Comments Add Comment

एडीबीसँग उच्च आशा राखेको छु : प्रधानमन्त्री

१ भदौ, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले एशियाली विकास बैक एडीबीसँग आफूले उच्च अपेक्षा राखेको बताएका छन् । नेपाल भ्रमणमा रहेका एडीबी उपाध्यक्ष वेन्काइ झाङ्गसहितको टोलीले आइतबार अपरान्ह प्रधानमन्त्री कोइरालालाई भेटेको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गर्दै संविधान निर्माणमा लागेको बताए । नयाँ संविधान बनेपछि विकासमा समर्पित हुन सकिने भन्दै कोइरालाले भने-‘नेपालले १० बर्षमा विकासमा फड्को हान्न सक्दछ । हाम्रो विकास प्रयासमा सबै साझेदारको सहयोग चाहिन्छ । हामीलाई तपाईहरुको सहयोग चाहिएको छ । एशियाली विकास बैकप्रति मेरो उच्च आशा रहेको छ ।’

प्रकृतिले दिएका स्रोतहरुको सदुपयोग गर्न नसकिएको कोइरालाले बताए । शान्ति र स्थायित्व कायम भएमा विदेशी लगानी पनि आउनेमा आफू शतप्रतिशत विश्वस्त रहेको उनले बताए ।

मुलुकमा शान्ति र स्थिरता कायम भएमा जलविद्युतको उत्पादन, पर्यटन विकास, जडिबुटीको उत्पादन प्रशोधन निर्यात र कृषि क्षेत्रको आधुनिक र व्यवसायिक विकासबाटै नेपालको कायापलट गर्न सकिने प्रधानमन्त्रीको विश्वास थियो ।

भेटघाटका अवसरमा एडीबीका उपाध्यक्ष झाङ्गले बैकले सन २०१३ देखि २०१७ सम्मका लागि डेढ अर्व डलर सहयोग गर्ने जानकारी दिए । नेपालमा अधिक आर्थिक विकासको संभावना रहेको भन्दै उनले यसका लागि सरकारले सार्वजनिक खर्च गर्ने र व्यवस्थापन गर्ने क्षमता बढाउन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment