Comments Add Comment

साफ्टाको मन्त्रिस्तरीय बैठक थिम्पुमा

२ साउन, काठमाडौं । दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को आठौँ मन्त्रिस्तरीय बैठक भुटानको राजधानी थिम्पुमा हुने भएको छ । बैठक आगामी बिहीबारदेखि सञ्चालन हुनेछ ।

बैठकमा साफ्टा कार्यान्वयनको सिलसिलामा संवेदनशील वस्तुहरुको सूचीमा रहेका उत्पादनहरुको सङ्ख्या र भन्सार तथा गैरभन्सार अवरोध हटाउने, व्यापार तथा सेवासम्बन्धी सार्क सम्झौताबारे छलफल हुनेछ ।

त्यस्तै सार्क क्षेत्रमा व्यापार प्रवर्द्धनका र अन्तर क्षेत्रीय व्यापार वृद्धिबारे पनि बैठकमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालले जानकारी दिए ।

उक्त मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुखसमेत रहेका सहसचिव हमालले सदस्य राष्ट्रलाई वस्तु तथा सेवाहरुको अन्तिम सूची उपलब्ध गराउने सम्बन्धमा पनि बैठकमा छलफल हुने बताए ।

बैठकमा नेपालको नेतृत्व वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले गर्नेछन् । आठ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै थापा बुधबार थिम्पु जाने कार्यक्रम रहेको छ ।

प्रतिनिधिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, सहसचिव जीवराज कोइराला, परराष्ट्र मन्त्रालयका सहसचिव हमाल, कानुन मन्त्रालय र भन्सार विभागका प्रतिनिधि सहभागी हुनेछन् ।

मन्त्रिस्तरीय बैठकअघि मङ्गलबार र बुधबार सहसचिवस्तरीय विशेषज्ञ समितिको नवौँ बैठक हुनेछ । सहसचिवस्तरीय उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव कोइरालाले गर्नेछन् ।

दुबै बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का आठवटै मुलुकमा मन्त्री तथा उच्चअधिकारीले भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment