका श्रेष्ठ सशस्त्र द्वन्द्वकालमा भने माओवादीको आँखाका तारो बनेका थिए । । ‘दुईपटक मेरा घरमा आक्रमण भयो । बुबाले भौतिक कारवाही खेप्नुपर्यो’ विगत सम्झँदै सभासद श्रेष्ठले भने-‘यसले एमाओवादीमा प्रवेश गर्न गाह्रो त भयो तर, राजनीतिमा कोही स्थायी शत्रु नहुनेरहेछ ।’
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०५७ सालमा युद्वविरामको घोषणा गरेपछि स्थानीय प्रशासनको समेत आग्रहमा माओवादीसँग सम्वन्ध सुधारको प्रयास थालेका उनलाई सुरुमा माओवादीले निगरानीमा समेत राखेको थियो । उनले भने-‘मलाई दुई महिनासम्म माओवादीले नजरबन्दजस्तै राखे । दिनभरि कहीँ पनि जान पाउने तर, राति घरमै बस्नुपर्ने थियो । दुई-चारवटा अभियोग लागेको रहेछ तर, प्रमाणित भएन ।’ राइस मिलसमेत चलाएका आर्थिकरुपमा सम्पन्न आफ्नो परिवारसँग माओवादी खुला राजनीतिमा आएपछि कांग्रेसका स्थानीय नेताका रुपमा हेलमेल बढेको उनले बताए ।
कांग्रेस छाड्नुको कारण
कुराकानीका क्रममा श्रेष्ठले कांग्रेससँगको लामो यात्रा तोडेर एमाओवादी प्रवेश गर्नुको कारणसमेत सुनाए । पथ्थरकोटका प्रधानपञ्चका छोरा श्रेष्ठ ०४६ सालको जनआन्दोलनपछि कांग्रेसको सक्रिय राजनीतिमा लागेका थिए ।
दुईपटक गाविस अध्यक्ष भएपछि २०५६, २०६४ र २०७० को चुनावमा स्थानीय स्तरबाटै उनको नाम उम्मेदवारका लागि सिफारिस भएको थियो । योपटक टिकट दिएर पनि रातारात खोसेपछि कांग्रेससँग चित्त दुखेको उनले सुनाए । ‘यसपालि पनि टिकट नदिएपछि एक/दुईवटा कुरा खडि्कयो’ उनले भने-‘समर्थक र शुभचिन्तकले तिमीविना यो क्षेत्रमा कसैले सक्दैन, कांग्रेसले अब तिमीलाई कहिल्यै पनि टिकट दिँदैन, त्यसैले राजनीतिक गर्ने रहर छ भने पार्टी छोडिदेऊ भनेपछि साँच्चै हो जस्तो लाग्यो ।’
अहिलेसम्म आफ्नो पक्षमा रहेको माहोल अबको चुनावसम्म कुर्दा अनुकुल नहुने हो कि भन्ने लागेपछि कांग्रेस छाडेको भन्दै उनले एमाले अध्यक्ष झलनाथ खनाल सर्लाही १ बाट उम्मेदवार बने पनि एमाले प्रवेशको बाटो बन्द भएको र एमाओवादीमा लागेको बताए । उनले भने ‘चुनाव लड्ने भएपछि पार्टी त चाहियो ।’
चुनाव जितिसकेपछि श्रेष्ठलाई कांग्रेस नेता गोपालमान श्रेष्ठ र विमलेन्द्र निधीले तपाईलाई पार्टीबाट अन्याय भयो भन्दै सहानुभूतिसमेत प्रकट गरेका छन् । तर, श्रेष्ठ भन्छन्, ‘कांग्रेसले गरेको त्यो गल्ती अब इतिहास भइसक्यो ।’
एमाओवादी प्रवेशको अन्तरकथा
जिल्लामा खाद्य उद्योगसमेत चलाएका श्रेष्ठ माओवादी प्रवेश गर्ने निर्णयमा त पुगे तर, स्वीकार गर्छ कि गर्दैन भन्ने उनलाई डर थियो । ‘मैले प्रहृलाद बुढाथोकीलाई फोनमै मलाई स्वीकार गर्नुहन्छ त भनेर प्रस्ताव राखेँ’ उनले भने- ‘मनिष माझी (शम्भुभन्दा अगाडि एमाओवादीले टिकट दिएको व्यक्ति) सँग कुरा गर्नुस्, उनले मान्छन् भने म कुरा गर्छु भने ।’ प्रहृलादले भनेपछि मनिषलाई फोन गरेका उनले म एमाओवादीबाट चुनाव लड्छु, तपाई बस्नुस् भन्न सकेनन् ।
उनले अन्य नेताहरुबाटै मनिषसमक्ष कुरा पुर्याएर आफ्नो पक्षमा माहोल बनाउँदै विश्वनाथ साह, हरिबोल गजुरेल, अग्नि सापकोटा सहितका नेताहरुमार्फत केन्द्रमा प्रस्ताव राखे ।
झण्डै ३/४ घण्टाको बीचमा कांग्रेसबाट एमाओवादी बनेका उनले भने-‘भोलि कैंची काट्ने काम हुन्छ कि भन्ने डर पनि थियो । तर, पार्टीभित्रबाट कसैले मलाई चुनावमा असहयोग गरेनन् ।’
चुनावका बेला सर्लाहीमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गर्न नदिनु आफ्नो सफलता भएको बताउँदै उनले भने-‘एउटा पनि कार्यकर्ता एमाले प्रवेश गर्यो भन्ने सन्देश जाँदा नराम्रो हुन्छ भन्ने मैले बुझेको थिएँ । बाँकी त झलनाथजी नयाँ, म जन्मिएको, हुर्किएको र राजनीति गरेको ठाउँ । त्यसैले मैले जितें ।’
बुबाको बेखुशी
एमाओवादी प्रवेश गर्ने निर्णय गर्दा विगतमा माओवादीको भौतिक कारवाही खेपेका उनका बाबु भने खुसी थिएनन् । तर, ‘भैगो त, तैंले आँट गरिहालिस्’ भनेर बुबाले पनि स्वीकार गरेको सुनाउँदै श्रेष्ठले भने-असन्तोष त लाग्यो तर उहाँले स्वीकार गर्नुभयो । केहीले अनर्गल प्रचार गरेपछि मैले बुबालाई गाडीमा राखेर चुनाव प्रचारमा हिँडे ।’
एमाओवादीका स्थानीय नेताहरुका अनुसार चुनावका क्रममा शम्भु श्रेष्ठका बुबाले मतदाताहरुसँग पार्टीलाई होइन, व्यक्तिलाई भोट दिनुस् भन्ने गरेका थिए ।

प्रतिक्रिया 4