Comments Add Comment

गुरुयोजना बनार्इ ढोरपाटनमा पर्यटन प्रवर्द्धन गर्ने सरकारको तयारी

Dhorpatan-Hunting-3
नविन अर्याल

१३ असार, काठमाडौं । मुलुकको एकमात्र सिकार आरक्ष ‘ढोरपाटन’ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने भएको छ । सरकार, पर्यटन व्यवसायी र राजनीतिक दलका स्थानीय नेता/कार्यकर्ता ढोरपाटनलाई पर्यटकीक गन्तव्यका रुपमा विकास गर्न सहकार्य गरि अघि बढ्ने भएका छन् ।

बागलुङ, म्याग्दी र रूकुम जिल्लाको सीमा क्षेत्रमा पर्ने ढोरपाटनलाई पर्यटकीय गन्तव्य बनाउने विषयमा सरकार, पर्यटन व्यवसायी र स्थानीय सरोकारवाला बीच मंगलबर भएको छलफलले एकजुट भएर अघि बढ्ने निष्कर्ष निकालेको पर्यटन मन्त्रालयका प्रवक्ता माेहन कृष्ण सापकोटाले अनलाइनखबरलाई बताए ।

ढोरपाटनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गुरुयोजना नै बनाएर अगाडी बढ्ने तयारीमा पर्यटन मन्त्रालय रहेको  छ । ‘प्रकृतिको बरदान पाएको ढोरपाटनले ठूलो पर्यटकीय सम्भावना बोकेको छ’ उनले भने -‘ढोरपाटनको पर्यटन प्रवर्द्धन गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न तयार छ ।’ निजी क्षेत्रसँग सहकार्य गरेर छिट्टै काम अगाडी बढाउने उनको भनाई छ ।

ढोरपाटन क्षेत्र समुन्द्री सतहबाट दुई हजारदेखि सात हजार मिटरको उचाईमा पर्छ । यहाँ २९ थरी स्तनधारी जनावर र १ सय ४९  थरी चराचुरुङ्गी पाइन्छन् । जनावर र चराचुरुङ्गीका पारखी तथा अध्ययनकर्ताहरुलाई मात्र ढोरपाटनमा पुर्‍याउन सके पनि ठूलो लाभ लिन सकिने सापकोटाको ठहर छ ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यलाई पुरा गर्न हरेक वर्ष एक/एक ठाउँमा पर्यटन वर्ष मनाउँदै आएको छ । यही क्रममा पर्यटन मन्त्रालयले गत वर्ष ढोरपाटन, सिस्ने र जलजलामा पर्यटन वर्ष मनाएको थियो । पर्यटन वर्ष मनाउँदा ढोरपाटनको पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको उनले बताए ।

Dhorpatan-Hunting-final

ढोरपाटनमा सरकारले एयरपोर्टका लागि जग्गा छुट्याएर राखिसकेको बताउँदै सापकोटाले सरकारले एयरपोर्ट निर्माणको काम समेत अगाडी बढाउने जानकारी दिए । एयरपोर्ट सञ्चालनमा आएपछि ढोरपाटनमा पर्यटकलाई आवत-जावत गर्न निकै सहज हुनेछ ।

अहिले नेपाल भित्रिने पर्यटकको औषत बसाई करिव १२ दिनको रहेको छ, उक्त १२ दिनमा ढोरपाटन पुगेर फर्किन समेत गाह्रो हुँदा पर्यटकको आकर्षण नदेखिएको हो । ‘पर्यटक आकषिर्त गर्नका लागि सरकारले ढोरपाटनको पूर्वाधार विकास तथा प्रचार-प्रसारमा सरकारले लगानी गर्छ’ प्रवक्ता सापकोटालेे भने ।

यसरी गरिँदैछ विकास

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार विकासमा लगानी गर्ने, स्थानीय मानव संसाधन विकासमा जोड दिने, ढोरपाटनको ब्रान्डिङ तथा मार्केटिङ गर्ने, वातावरण संरक्षणमा जोड दिने, हन्टिङ र ट्रकिङ रुटका रुपमा विकास गर्ने, र उत्तर गंगा नदीको संरक्षण गर्ने सापकोटाले बताए ।

मन्त्रालयको पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ढोरपाटनलाई केन्द्रविन्दु बनाएर ट्रेकिङ रुट बनाइने भएको छ । सापकोटाका अनुसार बागलुङ, म्याग्दी, ढोरपाटन सिस्ने जलजला हुँदै डोल्पासम्म पुग्ने गुरिल्ला ट्रेकको रुपमा प्रवर्द्धन गर्ने सरकारको तयारी रहेको छ ।

यस गुरिल्ला टे्रेलमा प्रकृतिक सुन्दरता, साँस्कृति सम्पदा, माओवादीको १० वर्षे जनयुद्ध सुरु गरेको सिस्ने, जलजलाजस्ता स्थानहरुको अवलोकन भ्रमण गर्न सकिन्छ । गुरिल्ला ट्रेलको विकास गर्न सकेमा ढोरपाटनमा विश्वभरका टे्रकिङ पारखीहरु आकषिर्त गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् ।

Dhorpatan-Hunting-2

ढोरपाटनमा प्लेन र हेलिकप्टर चार्टड गरेर जाने पर्यटकहरु आकषिर्त गर्ने लक्ष्य पर्यटन मन्त्रालयको छ । पर्यटन मन्त्रालयले ढोरपाटनको पर्यटन विकास गर्न नारा नै बनाउने भएको छ । होटल तथा अन्य सेवा-सुविधाहरु विस्तार गर्नका लागि निजी क्षेत्रलाई अगाडी बढाउने मन्त्रालयको तयारी छ । अहिले ढोरपाटनमा ८/१० वटा लजहरु रहेका छन भने बागलुङ जिविसको समेत सहभागितामा एउटा सामुदायीक लज सञ्चालनमा आइसकेको छ ।

‘ढोरपाटनमा हिन्दु र बुद्धिष्ट संस्कृतिको राम्रो संयोजन पाए, मगरहरुको बाक्लो वस्ती रहेको हुँदा मगर संस्कृति पनि उत्तिकै आकषिर्त रहेको छ’ सापकोटाले भने- ‘यी नै संस्कृतिको मात्र प्रवर्द्धन गर्न सकेमा सांस्कृतिक पर्यटकसमेत आकषिर्त गर्न सकिन्छ ।’

ढोरपाटनमा शिकार खेल्न रुचाउनेहरु, प्रकृतिसँग रमाउने, ट्रेकिङ गर्न रुचाउने, सुन्दर दृश्य अवलोकन गर्न मन पराउने पर्यटकहरु आकषिर्त गर्न सकिने सम्भावना रहेको छ । यहाँ मुस्ताङको मार्फामा जस्तै स्याउहरु फल्छन । फाँटमा ढोर बराहको मन्दिर रहेको छ । प्रयाप्त प्रचार-प्रसार हुन नसक्दा अहिले ढोरपाटनमा जम्मा वाषिर्क डेढ सयको हाराहारीमा मात्र पर्यटक हन्टिङका लागि पुग्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment