+
+

सगरमाथाको टोली नेता नछानिँदा छलफल अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते १३:५८

२३ असार, काठमाडौं । नवौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत दस्तावेजमाथि अन्य क्षेत्र र वर्गीय संगठनका समूह छलफलमा जुटिसक्दा सगरमाथा अञ्चलका प्रतिनिधिहरुबीच आइतबारबाट जारी जुहारी अझै टुंगेको छैन ।

दस्तावेजमाथिको छलफलका लागि बनाइएको समूहका टोली नेता विवाद अध्यक्षमण्डलले पनि हल गर्न सकेको छैन । आफूहरुलाई थाहै नदिई नेपाल पक्षका यज्ञराज सुनुवारलाई संयोजक बनाइएको भन्दै ओलीपक्षी प्रतिनिधिहरु विरोधमा उत्रेपछि दस्तावेजमाथि छलफल हुन सकेको छैन ।

टोली नेता अमान्य भएको भन्दै ओली पक्षीय प्रतिनिधिहरु अध्यक्षमण्डलकहाँ डेलिगेशन गएको छ । नेपालपक्षीय प्रतिनिधिहरुले भने प्रक्रिया पुर्‍याएर छानेकाले सगरमाथा अञ्चलको टोली नेता यज्ञराज सुनुवार नै भएको बताएका छन् । ८८ जना प्रतिनिधि रहेको सगरमाथामा नेपालपक्षले ४० जनाको मात्रै उपस्थितिमा टोली नेता छानेको ओलीपक्षको दाबी छ ।

४९ जनाको हस्ताक्षरमा सप्तरीका सुमन प्याकुरेललाई टोली नेता र खोटाङका विशाल भट्टराईलाई उप-नेता छानिएको ओलीपक्षका प्रतिनिधिको दाबी छ । ‘बहुमत प्रतिनिधिको हस्ताक्षरमा टोली नेता छानेर अध्यक्षमण्डलकहाँ जाँदा कुनै निर्णय दिएनन्’, भट्टराईले भने, ‘मतदान प्रक्रियामा लैजान भन्दा पनि अध्यक्षमण्डल मौन बसेको त्यसको हामी भत्र्सना गर्छौं ।’

भेरीमा ओलीपक्षीय कँडेल

विवादका कारण आइतबार टोली नेता चुन्न नसकेको भेरी अञ्चलमा निर्वाचन प्रक्रियामार्फत ओलीपक्षीय यामलाल कँडेल टोली नेता छानिएका छन् । कँडेलले नेपालपक्षीय विष्णु रिजाललाई पराजित गरेका हुन् । कँडेलले ७० भोट प्राप्त गरेका थिए भने रिजालले ५२ भोट प्राप्त गरे ।

यससँगै १९ मध्ये १८ समूहको टोली नेता चयन भएको छ । जसमा ओली पक्षका १० नेता चुनिएका छन् भने ७ टोली नेता नेपाल पक्षका छन् । एक भने तटस्थ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?