+
+

विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ६२ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १९:२२

९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ ।

अख्तियारले पौडेलले पत्नी एलिना बस्नेतको नाममा समेत सिंगापुर र अमेरिकामा रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । आपूर्तिकर्ताबाट कमिसन लिएको देखिएको, त्यो रकम विभिन्न व्यक्तिको नाममा परिचालन भएको अख्तियारको दाबी छ ।

अख्तियारले नेपालबाहेक सिंगापुरको युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकाको खातामा जम्मा भएको पौडेलको रकम पनि भ्रष्टाचारबाट आर्जित भएको दाबी गरेको छ । पौडेलले करिव ५ वर्ष सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका थिए । त्यसअघि उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इञ्जिनियरको रुपमा कार्यरत थिए ।

सुरक्षण मुद्रण केन्द्रले ठेक्का सम्झौता गरेका विभिन्न कम्पनीहरुसँग कारोबारमा संलग्न विदेशी कम्पनीहरुसँग पौडेलले घुस लिएको अख्तियारको आरोप छ । अख्तियारले सिंगापुरमा मात्रै विकल पौडेलको नाममा २८ करोड ९५ लाख रुपैयाँ संकलन भएको दावी गरेको छ ।

त्यतिबेला उनी सिंगापुरको बैंकोटेक र इन्स्टासेफ नामक कम्पनीमा परामर्शदाताको रुपमा नियुक्ति लिएको कागजात तयार पारेका थिए ।

उनले ताहिर साह, अकबर हुसेन, मनोज कार्की र ऋचा खनालको नाममा मात्रै २ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको भेटिएको छ । उनले प्रसान्थ जी नामक ब्यक्तिसँगको डिल गरी २ करोड १४ लाख डलर अमेरिकाको बैंकमा लुकाएको अख्तियारको दावी छ । उनले अमेरिकामा मात्रै १३ करोड लुकाएको अख्तियारको दाबी छ ।

उनले बाबुआमासँग अंशवण्डा गरेको देखाइ परिवारका सदस्यहरुसँग महांकाल, छालिङ लगायतका ठाउँमा जग्गा किनेको अख्तियारको आरोप छ । उनले श्रीमती एलिना बस्नेतको नाममा अमेरिकाको न्यूयोर्कमा ५ लाख १५ हजार डलरमा घर खरिद गरेका थिए ।

अख्तियारले विकल पौडेलका साथै उनकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शितल पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ । विदेशी बैंकमा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।

विकल पौडेलमाथि अनुसन्धान हँुदा उनले ६२ करोड १९ लाख भ्रष्टाचार गरेको खुलेको, तर खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको भन्दै उसले लुकाइएको १७ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न माग गरेको हो ।

मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो ।

विकल पौडेलविरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको आरोपमा एउटा मुद्दा चलाएको छ ।

सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा केही साताअघि तेस्रो मुद्दा दायर भएको थियो । अख्तियारले उनीमाथिको गैरकानुनी सम्पत्तिआर्जनको अनुसन्धान पनि अन्तिम चरणमा पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?