+
+
Shares

उद्योगी- ब्यबसायीसँग मोदीको भेट, पूर्वाधारमा लगानी बढाउन जोड

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १९ गते १७:३३

modi-in-ca

१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । सोमबार निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग भएको भेटमा मोदीले पूर्वाधार निर्माणविना मुलुकको विकास हुन नसक्ने ठोकुवा गरेका हुन् ।

दक्षिण कोरियामा भएको विकासलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै मोदीले पूर्वाधारमा बढीभन्दा बढी लगानी गर्न व्यवसायीहरुलाई सुझाव दिएका छन् । ‘पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर दक्षिण कोरियाले छोटो अवधिमै विकासको फड्को मार्न सफल भयो’ उनले भने- ‘नेपालले पनि पूर्वाधार निर्माणमा जोड दिएर विकासको फड्को मारोस भन्ने चाहान्छु ।’

भारतले उपलब्ध गराउन लागेको दश हजार करोड रुपैयाँ सहुलियत ऋणलाई पूर्वाधार विकासमा खर्च गर्न आग्रह गरेको पशुपति मुरारकाले अनलाइनखबरलाई बताए । उनका अनुसार मोदीले आफ्नो सम्वोधनका क्रममा जलविद्युत, पूर्वाधार, ट्रान्समिसन लाइन निर्माणमा जोड दिन आग्रह गरेको छन् ।

मोदीले क्रस बोर्डर ट्रान्समिसन लाइन भएमा भारतले अहिले दिइरहेको बिजुलीलाई दोब्बर बनाउने आइतबार संसदलाई सम्बोधन गर्ने क्रममा बताएका थिए । उद्योगी व्यवसायीहरुले बिजुली दोब्बर नभई जति चाहिन्छ, त्यति दिनुपर्ने माग मोदीसमक्ष राखेका छन् ।

उद्योगी व्यवसायीहरु शहरमा मात्रै नभई गाउँ-गाउँसम्म हुने भएकाले उनीहरुलाई समेत विकास निर्माणका काममा समेट्न मोदीले सुझाव दिएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

दुई देशवीचको आर्थिक, व्यवसायीक तथा सरकारी सम्बन्ध विस्तार गर्न उद्योगी-व्यवसायी तथा सरकारी निकायका प्रतिनिधिहरु सम्पर्कमा रहिरहनु पर्नेमा मोदीले जोड दिएको बताइएको छ ।

भेटघाटमा १७ जना व्यवसायीहरुको सहभागिता रहेको बताइएकाे छ । भेटमा मोदीले नेपालको विकास हेर्न चाहेको बताउँदै भारत यसका लागि सहयोग गर्न हरदम तयार रहेको आश्वासन दिएका छन् ।

व्यवसायीहरुले नेपालमा औद्योगिक विकास गर्न निश्चित औद्योगिक कोरिडोरमा उत्पादित तथा निर्मित वस्तुहरुमा भारतले अन्तःशुल्क छुट दिएर प्रवेश दिनुपर्ने धारणा राखेको मुरारकाले जानकारी दिए । यसो भएमा भारतसँगको नेपालको बढ्दो व्यापार घाटा कम गर्न सघाउ पुग्ने व्यवसायीहरुले मोदीलाई अवगत गराएका छन् ।

आफुहरुले ठूला परियोजना निर्माणमा भारतले सहयोग गर्न पनि मोदीसमक्ष आग्रह गरेको मुरारकाको भनाइ थियो । क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणका लागि सहयोग गर्न नेपाली व्यवसायीहरुले मोदीलाई विशेष आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?