Comments Add Comment

सुन्नी विद्रोहीलाई नेकपा मसालको सलाम !

१० असार, काठमाडौं । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले इराकका सुन्नी विद्रोहीहरुले गरिरहको सशस्त्र संघर्षलाई स्वागत गरेको छ । इराकी जनताले ‘अमेरिकी साम्राज्यवाद’विरुद्ध संघर्ष गरिहरेको र अमेरिकी जनताको विजय हुने मसालका महामन्त्री सिंहले दाबीसमेत गरेका छन् ।

‘इराकमा त्यहाँको अमेरिकी साम्राज्यवादले कायम गरेको कठपुतली सरकारका विरुद्ध विद्रोहीहरूले युद्धमा प्राप्त गरिरहेको सफलतालाई नेकपा -मसाल) ले स्वागत र अभिनन्दन गर्दछ’ मसालका महामन्त्री सिंहद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कठपुतली सरकारका विरुद्ध इराकका जनताले विजय प्राप्त गर्नेछन् भन्ने कुरामाथि हामीलाई पूर्ण विश्वास छ । हामीले इराकका जनताको पूर्ण विजयको कामना गर्दछौँ ।’

महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘सद्दाम हुसेनको हत्या गरेर त्यहाँ अमेरिकी साम्राज्यवादले आफ्नो प्रभुत्वकायम गरेको थियो । अहिले त्यहाँका जनताको विजयलाई दबाउन त्यसले पुनः नयाँ प्रकारले आफ्नो गतिविधिलाई तीव्र पार्दै लगिरहेको छ । त्यो क्रममा अमेरिकाले पुनः खुल्लारूपले सैनिक आक्रमण गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तर, विश्वको इतिहासले बारम्बार यो कुरा प्रमाणित गरेको छ कि अन्तिम विजय जनताको हुन्छ र उनीहरू अजय शक्ति हुन् ।’

नेपालीको सुरक्षामा चिन्ता

महामन्त्री सिंहले इराकमा रहेका नेपालीमाथि भइरहेको असुरक्षाप्रति चिन्ता समेत जाहेर गरेका छन् । ‘इराकमा ठूलो सङ्ख्यामा नेपालीहरूको जीवन असुरक्षित भएको छ । अवैधरूपमा ठूलो सङ्ख्यामा नेपालीहरू त्यहाँ पुग्नु सरकारको विदेश नीतिको असफलता हो,’ नेकपा मसालको वक्तव्यमा भनिएको छ, ‘उनीहरूलाई सुरक्षितरुपमा देशमा ल्याउन सरकारले अहिलेसम्म प्रभावशाली कदम चाल्नसकेको छैन । हामीले इराकमा असुरक्षित भएका नेपालीहरूलाई शीघ्र देशमा मगाउन आवश्यक कदम चाल्न सरकारसित माग गर्दछौँ ।’

इराकबारे प्रचण्ड र मोहन वैद्य मौन

इराकमा भइरहेको हिंसात्मक संघर्षलाई खुलेर समर्थन जनाउनेमा नेकपा मसाल पहिलो पार्टी बनेको छ । इराक मामिलाबारे अहिलेसम्म एमाओवादी र वैद्य माओवादी भने मौन रहँदै आएको छ ।

उता अमेरिकन कम्युनिष्ट पार्टी आरसीपी अमेरिकाका नेता बब अभायकिनले भने इराकी विद्रोहीहरुलाई पनि प्रतिक्रयावादीको संज्ञा दिएका छन् । अभायकिनले इराकबाट अमेरिकी कठपुतली सरकारको विकल्पमा मुस्लिम अतिवादी नभई कम्युनिष्टहरुले क्रान्ति गर्नुपर्ने तर्क अघि सारेका छन् ।

तर, एकताका रिममा बबसँगै रहेको नेकपा मसालले भने सुन्नीहरुको विद्रोहलाई इराकी जनताको विद्रोह भन्दै मुक्त कण्ठले प्रशसा गरेपछि इराक प्रकरणलाई हेर्ने विषयमा विश्वका कम्युनिष्टवीच दुई धार देखा परेको छ ।

यो पनि पढ्नुस्

आफ्नै सरकारसँग डराउँछन् इराकमा बस्ने नेपाली 

इराकको टिक्रिट शहरमा पाँच नेपाली संकटमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment