Comments Add Comment

त्रिविमा यसरी ठगिन्छन् मेडिकल पढ्ने विद्यार्थी

९ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) ले विद्यार्थीलाई शोषण गरेको भन्दै चिकित्सा शास्त्र पढ्न चाहने विद्यार्थीले शिक्षा मन्त्रालयमा गुनासो गरेका छन् । image2
आइओएमले नयाँ भर्नाका लागि खोलेको आवेदन फारममा धेरै जटिलता रहेको र अनलाइन फारम सच्याउने अप्सनसमेत नदिई सर्वसाधारणको धेरैभन्दा धेरै पैसा असूल गर्न खोजिएको विद्यार्थीहरुको गुनासो छ ।
आइओएमले हरेक वर्ष चिकित्सा शास्त्र अन्तर्गतका ७ विधामा परीक्षा लिने गर्छ । परीक्षा फारम बुझाउने आइतवार अन्तिम दिन थियो ।
एउटा फारमको मूल्य ३ हजार तोकिएको आइएओमले जनाएको छ । तर, विद्यार्थीले भने अनलाइन फारममा सच्याउने विकल्प नदिइएका कारण एउटै विद्यार्थीले सित्तैमा ३ हजार खर्च गर्नुपरेको गुनासो गरेका छन् ।
‘आइओएमले नियतवस बिद्यार्थीबाट पैसा लुट्नका लागि करेक्सन अप्सन नराखेको देखिन्छ, फारम पनि अव्यवस्थित छ’ पब्लिक हेल्थका विद्यार्थी नन्दराज गहतराजले भने ‘फारम भर्दाभर्दै अटो चेन्ज गर्छ, त्यसपछि अर्को फारम भर्न फेरि ३ हजार तिर्नुपर्छ । ‘
विद्यार्थीको गुनासोका सन्दर्भमा आइएओम महाराजगन्जका पदाधिकारी कोही पनि प्रतिक्रिया दिन तयार भएनन् । शिक्षा मन्त्रालयले गुनासो सुनवाइ गर्न आइओएमलाई भनेको छ ।
हरेक वर्ष आइओएमले लिने प्रवेश परीक्षाका लागि १० हजारभन्दा बढी विद्यार्थीले फारम भर्छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजमा भर्ना हुन यो परीक्षा दिनुपर्छ ।
आइओएमले अनलाइन फारममात्र लिने भएकाले इन्टरनेट पहुँचमा नरहेका ठाउँका विद्यार्थीले समस्या भोग्नुपरेको अनेरास्ववियुकी महासचिव नविना लामाले बताइन् ।
‘विद्यार्थीको सहज पहुँच स्थापित गर्नुपर्ने हो, तर आइओएमले पैसा कमाउन मात्र खोजेको देखिन्छ’ उनले भनिन् । परीक्षार्थीले फारम शुल्क पनि महँगो भएको बताएका छन् ।
भदौ १३ र १४ गते प्रवेश परीक्षा
प्रवेश परीक्षा भदौ १३ र १४ गते हुने आइओएमले जनाएको छ । निःशुल्क, पूर्ण शुल्क र सहुलियत सबै पढाइका लागि यो परीक्षा पास गर्नुपर्छ । चिकित्सा शास्त्रको स्नातक तहका सात विधामा त्रिविले परीक्षा लिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment