+
+
Shares

डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १३:३६
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उदयपुरको डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत भुवन पौडेललाई १६ हजार २५० रुपैयाँसहित पक्राउ गरेको छ।
  • पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज गराइदिने भन्दै रकम मागेको र लिएको आरोप लागेको छ।
  • प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पक्राउबारे जानकारी आएको बताउँदै थप विवरण अनुसन्धानपछि खुल्ने बताए।

४ भदौ, उदयपुर । डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत एक जना वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले डिभिजन वन कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले बिहीबार दिउँसो कार्यालय परिसरमै निगरानी बढाउने क्रममा पौडेललाई नियन्त्रणमा लिएको हो। पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै रकम मागेको र सोही क्रममा रकम लिएको आरोप छ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले वन अधिकृत पौडेललाई अख्तियारको टोलीले नगदसहित पक्राउ गरेको जानकारी आफूलाई प्राप्त भएको बताए। ‘अख्तियारको टोलीले उहाँलाई नगदसहित पक्राउ गरेको जानकारी आएको छ। पक्राउसम्बन्धी थप विवरण अनुसन्धानपछि नै खुल्नेछ,’ उनले भने।

अख्तियारको टोलीले घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका पौडेलमाथि लागेको आरोपको कानुनी पुष्टि अनुसन्धान र त्यसपछिको प्रक्रियाबाट हुने अख्तियारले जनाएको छ।

पौडेलको उदयपुरमा करिब १४ महिनाअघि पहिलो पदस्थापन भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?