Comments Add Comment

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ८५ पुग्यो

Badhi

३१ साउन, काठमाडौं । बाढी र पहिरोमा परी तीन दिनमा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । हजारौं मानिस घरबारविहीन बनेका छन् । कैयौं हराइरहेका छन् । तर, काठमाडौंमा रहेका मन्त्रीहरु भने अहिलेसम्म बाढीपीडित क्षेत्रका जनतासम्म पुग्न सकेका छैनन् ।

शनिबार थप २१ शव भेटिए

सुर्खेत, बर्दिया, दाङ र बाँकेमा गरी शुक्रबार मात्रै २१ जनाको शव भेटिएको छ । विभिन्न स्थानमा गरी अझै ११३ जना हराइरहेको गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय आपत्तकालीन कार्यसंचालन केन्द्रका प्रमुख झंक ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

बाढी तथा पहिरोमा परी घाइते भएका मध्ये जाजरकोटका ११ जनालाई हेलिकोप्टरबाट सुर्खेत ल्याइएको छ । गोरखामा पहिरोमा परी घाइते भएका २ जनालाई उद्धार गरी चितवन भरतपुर ल्याइएको छ । गृह मन्त्रालयका अनुसार ४२९ घरमा क्षति पुगेको छ । ५२ सय २० घर डुवानमा परेको छ । 

यो पनि पढ्नुस् : भारतले बाढीपीडितलाई सहयोग गर्ने, हेलीकोप्टर र विमान तयारी अवस्थामा

नेपाली सेनाका तीन हेलिकोप्टरबाट बाढीमा फसेकाहरुको उद्धार सुरु गरिएको छ । तर, अहिले पनि सयौं मानिस उद्धार तथा राहतको पर्खाइमा छ । स्थानीय प्रशासनले केही स्थानमा चाउचाउ, चिउरा र पानी पुर्‍याइए पनि धेरै बाढीपीडित भोकभोकै बस्न बाध्य छन् ।

बर्दियामा ९ र दाङमा ७ को शव भेटियो

शनिबार बर्दियामा ९ जनाको शव भेटिएको छ । योसँगै बर्दियामा मृतकको संख्या १५ पुगेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट झण्डै पाँचको उद्धार गरेको छ ।

वगनाहा ईलाकामा अलपत्र परेका करिव २०० जनालाई नेपाली सेनाको एम.आई. १७ हेलिकप्टरले उद्धार गरी सुरक्षित स्थानतर्फ ल्याइएको छ । पदमपुर ईलाकाबाट ३५ जना, कृष्णसारबाट २८० जना र बानियाभारबाट ३ जनालाई उद्धार गरी गुलरिया ल्याएको छ ।

तर, बबई र कर्णाली नदीमा आएको बाढीका कारण बर्दियामा सयौं घर डुवानमा परेको छ । ‘कुनै न कुनै रुपमा नगरपालिकासहित सबै गाविस प्रभावित छ’ प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले अनलाइनखबरसँग भने-‘हजारौं घर डुवानमा परेका छन् ।’ बाढी पसेर कति घर भत्किएका छन् र भौतिक क्षतिको कुनै मूल्यांकन हुन सकेको छैन ।

यस्तै दाङमा थप ७ जनाको शव भेटिएको छ । शुक्रबार बबईमा आएको बाढी तथा लगातारको वषर्ाले घर भत्कीएर ६ जनाको मृत्यु भएको थियो । लालमिटया इलाका तथा अन्य विभिन्न स्थानहरुमा डुवानमा परेकाहरुको उद्धार गरिएको छ , नेपाली सेनाको सुपरपुमा हेलिकप्टरद्वारा डुवान इलाकामा रहेका व्यक्तिहरुको सामानहरु सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ ।

सुर्खेतको क्षति थाहा छैन

सुर्खेतमा थप ३ जनाको शव भेटिएको छ । शुक्रबार २१ को मृत्यु भएको थियो । अझै १०० बढी मानिस हराइरहेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले अनलाइनखबरलाई बताए । ‘हेलिकोप्टर चार बजेमात्र आएकाले कहाँ कति क्षती भएको विस्तृतमा हेर्न पाइएको छैन’ उनले भने-‘सानो हेलिकोप्टरले नजिकका क्षेत्रबाट तीनपटक र ठूलाले एकपटक बाढीमा फसेकाहरुलाई उद्धार गरेको छ ।’ 

साताखानी गाविसमा पहिरो गई १४ घर बगाएको छ । छिन्चुमा पहिरोले राजमार्ग अवरुद्ध भएको छ । सडक सुचारु गर्न पहिरो हटाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । लाटिकोइली र ईत्राममा डुवानमा परेकाहरुको रवरबोटको सहयोगमा उद्धार गरिएको छ ।

बाँकेमा मृतकको संख्या चार पुग्यो

बाँकेमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । शुक्रबार बाढीमा परेर बेपत्ता भएका थप दुई जनाको शव शनिबार भेटिएको हो ।

कोहलपुरको किरन नालामा डुबेर हराएका ११ वर्षका विशाल अधिकारी र होलिया-९ सन्तलियाका ३३ वर्षका ननमुन शेषको सुतैया नालामा डुबेको अवस्थामा शव भेटिएको छ । ४ जना अझै बेपत्ता नै रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले जानकारी दिए । नेपालगञ्ज नगर जलमग्न भएको छ । शम्शेरगन्जको पुरुवा खोलामा आएको बाढीले पूर्व-पश्चिम राजमार्गको कोहलपुर कुसुम सडक खण्डको करिव २५ मिटर लामो बाटो बगाएको छ ।

शीतलनिवासदेखि सिंहदरबारसम्म हाइसञ्चो

राष्ट्रपति कार्यालयको वेबसाइटमा साउन १९ गते शीतलनिवासमा भएको दिवाभोज बाहेक अर्को विज्ञप्ति छैन । आफ्नो पेट दुख्दा जापानमा ६० लाख खर्च गर्ने नेपालका राष्ट्राध्यक्षले ८५ जनाको मृत्यु हुनेगरी सिंगै देश डुब्दासमेत काठमाडौं छाडेर बाहिर निस्कन त के, आधा पृष्ठको वक्तव्यसम्म निकालेर पीडित जनताप्रति सहानुभूति जनाउन आवश्यक ठानेका छैनन् ।

प्रधानमन्त्री सुशील कोइराला बिरामी छन् भन्ने समाचार आउँदा पत्रकारमाथि नै उनी विषवमन गर्न सक्छन् । तर, उनी हेलिकोप्टर चढेर आफ्नै गृहजिल्ला बाँकेसम्म पुग्न सकेका छैनन् । यद्यपि बिरामी प्रधानमन्त्रीले राजधानीमा निगरानी कक्ष खोलेर केही गर्ने प्रयास गरिरहेका छन् ।

गहृमन्त्री वामदेव गौतम शनिबार हेलीकोप्टर लिएर आफ्नो गृहजिल्ला बर्दिया लगायत सुर्खेत, बाँके आदि जिल्लाहरुमा जाने चर्चा चले पनि उनी घटनास्थलतिर जानुको साटो सहकारीको कार्यक्रममा अतिथि बन्नतिर लागे ।

यद्यपि गृहमन्त्रीले केहीबेर मन्त्रालयका अधिकारीहरुलाई प्रभावकारीरुपमा उद्धारमा लाग्न अह्राएको दाबी अधिकारीहरुले गरेका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सिंचाई मन्त्री एन. पी साउद र पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणी पोख्रेलले भने राजविराज पुगेका छन् । पूर्वी र मध्य क्षेत्रको बाढी निरिक्षण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment