Comments Add Comment

स्वास्थ्य व्यवसायी महासंघमा अस्वस्थ भिडन्त

cdo

३ भदौ, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको साधारणसभामा संस्थापन पक्षले एकलौटी गरेको भन्दै बहुसंख्यक व्यसायीहरुले नयाँ महासंघ खोल्ने तयारी गरेका छन् । दुई पक्षले बाहुबली युवा जम्मा गरेपछि महासंघको कार्यालय सिनामंगल वरपर त्रासको अवस्था छ ।

आइतबारदेखि शुरु भएको साधारणसभामा अध्यक्ष प्रवीण तिवारी, बरिष्ठ उपाध्यक्ष कैलाश खड्का र कोषाध्यक्ष जीवनकुमार केसीले संस्थाको चार करोड रुपैयाको हिसाब किताब देखाउन नसकेपछि व्यवसायीहरुले बिरोध जनाएका थिए ।

साधारणसभा चलिरहेकै बेला तिवारी र खड्कासहितको टोलीले सबै प्रस्ताव पारित भए भन्दै माइन्युट बोकेर हिँडेपछि विवाद बढेको हो । व्यवसायीहरुले साधारणसभा अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले महासंघको निर्वाचन प्रक्रिया स्थगित गर्न सोमबार आदेश दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले सबै सक्कल कागजात मागेपछि आफूहरुले पठाइसकेको र मंगलवारै निर्वाचन हुने तिवारीले बताएका छन् । तर, व्यवसायीहरुले भने १६ करोड नाफामा रहेको संस्थालाई डेढ करोड घाटा देखाएर अहिलेका पदाधिकारीले १४ करोडभन्दा बढी हिनामिना गरेको भन्दै त्यसको हिसाब मागेका छन् ।

अहिलेकै नेतृत्वले बनाएको निर्वाचन समिति र फर्जी सदस्यका आधारमा हुने निर्वाचन प्रक्रियामा सहभागी भएर उनीहरुको भ्रष्टाचारलाई सदर गर्न नसकिने व्यवसायी जय गुरुङले बताए । ‘हामी चुनाव जित्छौं तर उनीहरुले भ्रष्टाचार गरेर बोकाएको ऋण तिर्न किन जाने, त्यसैले अब स्वास्थ्य व्यवसायीहरुको नयाँ महासंघ बन्छ’ ।

cdo1

वैदेशिक रोजगार लक्षित संस्थाको महासंघ

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले खुलेका करीव ३ सय संस्थाहरु महासंघमा आबद्ध छन् । यीमध्ये करीव दुई सदस्य सदस्यले अलग्गै भेला गरेर नयाँ महासंघ स्थापना गर्न लागेका छन् । तर संस्थापन पक्षका तिवारीले भने उनीहरुलाई पनि सहभागी हुन आफूहरुले आह्वान गरेको बताए ।

तिवारी पक्षले मंगलवारै जिल्ला प्रशासनबाट अर्को पत्र ल्याएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी थालिसकेको छ । उनीहरुले सोमबारै उम्मेदवारी मनोनयन भइसकेको भन्दै बहुसंख्यक व्यवसायीलाई निर्वाचन प्रक्रियाबाटै रोक्न खोजेपछि भिडन्तको अवस्था सिर्जना भएको छ ।
दुबै पक्षले बाहुबली युवाहरुलाई परिचालन गरेपछि कुनै पनि बेला झडप हुन सक्ने अवस्था देखिएको छ ।

विवादको जड बायोमेट्रिक

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि बायामेटि्रक प्रणाली लागु गर्ने कि नगर्ने भन्ने बेलादेखि नै व्यवसायी विभाजित भएका थिए । तिवारीसहितका पदाधिकारीले ३८ संस्थाबाट ५० लाखको दरले पैसा उठाएर कतिपयले बायोमेट्रिक मेसिन ल्याउन मलेसियाको बेस्टिनेट कम्पनीसँग सम्झौता गरिसकेका छन् ।
तर, बहुसंख्यक व्यवसायीले यसबाट व्यवसायी र कामदार दुवैलाई घाटा पार्ने भन्दै बिरोध गरेपछि सरकारले यो प्रक्रियानै रोकेको छ । व्यवसायीहरुले आफूहरुको ५० लाख रुपैया फिर्ता दिन वा बायोमेटि्रक लागु गराउन महासंघ नेतृत्वमाथि दबाब दिइरहेका बेला महासंघ नै फुट्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment