२९ असार, काठमाडौँ । ‘तिमी राउटे बन्न तयार हुन्छौँ भने हामी पनि तिमीजस्तै रैती बन्न तयार छौँ ।’ करिब एक दशकअघि सुर्खेतका तत्कालिन प्रमुख जिल्ला अधिकारीले ‘खेतीपाती गरेर बस्ने भए जग्गाजमिन दिन्छौँ,’ भन्दा त्यतिबेलाका राउटे मुखिया मानबहादुर शाहीले यस्तो जवाफ फर्काएका थिए।
मानबहादुरका स्पस्ट तीन मान्यता थिए-खेतीपाती नगर्ने, लेखपढ नगर्ने र जागिर नखाने। मानबहादुर अहिले जिवित छैनन्। समयले पनि राउटेलाई रैती बन्ने मार्गमा डोर्यामएको छ। आजको नागरिक दैनिकले समाचार छापेको छ ।
पर्यावरणीय प्रभावले आहारमा कमी हुनु बाह्य समाजसँग घुलमिल बढ्नु र जीवनयापनका लागि परनिर्भरता बढ्नुले आदिम मानव सभ्यताको एक अवशेष राउटे समुदाय परिवर्तनको संघारमा पुगेको छ। उनीहरु बाध्यताले आफ्नो प्रचिन मान्यता र परम्पराबाट पछि हटेका छन्।
गत फागुनमा सुर्खेत जिल्ला बन कार्यालयले राउटे समुदायका चार जनालाई बन हेरालु तथा डढेलो नियन्त्रकको जागिर दियो। बन अधिकृत शम्भुप्रसाद चौरसियाले उनीहरुलाई नियुक्तिपत्र थमाउन कम्ति मेहनत गर्नुपरेन। ‘ बनमा बस्ने समुदायलाई यस्तो जिम्मेवारी दिँदा प्रभावकारी हुन्छ भनेर हामीले प्रक्रिया अगाडि बढाएका थियौँ,’ चौरसियाले भने, ‘तर जागिर नखाने परम्परा बोकेका उनीहरुलाई ‘कन्भिन्स’ गर्न निकै गाह्रो भयो।’