Comments Add Comment

नागार्जुन पठाउनु पूर्वराजालाई सम्मान हो : रुकमाङ्गद कटवाल

गणतन्त्र घोषणाको दिन । अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र अन्त्य हुने प्रावधान पहिल्यै राखिएको थियो । माओवादीले नानाथरि उत्ताउला र उग्र कुरा ल्याइरहेका थिए । कुलबहादुर पनि मलाई सुनाइरहन्थे- माओवादीले दरबारमै छिरेर राजालाई घोक्रयाउँछन्, हजुरलाई गाह्रो पर्ने भयो ।

माओवादीले गणतन्त्रको नाममा २०६५ जेठ १५ गते दरबारभित्रै पसेर परेड खेल्ने दाउ गरेको थियो । ‘दरबारमा माओवादी मार्चपास, म कुनै हालतमा हेर्न सक्दिनँ,’ मैले आदेश दिएँ, ‘कोही जबर्जस्ती नारायणहिटीको गेटबाट पस्न खोज्यो वा पर्खाल चढ्यो भने .. ।’rukmangat-katuwal-

संविधानसभाले गणतन्त्रको औपचारिक घोषणा गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङसहितको टोली नारायणहिटी आएर समारोह गर्ने कार्यक्रम बनेको थियो । दुई/चार दिनदेखि केही माओवादी कार्यकर्ता निकै उत्ताउला बनिरहेका थिए । अरू पार्टीका अपरिपक्व नेता-कार्यकर्ता पनि धेरै चुमुकचुमुक भइरहेका थिए ।

बिएकुमार (कानुन हेर्ने जर्नेल) लाई सभामुखसँग भेट्न पठाएँ । सहपाठी नेम्वाङसँग प्रस्ट कुरा राख्न सजिलो हुने ठानेर बिएलाई पठाएको थिएँ ।  डयुटी लिएको ठाउँमा नेपाली सेनाका सिपाही राइफल फालेर भाग्दैन भन्ने सन्देश मैले माओवादीकहाँ पनि पुर्‍याएँ । तैपनि माओवादी विद्यार्थी, मजदुर, युवा लगायतका संगठन ‘दरबारभित्र पस्ने, ज्ञानेन्द्रलाई घोक्रेठ्याक लगाउने’ भनिरहेका थिए । उनीहरूजत्तिकै क्रान्तिकारी देखिन कांग्रेस, एमालेका केही युवा पनि यस्तै लहैलहैमा लागेका थिए ।

विभिन्न स्रोतबाट पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, नीलाम्बर आचार्य लगायतलाई सन्देश पठाएँ । ‘संसदले गरेको वैधानिक निर्णय सेनापति र सेनाले शिरोपर गर्छ,’ मैले उहाँहरूलाई भनेँ, ‘माओवादीको हुल अराजक भएर नारायणहिटी आयो भने सिपाहीले आˆनो डयुटी गर्छ, टुलुटुलु हेरेर बस्दैन ।’ मैले गिरिजाबाबुलाई पनि यो अवस्थाको जानकारी गराएँ । हामीले जेठ १४ देखि नै दरबार वरिपरि क्यामरा, बख्तरबन्द गाडी लगायत सुरक्षा उपकरण तैनाथ गर्‍यौं ।

राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर नागार्जुन जंगलमा सर्ने दिन आयो । मलाई व्यक्तिगत रूपमा ज्यादै सकस भइरहेको थियो । आफैंले गाडी हाकेर राजा-रानी बिदा भए । गाडीबाट हात हल्लाउँदै हाँसी-हाँसी गए । राजगद्दी त्याग्नुपर्दा राजा अलिकति पनि हतासिएको देखिएन । शाह वंशको इतिहास मेटियो, नेपालको इतिहास फेरियो । राजाको मुहारमा कुनै दुःख, पीडा, वियोग, बैराग झल्केन ।

राजाको आत्मविश्वास देखेर म कायल भएँ । नागार्जुन दरबार पठाउनु पनि राज्यका तर्फबाट पूर्वराजालाई सम्मान हो । त्यसका लागि ठूलै लडाइँ लड्नुपरेको थियो । गणतन्त्र कार्यान्वयनमा काम गरिरहेको गृह मन्त्रालयको दाउ राजा-रानीलाई निर्मल निवास पठाउने थियो ।

प्रधानमन्त्रीलाई मैले भेटेरै भनेको थिएँ, ‘निर्मल निवास कुनै हालतमा हुँदैन ।’ यस विषयमा प्रधानमन्त्रीसँग मेरो निकै गर्मागर्मी भयो । लामो विवादपछि पूर्वराजाको हैसियतले नागार्जुन उपलब्ध गराउन सरकार राजी भएको हो । नारायणहिटी दरबारबाट मुमा बडामहारानी रत्न र त्रिभुवनकी भित्रिनी सरलादेवी मानन्धरलाई पनि निकाल्ने निर्णय भएको थियो । रत्न सरकार ‘महेन्द्र मञ्जिल’ मा बस्नुहुन्थ्यो । सरलादेवीको अलग्गै निवास छ भन्ने थाहा थियो । दुवै असी नाघिसकेका । पूर्वरानी भन्ने बिर्सिए पनि दुवै वरिष्ठ नागरिक । एडिसीबाट मैले पाएको जानकारीअनुसार मुमा बडामहारानी सरकारको ‘महेन्द्र मञ्जिल’ सँग भावनात्मक सम्बन्ध थियो । महेन्द्रसँगको सम्झना त्यो दरबारसँग जोडिएको रहेछ ।

विश्वेश्वरप्रसाद कोइरालाले नै लेख्नुभएको छ- त्रिभुवनको इच्छाविपरीत युवराजाधिराज महेन्द्रले रत्नलाई बिहे गरे । त्यसपछि नै ‘महेन्द्र मञ्जिल’ बनेको हो । मैले सुनेअनुसार दरबार परिसरमै भए पनि सबै खर्च रत्नका बुवा हरिशमशेरले बेहोरेका हुन् । एकथरी गणतन्त्रवादी बल प्रयोग गरेरै पनि दुबैलाई निकाल्ने पक्षमा थिए । यस्तो ‘अति’ गर्ने प्रवृत्ति नेता, मन्त्रीभन्दा कर्मचारीमा देखिँदोरहेेछ । त्यही कारण भारतमा ब्युरोक्रेसीको उल्था गर्दा ‘नोकरशाही’ भनिएको होला ! दुबै वृद्वालाई ननिकाले गणतन्त्र अधुरो हुन्छ भनेर उत्ताउलो हुनेमा मुख्यसचिव, केही सचिव रहेको सुनेँ ।

(पूर्वप्रधानसेनापति कटवालको प्रकाशोन्मुख आत्मकथाबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment