Comments Add Comment

एक वर्ष नै थेगेन माइतीघर-तीनकुने सडकखण्डको पिच

maitighar-tinkune
३ भदौ, काठमाडौं । करिब ५० करोड रुपैयाँ लागतमा निर्माण भएको देशकै चौडा माइतीघर–तीनकुने सडकले पहिलो बर्खा पनि थेग्न सकेन। मनसुन सकिएको छैन तर सरकारलाई हस्तान्तरण गरिएको पाँच महिना नबित्दै २.६ किलोमिटर लामो यो सडकमा ५० भन्दा बढी खाल्डा र थुप्रै ठाउँमा कालोपत्रे उस्सिएर फुट्न थालेको छ।

एक किलोमिटरलाई २० करोडभन्दा बढी लगानी गरिएको यो सडकका ठाउँठाउँमा कालोपत्रे डल्ला परेर माथि उठेको छ भने कतिपय ठाउँमा उप्किसकेको छ। नयाँबानेश्वरस्थित होटल एभरेस्टभन्दा केही मिटर तल नोबेल एकेडेमी कलेज छिर्ने ठाउँमा सबैभन्दा बढी खाल्डा छन्। त्यहाँ करिब १० मिटर खण्ड त खाल्डै खाल्डा छन्। माइतीघरको सेन्टजेभियर्स नजिकैको क्षेत्रमा पनि ठूलो खाल्डो छ। त्यहाँ सडकको पिच बीचबाट फाटेर भत्कन थालेको नागरिक दैनिकमा खबर छ। माइतीघरबाट बबरमहलतिर मोडिएपछि पनि थुप्रै खाल्डा र डल्ला भेटिन्छन्।

बबरमहलस्थित सडक विभागबाट २ सय मिटर वरपर धेरै ठाउँमा बिग्रिएका छन्। विभागदेखि बिजुलीबजार पुलसम्मको खण्डमा साना–ठूला खाल्डा बग्रेल्ती छन्। पुलपारि औषधि व्यवस्था विभागअगाडिको खण्डमा पनि सडक भत्किएको छ। बबरमहलमै कर कार्यालयतर्फ जाने क्षेत्रमा कालोपत्रे डल्ला परेर उठेको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले माइतीघर–तीनकुने सडक निर्माणको जिम्मा टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीलाई दिएको थियो। यसअघि पनि कम्पनीले सडक निर्माण सकेको दुई महिना नबित्दै विभिन्न स्थानमा कालोपत्रे डल्ला परेर उस्सिएको थियो। त्यतिबेला कम्पनीले रातारात उस्सिएका स्थानमा काटेर सडक टालेको थियो।

अहिले फेरि खाल्डा परेर सडक बिग्रन थालेपछि आयोजनाले यसको गुणस्तरबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। आयोजना प्रमुख श्याम खरेलले पटक–पटक सडकमा समस्या आउन थालेपछि प्राविधिक तथा निर्माण सामग्रीलगायत विषयमा सूक्ष्म अध्ययन थालिएको जानकारी दिए।

‘केही ठाउँमा प्राविधिक समस्या देखिएको छ भने केही ठाउँमा निर्माण क्रममा हेलचेक्र्याइँ भएको पाइएको छ,’ उनले भने, ‘हामी सूक्ष्म अध्ययन गरेर खास समस्या पत्ता लगाउनेछौं।’ तत्कालका लागि अस्थायी रूपमा भए पनि सडक टाल्न निर्माण व्यवसायीलाई भनिसकेको उनले बताए।

‘पहिला अस्थायी रूपमा भए पनि बनाउनुपर्छ, वर्षा रोकिएपछि स्थायी रूपमा निर्माण गर्नुपर्छ,’ खरेलले भने, ‘नोबेल कलेज अगाडिको खण्ड भत्कनुमा भने नयाँ निजी भवन बनाउने कम्पनी जिम्मेवार रहेकाले त्यसैलाई पुनर्निर्माण गर्न लगाउनेछौं।’

सडक निर्माण कम्पनीका सुवित श्रेष्ठले केही स्थानमा खानेपानी पाइप बिछ्याउन भत्काइएको र केही स्थानमा पानी छिरेकाले सडक बिग्रेको बताएका छन्।‘केही ठाउँमा समस्या देखिए पनि सबैमा हाम्रो दोष देखाउनु सरासर गलत हो,’ उनले भने, ‘बिग्रिएका सबै ठाउँमा तुरुन्त मर्मत सुरु गर्नेछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment