Comments Add Comment

सुर्खेत र बर्दियाका बाढी पीडितबारे सरकार बेखवर !

१ भदौ, काठमाडौं । तीन दिने झरीका कारण बाढीको विपत्तिमा परेको चार दिन भइसक्दा पनि सुर्खेत र बर्दियाका सयौं पीडितको अवस्थाबारे सरकार बेखबर छ ।

शनिबार अपराहृनबाट पानी रोकिएको छ तर, अझै सुरक्षाकर्मी जान सक्ने अवस्था छैन् । बाढीले विद्युत पोलहरु ढाल्दा विद्युत आपूर्ति बन्द भई पाँच दिनदेखि नहुँदा सञ्चार सम्पर्क पनि टुटेको छ ।

उद्धार तथा राहतका लागि खटिएको नेपाली सेनाको दुई बटा हेलिकोप्टरमा मन्त्री, सभासदसहितका भीआइपी आउने जाने क्रम बढेको छ ।

गृहमन्त्री वामदेव गौतमसहितको टोलीले आइतबार सुर्खेत, बर्दिया, दाङसहितका प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अबलोकन गरेका छ । भीआइपीहरु जाँदा जिल्लाका उच्चअधिकारीदेखि केही सुरक्षाकर्मी उनीहरुको अघि पछि दौडिदैमा भ्याइनभ्याई छ ।

‘एम आई १७ र पुमा हेलिकोप्टर मात्र छ’ उद्धार प्रभावकारी हुन नसक्नुको कारणबारे मध्यपश्चिमका एक सुरक्षा अधिकारीले भने-‘राहत र उद्दारमा लाग्नु पर्ने हेलिकोप्टरले भीआइपी पनि बोक्नु परेको छ । साँच्चै भन्ने हो भने भीआईपीको यहाँ कुनै काम छैन । हेलिकोप्टरबाट घुमेर हेर्ने मात्रै हो ।’

सुर्खेतका केही गाउँ सम्पर्कविहीन

भेरी नदीमा आएको बढीको ६ बटा पुल बगाएपछि सुर्खेतको घाटगाउँ, तरङ्गा, तातोपानी र हरिहरपुरसँगको सम्पर्क विच्छेद भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले अनलाइनखबरसँग भने- ‘नदी पारीका ती गाउँमा घरहरु बगाएको छ । मानिसहरु मरेको र हराएको भनिएको छ तर, हामी पुग्न सकेका छैनौं ।’

यस्तै साटाखानी, लेकप्राजोल, छिन्चु, बाबियचौरसहितका गाउँमा पहिरो गएको छ । तर, के कति क्षति भयो सरकार अनविज्ञ छ । ‘नेपालगञ्ज सुर्खेत जोड्ने रत्न राजमार्गमा पहिरो गएपछि हामी जान सकेका छैनौं’ प्रजिअ घिमिरेले भने । उनका अनुसार साटाखानीमा १५ जना पहिरोमा पुरिएको खबर आएको छ तर, उद्धार हुन सकेको छैन । लेखप्राजोलमा पनि मानवीय क्षति भएको खबर आएको छ ।

अहिलेसम्म सुर्खेतमा २८ जनाको शव भेटिएको छ । आइतबार थप चार जनाको शव भेटिएको हो । अझै १०६ जना हराइरहेका छन् ।

बाढीका कारण ६५९ घर मा क्षति पुगेको प्रारम्भीक तथ्याकं आएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार १५ गाविस बढी प्रभावित छ । ‘उद्धार गरिएका ५ हजार पीडितलाई ३२ बटा सेल्टरमा राखेका छन्’ उनले भने-‘तीन दिनका लागि दाल, चामल दिइएको छ ।’

बर्दियाको ६० प्रतिशत डुवानमा

बर्दियाको पद्माहा, बानियाँटार र सूर्यपटुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारकर्मी पुग्न सकेको छैनन् । ‘सुरुमा क्षति भएको छ भन्ने अबर आएपछि हेलिकोप्टरबाट रातह पठाइएको छ’ प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले अनलाइनखबरसँग भने-तर, उद्धारकर्मीहरु पुग्न सकेको छैन ।’ अहिले सञ्चार सम्पर्क समेत टुटेकाले पीडितहरुको अवस्था के कस्तो छैन भन्ने सकिने अवस्था छैन ।

बर्दियामा झण्डै १८ हजार पीडितलाई उद्धार गरेर झण्डै ४० बटा सेल्टरमा राखिएको छ । तर, सरकारले चिउरा, चाउचाउ र पानी मात्र दिएको छ । ‘दाल चामल दिनलाई भाँडाकुँडा पनि चाहियो’ प्रजिअ पौडेलले भने-‘विभिन्न संघ संस्थाले खाना खुवाएर सहयोग गरेका छन् ।’

उनका अनुसार बाढीले जिल्लाको ६० प्रतिशतभन्दा बढी भाग डुवानमा पारेको छ । ‘धेरै सुकुम्बासी बस्ती भएकाले ८ हजार बढी घर टहरा त बगाइसकेको छ’ उनले भने-‘पक्की र अग्लो घरहरु मात्र बचेका छन् । तर, त्यसमा पनि अहिले बस्ने अवस्था छैन ।’

९८ जनाको मृत्यु

गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । अझै १२९ जना हराइरहेका छन् । ११ हजार ५८४ घर डुवानमा परेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment