Comments Add Comment

मोदीज्यू, महिलाका लागि दिल्लीभन्दा काठमाडौं सुरक्षित छ !

12-things-that-modi-should-

अरुण बराल

१८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारतवीच सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउँदै आएका छन् । पूर्वराजदूत राकेश सूददेखि दिल्लीका अन्य विश्लेषकहरुले नेपालसँग भारतको सम्बन्ध किन सुमधुर हुन सकेन भन्ने चिन्ता प्रकट गरिरहेका छन् । नेपालसँग साँच्चै नै सम्बन्ध सुधार गर्ने हो भने मोदी सरकारले ध्यान दिनैपर्ने र सच्याउनुपर्ने मुख्य विषय एक दर्जन छन् :

१. हेपाहा प्रवृत्ति (हेजेमोनी) बन्द गर्ने : सबैभन्दा पहिले भारतीय अधिकारीले नेपाल र नेपालीबारे आफ्नो ‘माइन्ड सेट’ नै बदल्न आवश्यक छ । नेपाललाई कमजोर र गरीब भन्दै हेप्ने र ‘डोमिनेट’ गर्ने काम बन्द गर्नुपर्छ । दक्षिण एशियामा कहिल्यै पराधीन नबनेको एकमात्र देश नेपाल हो भन्ने कुरा भारतीयले बुझ्न जरुरी छ । संसारको अग्लो सगरमाथा र भारतीयहरु हिन्दुको पवित्र तीर्थस्थल पशुपतिनाथ रहेको नेपाल प्राकृतिक सम्पदा र सांस्कृतिक विविधता एवं सभ्यताले धनी देश हो ।

बेलायती साम्राज्यवादलाई समेत लडाइँमा हायल-कायल बनाएर पराक्रम देखाउने यो देश भारतजजसरी कहिल्यै, कसैको दास बनेको छैन । त्यसैले नेपालसँग सम्बन्ध सुधार्ने हो भने भारतीय अधिकारीहरुको ‘माइन्ड सेट’ परिवर्तन गर्न र नेपाललाई सम्मान गर्न, नेपाललाई पूजा गर्न जरुरी छ । भारतमा जस्तो नेपालमा जातीय दंगा, धार्मिक दंगाहरु हुँदैनन् । ‘सिभिलाइजेसन’मा नेपाल संसारमै उदाहरणीय स्थानमा छ । महिलाहरुका लागि नेपालको राजधानी काठमाडौं भारतको राजधानी दिल्ली वा मुम्बईभन्दा बढ्ता सुरक्षित छ ।

२. नेपाली चेली खरिद नगर्ने : आफूलाई संसारकै ठूलो लोकतान्त्रिक मुलुक बताउने भारतमा नेपाली चेलीबेटीहरुको खुलेआम व्यापार गरिन्छ । महिलाका लागि असुरक्षित मानिने भारतमा हजारौं नेपाली चेलीलाई दाससरह खरीद-बिक्री गरेर देह व्यापारमा लगाइएको छ । नेपाल-भारतको खुला सीमाना नेपाली चेलीका लागि ‘नर्कको द्वार’ बन्ने गरेको छ ।
मध्ययुगमा जसरी मान्छेको खरिद-विक्री गर्ने भारतीयहरुले नेपालमा सिभिलाइजेन र विकासको पाठ पढाउनुभन्दा पहिले नेपाली चेलीको किनबेच पूर्णरुपमा बन्द गर्नुपर्छ र यो सन्देश दिनुपर्छ कि नेपाली चेलीबेटीहरु उसको देशमा जाँदा बेचिनुपर्दैन । जुन देशमा महिला असुरक्षित हुन्छन्, त्यहाँ सभ्यताको फलाको हाल्नु बकवासमात्रै हुनेछ ।

३. दहीचिउरे नीति त्याग्ने : भारतीयहरुले नेपालप्रति दोधारे नीति अपनाउने गरेका छन् । उनीहरु मुखले एकथोक भन्छन्, तर व्यवहार अर्कै गर्छन् । उनीहरु नेपालको स्वतन्त्रतालाई मान्छौं भन्छन्, तर राजनीतिक हस्तक्षेप गर्छन् । जबसम्म भारतीयहरुले आफ्नो भनाइ र गराई एउटै बनाउँदैनन्, तबसम्म उनीहरुमाथि नेपालीको आशंका कायमै रहनेछ ।

४. असमान सन्धी-सम्झौता अपडेट गर्ने : नेपालसँग भारतले गरेका सन्धि सम्झौताप्रति नेपालीहरुमा सन्तुष्टि छैन भन्ने उसले बुझ्नुपर्छ र यसलाई अपडेट गरिनुपर्छ ।
कोशी, गण्डकी र महाकालीसम्मका जति पनि नदीमा भारतले बाँध बनाएर बिजुली र पानी प्रयोग गरेको छ, त्यसवापत नेपाललाई वाषिर्क रोयल्टी बुझाउने गरी ती सन्धिहरु अपडेट गर्न तयार हुनुपर्छ । र, भविश्यमा गरिने त्यस्ता सन्धिहरु नेपाललाई ठोस उपलब्धि हुने गरी गरिनुपर्छ ।

५. सीमानामा उदारता देखाउने : विशाल मुलुक भारतले सानो मुलुक नेपालको १८ सय किमी सीमा क्षेत्रमा रहेका २६ मध्ये २३ जिल्लाका ७१ स्थानमा सीमा मिचेको विज्ञहरुले बताउँदै आएका छन् । सुस्ता र कालापानीमा लामो विवाद छ । भारतले चाह्यो भने यो विवाद एकैछिनमा समाधान हुन सक्छ ।
नेपालबाट आफ्नोमा गाभिएको भूमि फिर्ता गर्न भारतले उदारता देखायो भने दुई देशको किचलो सहजरुपमा समाधान हुनेछ र नेपालमा भारतको आलोचना कम हुनेछ । ठूलो देशले एक चोक्टो जमीनमा लोभ गर्ने संकीर्णता देखाउँदा यस्तो भइरहेको छ ।

६. माइक्रोम्यानेजमेन्ट रोक्ने, सूचना नचोर्ने : भारतले नेपालको आन्तरिक मामिलामा भूमिका खेल्ने गरेको छ । नेपालको संघीयता कस्तो हुनुपर्छ, धर्म निरपेक्ष हुनुपर्छ कि पर्दैन, शासकीय स्वरुप कस्तो हुनुपर्छ र सरकार कस्तो बनाउनुपर्छ लगायतका विषयमा भारतले खुल्दुली मच्चाउने गरेको छ । अख्तियार, टेलिकम र नापी विभागजस्ता निकायमा कसलाई ल्याउनुपर्छ भन्नेजस्ता विष्यमा पनि भारतले चासो राख्ने गरेको छ । अर्काको देशले जस्तो सरकार बनाए पनि माइक्रोम्यानेजमेन्ट गर्न खोज्ने भारतीय नीति जहिलेसम्म रहन्छ, त्यतिबेलासम्म नेपालमा भारतविरोधी भावना मौलाइरहने छ । भारतले ‘रअ’ मार्फत नेपालको सरकारी निकायबाट सूचना चोर्ने गरेको छ ।

७. पारवाहनलाई निर्वाध बनाउने : नेपालको पारवाहनमा भारतले अवरोध गर्ने गरेको छ । ०४५ सालताका भारतले लगाएको नाकाबन्दी नेपालीहरुले भुलेका छैनन् । अहिले पनि नेपाली वस्तुको निर्यातमा भारतीय अवरोध कायमै छ ।
नेपालसँग गरिएको व्यापार तथा पारवाहन सन्धी पनि नेपालको हित अनुकूल नभएकाले त्यसलाई सच्याइनुपर्छ । भारतले समुद्रसम्म पहुँच पाउने नेपालको अन्तरराष्ट्रिय अधिकारलाई सुनिश्चित गर्नुपर्छ ।

८. चोरी, डकैती हत्याजस्ता अपराध रोक्ने : भारतले नेपालसँग सुरक्षासम्बन्धी गुनासो गर्दै आएको छ । तर, भारतबाट नेपालको सुरक्षामा ठूलो चुनौती देखिने गरेको छ । भारतबाट काठमाडौंको केन्द्रीय कारागारमै छिरेर नेपालीमाथि गोली हान्ने काम भारतीय अपराधीबाट हुने गरेको छ ।
नेपालमा चोरी डकैती र हत्या गरेर भारतमा लुक्ने अपराधीहरुलाई भारतले अघोािषतरुमा संरक्षण दिँदै आएको आरोप लाग्ने गरेको छ । भारतले आफ्नो भूमि नेपालमा अपराध मच्चाउनेहरुको सेल्टर बन्ने छैन भन्ने प्रतिवद्धता व्यवहारबाटै देखाउन जरुरी छ ।

९. क्षेत्रीयतामा खेलवाड नगर्ने :’ विगतमा वीरगञ्जका वाणिज्यदूतले मधेसमा आगो बाल्नुपर्ने भाषण गरे । तराईमा रहेका सशस्त्र समूहलाई सहयोग गर्ने, विभिन्न जातीय र क्षेत्रीय समूहलाई पैसा दिएर उचाल्ने र नेपालको आन्तरिक मामिलामा गडबडी मच्चाउने काम भारतीय पक्षले पूर्णरुपमा रोक्न जरुरी छ । भारतले जहिलेसम्म नेपालमाथि खेल्न खोज्छ, त्यतिबेलासम्म दुई देशको सम्बन्ध राम्रो हुँदैन ।

१०. आशंका नगर्ने, आरोप नलगाउने : भारतीयहरुले नेपालमाथि विभिन्न आरोप लगाउने गरेका छन् । जस्तो नेपालमा पाकिस्तानी आतंकवादीको चलखेल हुने गरेको, चिनियाँ गतिविधि बढेको, भारत विरोधी घटना हुने गरेको, नेपाल चीनतिर ढल्किएको जस्ता आरोपहरु भारतीयले लगाउने गरेका छन् । यस्ता आरोप र आशंकाबाट भारतीयहरु मुक्त हुन जरुरी छ । किनभने नेपालले सबै छिमेकीसँग समान सम्बन्ध राख्दै आएको छ ।

भारतीयहरुको चाहनाअनुसार चीनसँग टाढा हुनुपर्ने आग्रह नेपाललाई स्वीकार्य हुँदैन भन्ने उसले बुझ्नुपर्छ । मोदीले आफैं पाकिस्तानसँग सम्बन्ध विस्तार गरिरहेका बेला नेपाल र पाकिस्तानको मित्रतालाई लिएर उसले नेपाललाई अनावश्इक आरोप लगाउन जरुरी छैन । आफ्नो देशमा सुरक्षा मिलाउन नसक्ने र छिमेकीलाई आरोप लगाउने भारतीय नीतिका कारण दक्षिण एशियाका छिमेकीसँग सम्बन्ध बिगि्रएको उसले बुझ्नुपर्छ ।

११. विगतका प्रतिवद्धताको कार्यान्वयन : भारतले ५०/६० वर्ष पहिलेदेखि दिँखै आएका प्रतिवद्धता र आश्वासन अहिलेसम्म पूरा गरेको छैन । मात्रिकाप्रसाद कोइरालाका पालामा भएको कोशी सम्झौताका पीडितले क्षतिपूर्ति पाएका छैनन् । महाकालीको डीपीआर बनेको छैन । हुलाकी मार्गको बिजोग छ । रेल्वे लाइनको आश्वासन खोक्रो छ । भारत आश्वासनमात्रै दिन्छ, पूरा गर्दैन भन्ने नेपालमा स्थापित भइसकेको छ, जसलाई मोदी सरकारले तोड्न जरुरी छ ।
साथै भारतले नेपालमा गर्दै आएको सहयोग दूतावासमार्फत सीधै हैन, सरकारमार्फत् अन्तरराष्ट्रिय मान्यताका आधारमा गर्नुपर्छ । कुनै पनि नेपालीलाई भारतीय दूतावासमा विद्यालय र एम्बुलेन्सका लागि निवेदन हाल्न लगाइनुहुँदैन ।

१२.भुटानी शरणार्थी समस्या समाधान गर्ने :  नेपाली मूलका भूटानी शरणार्थीहरुको समस्याले नेपाल केही दशकसम्म आक्रान्त बन्यो । भलै अहिले धेरै शरणार्थीहरु तेस्रो देशमा प्रतिस्थापित भएका छन् । भारतले भुटानीलाई नेपाल छिर्न दियो तर र्फकन दिएन । उसको भूमिहुँदै उनीहरुलाई नेपाल छिर्न दिने यो नीतिका कारण नेपाल भारतवीच शंका उपशंका बढ्नु स्वाभाविकै थियो ।

दक्षिण एशियाका छिमेकीवीच सहकार्य गर्छु भन्ने सोचेका नरेन्द्र मोदीले यो विषयमा मौनता साँधेर क्षेत्रीय शान्ति अथवा न्याय हुन सक्दैन । नेपालीभाषी भएकै कारण भुटान सरकारले अन्याय गरेका लाखौं जनतालाई भुटानमा न्याय दिलाउन भारतले पहलकदमी लिन जरुरी छ । सांस्कृतिक सम्बन्ध र कल्चरल कूटनीतिको वकालत गर्ने मोदीले हिन्दुजातिमाथि भएको अन्यायबारे टुलुटुलु हेर्न मिल्दैन भन्ने प्रतिक्रिया मोदी भुटानमा पुगेका बेला भूटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले बताइसकेका छन् । रिजाल अहिले नेपालमै आश्रति छन् ।

के नरेन्द्र मोदीले यी १२ वटा विषयमा गम्भीरतापूर्वक विचार गर्लान् ? गरेनन् र उनले पनि नेपाल गरीब छ भन्दै केही भौतिक आश्वासनका पोका देखाए भने यसले नेपाल भारत सम्बन्धमा खासै सुधार ल्याउने देखिन्न । विकासको पण्डित्याइँले नेपाल भारत सम्बनध सुध्रिँदैन । किनभने नेपालीले गरीबी र स्वाभिमानमध्ये नेपालीले स्वाभिमानलाई रोज्दै आएका छन् । मानिसलाई चाहिने पहिलो कुरा स्वतन्त्रता र स्वाभिमान हो, भौतिक सम्पत्ति गौण हो भन्ने कुरा आध्यात्मिक हिन्दू नेता मोदीलाई शायदै सम्झाइरहनुपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment