Comments Add Comment

सोह्र सन्तानकी आमा बुढेसकालमा एक्लै !

२९ साउन, कालीकोट । सोह्र सन्तानलाई जन्म दिएकी कालीकोटकी एक वृद्धालाई बुढेसकालमा एक्लै बस्नुपर्ने बाध्यता आइलागेको छ । विसं २०११ पुस १५ गते राम्नाकोट-२ बाँझकोटमा जन्मिएर वडा नं ७ खार्दुमा विवाह गरेकी धनपुरा विकको गाउँघरको चलनअनुसार ११ वर्षको उमेरमा पुरातन परम्पराअनुसार माइती र पोइली पक्षको मिलेमतोमा जबर्जस्ती विवाह गरिदिएको थियो । विवाह बन्धनमा बाँधिएपछि उनले १३ वर्षको उमेरमा पहिलो छोरीको जन्म दिएकी थिइन् ।

अन्य सन्तान छोराछोरी जन्मिने र मर्ने गरेकाले सातौँ सन्तानमा छोरा जन्मेपछि पनि एक छोरा बाँच्छ या बाँच्दैन भन्ने निश्चित नभएकाले श्रीमान् विक्रमे विकसँगको आपसी सल्लाहमा अरू सन्तानको जन्म दिँदै गरेको उनको भनाइ छ । उहाँका अनुसार छोराको आशमा मात्र १६ सन्तान जन्माएको उनको तर्क छ ।

उनले भनेे, “त्यतिबेला जसका चार छोरा र ४०/५० वटा बाख्रा अनि गाईभैँसी छन्, उही नै गाउँको जान्ने मान्नेमा गणना हुने जमाना थियो ।” १६ सन्तान जन्मिए पनि उहाँसँग अहिले एक छोरा र चार छोरीमात्र छन् ।उनले भने-जन्मिएका आठ छोरा र तीन छोरीको मृत्यु भयो । त्यति सन्तान जन्मिए पनि दुई छोरीको विवाह भयो र दुई छोरी आˆनो साथ रहेका छन् । एक छोराले विवाह गरेर दुई नाति जन्मिए पनि दोस्रो विवाह गरी माइती घरमा बस्दै आएका कारण अहिले म दुई छोरीको सहारामा बाँचिरहेकी छु ।”

दुई नाति र पहिलो बुहारी आफूसँग भए पनि काममा सहयोग नहुने भएका कारण बुहारी भएको र नभएकामा एउटै महसुस धनपुरालाई भएको छ । दुई नातिको मुख हेरेरमात्र चित्त बुझाइ बस्नुपरेको उनको भनाइ छ ।छ वर्षअघि श्रीमान्को मृत्यु भएको बताउने धनपुराले ५० वर्षको उमेरमा घरमा बस्ने बेलामा युवा अवस्थामा झैँ काम गर्नुपरेको दुःखेसो पोखे । ५० वर्षको बूढो उमेर भए पनि ४० केजीभन्दा बढीको भारी बोक्न सक्ने उनले बताए ।

यसअघि छोराको आशमा फुकोटकी लालपुरा विकले ११ सन्तानको जन्म दिनुभएको थियो । कालीकोटका ग्रामीण क्षेत्रमा २० सन्तानसम्म जन्म दिएकी आइमाई अहिलेसम्म जीवित रहेको बताइन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment