Comments Add Comment

तरकारी, मदिरा र सूर्तिको मूल्य वृद्धि उच्च

Price

४ असार, काठमाडौं । तरकारी, मदिरा र सूर्तिजन्य वस्तुहरुको मूल्य उच्च दरले वृद्धि हुँदै गइरहेको छ । जेठ महिनामा वाषिर्क विन्दुगत आधारमा तरकारीको मूल्य २७.५ प्रतिशतले बढेको छ भने सूर्तिको २५.३ प्रतिशत र मदिराजन्य पदार्थको २२.५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार जेठ महिनामा वाषिर्क विन्दूगत मूल्यवृद्धि दर ९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो वृद्धिदर ८.२ प्रतिशत रहेको थियो । यस अवधिमा पेय पदार्थको मूल्य सुचकांक वृद्धिदर १२.२ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको वृद्धिदर ७ प्रतिशत रहेको छ ।

माछा-मासुको मूल्य १६.१ प्रतिशतले बढेको छ भने फलफुलको मूल्य १४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा माछा-मासुको १४.५ र फलफूलको ९.६ प्रतिशतले मूल्य सूचकांक बढेको थियो ।

अघिल्लो वर्षको यसै अवधिमा ७ प्रतिशतले बढेको चिनी तथा मिठाईको मूल्य यो जेठमा १.६ प्रतिशतले घटेको छ ।

गैर खाद्य तथा सेवा समुहमा पर्ने लत्ता कपडा तथा जुत्ता-चप्पलेको मूल्य वृद्धि ११ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९.४ प्रतिशत, स्वास्थ्य क्षेत्रको ८.३ प्रतिशत मूल्य वृद्धि भएको छ ।

क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी मूल्य वृद्धिको चाप तराईमा १०.१ प्रतिशत रहेको छ भने काठमाडौं उपत्यकामा ९.७ प्रतिशत र पहाडमा ८.१ प्रतिशत रहेको छ ।

पछि गत जेठ महिनामा समग्र मूल्यवृद्धि ९.५ प्रतिशत पुगेको  छ । यो मूल्य वृद्धि अघिल्लो वर्षको जेठ महिनादेखि यो जेठ महिनासम्मको हो ।

वार्षिक विन्दूगत मूल्य सुचकांक वृद्धिदर

वस्तुहरू (मूल्य वृद्धि %) यो जेठ (मूल्य वृद्धि %) अघिल्लो जेठ
तरकारी २७.५ ९.१
सुर्तीजन्य पदार्थ २५.३ ११.४
मदिराजन्य पदार्थ २२.५ ४.४
माछा-मासु १६.१ १४.५
फलफूल १४ ९.६
चिनी तथा मिठार्इ -१.६
कपडा तथा जुत्ता-चप्पल ११ १०
फर्निसिङ, घरायसी उपकरण ९.४ ११.५
स्वास्थ्य ८.३ ५.४
मनोरञ्जन तथा संस्कृति ८.२ ६.३
शिक्षा ७.८ १२.५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment