Comments Add Comment

सुनकोशीको बाढीले चिनियाँ र भारतीय पर्यटकको बिचल्ली

Chines-student

१७ साउन, काठमाडौं । सुनकोशी थुनिएर कोदारी राजमार्ग बन्द भएपछि नेपालबाट चीन जाने र चीनबाट नेपाल आउनेहरु बीच बाटोमै अलपत्र परेका छन् । शनिवार अपरान्हसम्म सयौं चिनियाँ पर्यटक सिन्धुपाल्चोकको बनदेउमा अलपत्र अवस्थामा थिए ।

उनीहरुमध्ये एक हूल चीनिया विद्यार्थी आफूहरुसँग पैसा पनि सकिएको र नेपाल बस्ने प्रवेशाज्ञाको मिति पनि सकिएको भन्दै प्रहरी अधिकारीहरुसँग चिन्ता व्यक्त गरिरहेका थिए ।

स्थलमार्गबाट स्वदेश फर्किन लागेका उनीहरुको उद्दारका लागि प्रहरीले चिनियाँ दूतावासमा सम्पर्क गराएको थियो । ‘हामीसँग नेपालको भिसा पनि सकिएको छ र पैसा पनि सकियो’ अलि अलि अंग्रेजी बोल्ने एक चिनिया विद्यार्थीले अनलाइनखबरसँग भने । प्रायः चीनियाहरुले अंग्रेजी भाषा नबुझेका कारण उनीहरुको समस्या समेत पहिचान हुन नसकेको प्रहरीले बताए ।

खासगरि कैलास मानसरोबर जाने र फर्किने भारतीय पर्यटक तथा खासा नाका हुंदै काठमाण्डौ आउने/जाने चिनियाँ पर्यटक बाढीका कारण समस्यामा परेका छन् ।  कैलास मानसरोबर क्षेत्रबाट फर्किनक्रममा बाटोमा रहेका करिव १ हजार तीर्थयात्री अलपत्र परेको सम्राट ट्राभलका प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले जानकारी दिए ।

‘आजै करिव ३ सय जति काठमाण्डौ आइपुग्नुपर्ने थियो, एक सय जनाजति काठमाण्डौबाट कैलासतर्फ जानुपर्ने थियो’ उनले भने- चिनियाँ परमिट लिइसकेका पर्यटकहरुलाई कतिपय ब्यबसायीले हेलिकोप्टरमार्फत् लैजान थालेका छन् ।’

यो सिजनमा हरेक दिन करिव एक/डेढ सय भारतीय पर्यटक काठमाण्डौ हुंदै कैलास मानसरोवरतर्फ जाने उनले बताए ।

पर्यटकहरु वीचमै अलपत्र पर्न थालेको भन्दै उनले उद्दारका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment