२१ साउन काठमाडौं । हाउजिङ तथा अपार्टमेन्टबाट सर्वसाधारण ठगिएको गुनासो बढेपछि सरकारले दुई हप्ताअघि गठन गरेको जाँचबुझ आयोगमा ६ सय ५० जना पीडितले उजुरी दिएका छन् ।
आयोगका संयोजक कुमार लोहनीले हालसम्म ६ सय ५० उजुरी परेको अनलाइनखबरलाई जानकारी दिए । ‘उजुरी पर्नेक्रम जारी छ’ उनले भने ।
शहरी विकास मन्त्रालय, समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोग र अख्तियारलगायतमा गरी यसअघि नै घरजग्गासँग सम्बन्धित करिब सयवटा उजुरीहरु परिसकेका छन् ।
जाँचबुझ आयोगमा घरजग्गा व्यवसायी सुधीर बस्नेत र राजेन्द्र शाक्यसँग सम्बन्धित उजुरी अत्यधीक आएको लोहनीले बताए । गौरीबहादुर कार्की नेतृत्वको समस्याग्रस्त सहकारी सम्बन्धी आयोगमा पनि बस्नेत र शाक्यविरुद्ध नै बढी उजुरीहरु परेका छन् ।
लोहनीका अनुसार समयमै हस्तान्तरण नगरेको, ढल प्रसोधन नगरेको, बढी मुल्य लिएको लगायत भन्दै सर्वसाधारणले उजुरी दिएका छन् । उजुरी संकलनसँगै आयोगले सरोकारवालालाई बोलाएर छलफल गरी समस्याको समाधान खोज्नेछ ।
‘पहिलो चरणमा उजुरी संकलन मात्रै गरिरहेका छौं’ लोहनीले भने -केही दिनपछि सरोकारवाला पक्षलाई बोलाएर छलफल गराउँछौं ।
कति रकम बराबरको माग दाबी गर्दै उजुरी परेको विषयमा भने यकिन भइनसकेको लोहनीले बताए । ‘कार्यालय नै राखेर काम सुरु गरेको ५ दिन मात्रै भयो, त्यसैले मागदाबीको विषयमा अध्ययन गरिसकेका छैनौं’ उनले भने ।
तीन महिनाका लागि गठन गरिएको अधिकारसम्पन्न आयोगमा वालकृष्ण श्रेष्ठ र हेमन्त ज्ञावाली सदस्य रहेका छन् । घरजग्गा क्षेत्रमा ४/५ अर्ब रुपैयाँ बराबरको ठगीधन्दा भएको दाबी गरिएको छ ।
प्रतिक्रिया 4