Comments Add Comment

संसदीय दलमा वामदेवलाई र्‍याखर्‍राखी, ओली असन्तुष्ट

Uml-samsadiya-dal

१६ असार, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको नेतृत्वमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदीय दलका नेता केपी शर्मा ओलीले आलोचना गरेका छन् । नीति तथा कार्यक्रमबारे छलफल गर्न सोमबार बसेको एमाले संसदीय दलको बैठक विपक्षी दलको बैठकभन्दा फरक देखिएन ।

केपी ओली संसदीय दलको नेता चुनिएपछि उनको अध्यक्षतामा सोमबार पहिलोपटक बसेको बैठकको एकसूत्रीय एजेन्डा सोमबार सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने रहेको थियो । तर, बैठकमा सभासदहरु एकाएक कार्यबाहिक प्रधानमन्त्री वामदेव गौतममाथि खनिएको बैठकमा सहभागी एक सभासदले अनलाइनखबरलाई बताए ।

‘केपी कामरेडले पनि सरकारको नीति तथा कार्यक्रममाथि आलोचना गर्नुभयो, स्रोतले ओलीको भनाइ उधृत गर्दै अनलाइनखबरसँग भन्यो, ‘विगतमा विभिन्न पक्षसँग भएका सहमति र सम्झौताबारे चर्चा गरिएको छैन, नीति तथा कार्यक्रमले पोलिटिकल ओरियन्टेसन गरेको पाइएन ।’

यद्यपि सरकारमा नेकपा एमालेसमेत सहभागी रहेका कारण आफ्ना कुराहरु राख्दै नीति तथा कार्यक्रमलाई समर्थन गर्नुपर्ने ओलीले सभासदहरुलाई बताएका थिए । बैठकमा पार्टी अध्यक्ष झलनाथ खनाल र माधव नेपाल भने मौन रहेको स्रोतले बतायो ।

वामदेवलाई र्‍याखर्‍राखी

संसदीय दलको बैठकमा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई कार्यकर्ताहरुले र्‍याखर्‍राखी पारेका थिए । गौतमको नेतृत्वमा ल्याइएको सरकारको नीति तथा कार्यक्रममा एमाले नदेखिएको र कांग्रेसमात्रै देखिएको सभासदले गौतममाथि आरोप लगाए ।

केपी ओली समूहका सभासद रवीन्द्र अधिकारीले निर्वाचनबाट आएको सरकारबाट जनताले अपेक्षा गरे अनुसारको नीति तथा कार्यक्रम नआएको भन्दै पञ्चायती सरकारले एशियाली मापदण्डमा पुर्‍याउने भनेजस्ता कुराले अर्थ नराख्ने बैठकमा बताएका थिए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा हाइड्रो र कृषिलाई पनि खासै महत्व नदिएको अधिकारीको आरोप थियो ।

धादिङका सभासद गुरु बुर्लाकोटीले नेकपा एमाले सरकारमा बस्नै नहुने भन्दै तत्काल मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने माग गरे । त्यसैगरी सभासद गणेश पहाडीले यो सरकार कसको हो भन्ने प्रश्न गर्दै सरकारमा एमाले भएको अनुभूति नै हुन नसकेको बताए । केपी ओली पक्षका सभासद पार्वत गुरुङले एमालेको घोषणापत्रमा उल्लेख भएको एउटै विषय पनि नीति तथा कार्यक्रममा समावेश नभएकाले बताए । ‘यस्तो नीति तथा कार्यक्रम कसरी हाम्रो हुन्छ ?’ बैठकमा गुरुङको प्रश्न थियो ।

सभासदको प्रश्नबारे जवाफ दिने क्रममा नेता गौतमले आफूले नीति तथा कार्यक्रममा जतासुकै एमाले देखेको प्रतिक्रिया दिएका थिए । ‘मैले एमाले देखेको छु, सबैसँग छलफल गरेरै ल्याएको हो, सबै नेताहरुलाई एकसरो देखाएरै नीति तथा कार्यक्रम बनाएको हो,’ बैठकमा वामदेवको प्रतिक्रिया थियो । नेता गौतम हतार-हतार बोलेर बल्खु जानुपर्ने छ भन्दै हडबडाएर हिँडेपछि सभासदहरुको प्रश्नको सामना दलका नेता ओलीले गरेका थिए ।

तर, ओली आफैं वामदेवको नेतृत्वमा आएको कार्यप्रति असन्तुष्ट रहेकाले एमाले संसदीय दलको बैठक सरकारविरुद्ध रुवाइ व्यक्त गर्नमै सीमित भएको एक सभासदले बताए ।

यो पनि पढ्नुस् 

‘केपी कामरेड, राष्ट्रपतिलाई कसरी चिन्नु भो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment