Comments Add Comment

बाबुराम पक्ष भन्छ- ‘यस्तो कारवाहीले रौं पनि हल्लिँदैन’

२० साउन, काठमाडौंं । स्थायी कमिटीले कारवाहीको घोषणा गरे पनि एकीकृत नेकपा माओवादीको बाबुराम भट्टराई पक्षले पार्टीभित्र आफ्नो वैचारिक अभियान जारी राख्ने जनाएको छ । सोमबार लाजिम्पाट बैठकले कारवाहीको घोषणा गरेपछि रुष्ट बनेको भट्टराई पक्षले त्यस्तो कारवाहीलाई ‘निरर्थक’ बताएको छ ।

baburam-bhattarai‘यस्तो कारवाहीले हाम्रो रौं पनि हल्लिँदैन, हामीलाई उनीहरु आफैं कमिटीमा राख्छन्, आफैं निकालेको घोषणा गर्छन्, यो पाराले पार्टी चल्दैन’ भट्टराई पक्षका एक नेताले अनलाइनखबरसँग भने – ‘पार्टी नै विघटन भइसकेको छ, केको कारवाही ? पार्टी रुपान्तरणको उपाय खोज्न समिति गठन गरेको अवस्थामा गरिएको यस्तो कारवाहीको अर्थ छैन भन्ने हाम्रो निश्कर्ष छ ।’

एमाओवादी स्याथी समितिको बैठकले समानान्तर कमिटी बनाएको भन्दै केन्द्रीय सदसय रामरिझन यादव र गंगानारायण श्रेष्ठलाई क्रमशः एक महिना र तीन महिना निलम्बनको कारवाही गरेपछि एमाओवादीको आन्तरिक विवाद चुलिएको छ । तीनवटा बैठकमा अनुपस्थित भएमा कमिटीबाट स्वतः हट्ने विधानमा प्रावधान रहेको भन्दै स्थायी कमिटी बैठकले डा. भट्टराईलाई बैठकमा आउन सचेत गराएको छ । त्यसैगरी बैठकमा नआए सचिव टोपबहादुर रायमाझी र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पनि पदबाट हट्ने बताइएको छ ।

आफैं कमिटीमा राखेका हुन् : भट्टराई पक्ष

तर, भट्टराई पक्षका नेताहरुले भने पार्टी सचिव वा स्थायी कमिटीमा आफूहरु नरहेको र प्रचण्डपक्षले आफैं राखेको बताएका छन् । ‘बिराटनगरबाटै हामी हिँडिसकेका हौं, हामीले भनेर कमिटीमा राखिएको हैन, त्यसैले राख्नु र हटाउनुको कुनै औचित्य छैन’, भट्टराई पक्षका एक नेताले अनलाइनखबरसँग भने ।

असन्तुष्ट पक्षका नेताले थपे- ‘विवाद समाधानका लागि संयुक्त कार्यदल बनेका बेला कसले कसलाई कारवाही गर्ने ? कारवाही गरिन्छ भन्दै प्रवक्ता बनेका गोपाल किरातीलाई कसले कारवाही गर्छ ? पार्टी नै देशैभरि विगठन हुन लागेको छ, यस्तो बेलामा प्रशासनिक एवं सैन्यवादी तरिकाले समस्या समाधान हुँदैन ।’

प्रचण्ड पक्षले भने बाबुराम समूहले देशव्यापी समानान्तर कमिटी बनाउँदै हिँडेको र नयाँ शक्तिका नाममा पार्टी फुटाउने तयारी गरिरहेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment