+
+

नेपाली सेनाले बनायो ‘नेप्लिज आर्मी डक्ट्रिन’

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २८ गते १९:१७

Nepal-army

२८ साउन, काठमाडौं । नेपाली सेनाले ‘नेप्लिज आर्मी डक्ट्रिन’ (नेपाली सेनाको मूल ग्रन्थ) तयार पारेको छ ।

नागरिकमा सार्वजनिक नगर्ने गरी आन्तरिक प्रयोजनका लागि तयार पारिएको मूलग्रन्थको विमोचन बुधबार जंगी अड्डामा एक कार्यक्रमवीच प्रधानसेनापति गौरबसमशेर राणाले गरे ।

नेपाली सेनालाई राष्ट्रिय सुरक्षा परिवेश अनुकुल समयसापेक्ष बनाउँदै लैजाने उद्देश्यका साथ प्रधानसेनापतिको कमाण्ड मार्गनिर्देशन अनुसार डक्टि्रन तयार पारिएको सेनाले जनाएको छ ।

मूलग्रन्थमा सेनाको जिम्मेवारी तथा भूमिका, युद्धदर्शन, सिद्धान्त एवम् अवधारणासहित १२ भाग रहेका छन् । जसभित्र सैनिक ईन्टेलिजेन्स, तालिम, प्रतिविद्रोह, विश्व शान्ति स्थापना कार्य, प्रकृति संरक्षण, विपद् जोखिम व्यवस्थापन, राष्ट्र निर्माण तथा विकास, नेतृत्व, सैनिक हवाइ सेवा, कल्याणकारी तथा लजिष्टिकजस्ता विषय समेटिएका छन् ।

नेपालको अन्तरिम संविधान २०६३, राज्यका निर्देशक सिद्धान्त, नीति तथा राष्ट्रिय मान्यताहरु, सैनिक ऐन, विगतका अनुभवहरु, सर्वमान्य सिद्धान्त एवं अवधारणाहरु, नेपाली सेनाले व्यवहारमा लागू गर्दै आएका सिद्धान्तहरु लगायत प्रधानसेनापतिको मार्गनिर्देशनमा आधारित भई मूलग्रन्थ तयार गरिएको जंगी अड्डाले जनाएको छ ।

नेपाली सेनाले आवश्यक गृहकार्य एवम् बृहत छलफल तथा राष्ट्रिय सुरक्षा मामिला विज्ञ एवम् रक्षा मन्त्रालयका पदाधिकारीहरु समेतबाट प्राप्त सुझावहरुलाई समावेश गरी ग्रन्थ तयार पारेको बताइएको छ ।

यो ग्रन्थ राष्ट्रिय हित एवम् सुरक्षा जस्तो गहन विषयलाई परिभाषित गर्दै भविष्यमा नेपाल सरकारले निर्माण गर्ने ‘बृहत् राष्ट्रिय सुरक्षा नीति’का लागिसमेत सहयोगी सामाग्री बन्ने सेनाले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?