Comments Add Comment

तीनदलको बैठकमा मनमुटाव, वार्तामा नबस्ने एमाओवादीको घोषणा

८ भदौ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र एमाले उच्चस्तरीय राजनीतिक समिति गठनका लागि सहमत नभएपछि प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले बालुवाटार बैठक बहिस्कार गरेको छ ।  तर, कांग्रेस र एमालेले भने एमाओवादीले भन्दैमा राजनीतिक समिति गठन गर्न नसकिने बताएका छन् ।
नयाँ संविधानका अन्तरवस्तुबारे छलफलका लागि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।

शीर्ष नेताहरु सम्मिलित बैठकमा एमाओवादी नेताले चारबुँदे सहमति कार्यान्वयन गर्न माग गरेका थिए । तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति नमान्ने कांग्रेस र एमालेवीच सहमति भएको बताए पनि प्रचण्ड, बाबुरामलगायतका माओवादी नेताहरु बैठक छाडेर बाहिरिएका छन् ।

‘कांग्रेस र एमालेका नेताहरु संविधान निर्माणप्रति इमान्दार देखिएनन्, तीन दलको बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डलाई उधृत गर्दै एक माओवादी नेताले भने-‘चार दलीय सहमति कार्यान्वयन नगरिएसम्म अब एमाओवादीले कांग्रेस र एमालेसँग कुनै पनि वार्ता गर्दैन ।’

दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि प्रमुख दलहरुवीच भएको सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, चुनावमा भएको धाँधलीबारे संसदीय छानविन समिति बनाउने र उच्चस्तरीय राजनीतिक समिति बनाउने लगायतका विषयमा सहमत भएका थिए । सो सहमतिका बेला उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डलाई दिने ‘जेन्टलमेन एगि्रमेन्ट’ भएको एमाओवादी दावी छ ।

बालुवाटारमा बैठकमा एमाओवादी नेताहरु आफ्ना कुरा राखेर बाहिरिएको एमाले महासचिव ईश्वर पोखरेलले अनलाइनखबरलाई बताए । ‘उहाँहरु आफ्ना कुरा राखेर हिँड्नुभयो’ पोखरेलले अनलाइनखबरसँग भने- ‘उच्चस्तरीय राजनीतिक समिति बनाएर त्यसको नेतृत्व प्रचण्डलाई दिइनुपर्छ भन्ने उहाँहरुको माग छ, तर यो सम्भव छैन ।’

समिति गठनको औचित्य छैन : कांग्रेस-एमाले

माओवादीको बहिस्कारपछि साँझ कांग्रेस र एमाले नेताहरुको बैठकमा समीक्षा भएको छ । तर, उसले भने जस्तो उच्चस्तरीय राजनीतिक समितिको आवश्यकता र औचित्य नभएको दुई दलको ठहर छ ।

‘बिहानको बैठकको सामान्य समीक्षा भयो’ एमाले नेता अग्नि खरेलले अनलाइनखबरसँग भने-‘माओवादीले भनेको माग अघि बढ्दैन । त्यस्तो समितिको संवैधानिक, राजनीतिक र कानुनी औचित्य सिद्ध गर्न सकिँदैन ।’

कांग्रेस र एमालेले संविधानका अन्तरवस्तुबारे सहमतिका लागि सरकारका रहेका र नरहेका दलहरुसँग छलफल सुरु गर्ने निर्णय गरेको छ । बैठकले कांग्रेस र एमालेबीच राजनीतिक नियुक्ति, सातबुँदे कार्यान्वयनसहितका विषयमा देखिएको विवाद अध्ययन गरी समाधानका लागि कार्यदल बनाउने सहमति गरेको नेता खरेलले बताए ।

चारबुँदे कार्यान्वयन नगर्ने रामचन्द्रको वचन

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित तीन दलीय बैठकमा शुरुमा राज्य पुनसंरचना र शासकीय स्वरुपमा विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा डा. बाबुराम भट्टराईले चार बुँदे सहमति कार्यान्वयन गर्न र उच्चस्तरीय राजनीति समिति बनाएर त्यसको नेतृत्व एमाओवादी अध्यक्षलाई दिन आग्रह गरेका थिए ।

बाबुरामलाई जवाफ दिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति कार्यान्वयन नगर्ने सत्तारुढ दलवीच सहमति भैसकेको भनेपछि माओवादी नेताहरु सो सहमतिबाट पछि हट्ने हो भने कांग्रेस एमालेसँग वार्तामा नबस्ने भन्दै बैठक बहिस्कार गरेर हिँडेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment