Comments Add Comment

एमाले पोलिटव्यूरो र स्थायी समितिमा भागबण्डाको तयारी

१ भदौ,काठमाडौं । पाँच दिनसम्म छलफल गरेर ५७ जना केन्द्रीय सदस्यले बोल्दा पनि पोलिटव्यूरो सदस्यको मापदण्डमा सहमति नभएपछि एमालेभित्र नयाँ ढंगबाट छलफल शुरु भएको छ । केन्द्रीय कमिटी बैठक एजेण्डा अनुसार निर्णयनै नगरि टुंगिएपछि पोलिटव्यूरो र स्थायी समितिमा प्रतिशतका आधारमा भागबण्डा गर्ने सम्भावना बढेको छ ।

CPN_UML_officeएमाले स्रोतका अनुसार अध्यक्ष केपी ओली बहुमतको आडमा पेलेर जाने भन्दा पनि आफ्नो बहुमत सबै कमिटीमा कायम हुने गरि सहमति कायम गर्ने पक्षमा छन् । त्यसैले उनले केन्द्रीय कमिटी बैठक टुंग्याएर पदाधिकारी सहित माधव नेपाल लगायत शीर्ष नेताहरुसँग सहमतिको पहल थालेका छन् ।

अब पोलिटव्यूरो सदस्य बनाउनुपर्ने नेताहरुको नाम लिष्ट तयार पारिनेछ । जसमा नयाँ, पूराना सबैलाई मिलाइनेछ । पोलिटव्यूरो ५७ देखि ६३ सदस्यीयसम्म बनाउने र त्यसको एक तिहाइ १९ देखि २१ जनासम्मको स्थायी समिति गठन गरिनेछ । ‘पोलिटव्यूरोमा लैजाने नेताहरुको नाममा सहमति भएपछि मात्र ती मध्येबाट भागबण्डा हुनसक्छ’ एक पदाधिकारीले भने ।

दुवै पक्ष सहमत
१ सय ६१ सदस्यीय केन्द्रीय कमिटीमा ओली पक्ष ५५ प्रतिशत र नेपाल पक्ष ४५ प्रतिशतको शक्ति सन्तुलनमा छन् । पोलिटव्यूरो र स्थायी कमिटीमा पनि त्यसैगरि दुवै पक्षका योग्यतम नेताहरुलाई राखेर गए अध्यक्षलाई पनि सजिलो हुने र अर्को पक्षले पनि सहयोग गर्ने वातावरण बन्ने नेपाल माधव नेपाल पक्षधर केन्द्रीय सदस्य राजेन्द्र राईले बताए ।

ओली पक्षधर केन्द्रीय सदस्य खिमलाल भट्टराई पनि पहिले पोलिटव्यूरोमा जाने व्यक्तिको नाममा सहमति भएपछि मापदण्डमा बिबाद नहुने बताउछन् । ‘केन्द्रीय सदस्य भएपछि पोलिटव्यूरो सदस्यको योग्यता पुग्छ तर त्यसअघि दुवै पक्षका नेताहरु बसेर नाममा सहमति जुटाउने हो भने अरु कुरा मिल्छ’ भट्टराईले भने ।

स्रोतका अनुसार अध्यक्ष ओली र महासचिव इश्वर पोखरेलले अब सबै नेताहरुसँग सल्लाह गरेर पोलिटव्यूरो सदस्यको लिष्ट बनाउनेछन् । त्यसमा नेपाल र झलनाथ खनालसँग पनि नाम मागिनेछ । ‘सहमति हुदा बिधानको मापदण्ड आफैं मिल्छ, नहुदा पदाधिकारीले पनि स्थायी समिति सदस्य स्वतः हुन नपाउने चुनावै लड्नुपर्ने कुरा आउछ’ भट्टराईले भने ।

कांग्रेसमा जस्तो घोषित रुपमा प्रतिशतको भागबण्डा नगरे पनि केन्द्रीय कमिटीमा जसको जति प्रतिशत छ त्यहि आधारमा पोलिटव्यूरोमा मिलाएर चयन गर्ने मध्यमार्गी बाटोमा सहमति हुने सम्भावना रहेका नेताहरुले बताए । असोज १० गते केन्द्रीय कमिटीको तेस्रो बैठकअघिनै यसको सबै टुंगो लागि सक्ने महासचिव पोखरेलले बताए ।

स्थायी समितिमा को को ?

स्थायी समितिमा पदाधिकारी स्वतः हुँदा १५ जना अहिलेनै छन् । माधव नेपाललाई तेस्रो बरियता सहित स्थायी समितिमा ल्याउन ओली तयार छन् । ओलीले उपमहासचिवमा पराजित शंकर पोखरेल, दलितबाट छबिलाल विश्वकर्मालाई स्थायी समितिमा ल्याउन चाहेका छन् ।

नेपाल खनाल पक्षले सुरेन्द्र पाण्डेको नाममा अडान लिएको छ । पाण्डेलाई स्थायी समितिमा ल्याएको खण्डमा प्रदीप नेपाल, मुकुन्द न्यौपानेलाई छुटाउन ओली चाहदैनन् । मधेशीबाट एकजना स्थायी समितिमा ल्याउने अवस्थामा नेपाल पक्षको कोटाबाट लालबाबु पण्डित आउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment