Comments Add Comment

अवकाश पाएका क्षयरोग प्रमुखको म्याद थप प्रस्ताव मन्त्रिपरिषदमा

९ भदौ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सार्क क्षयरोग केन्द्रका डाक्टर काशीकान्त झाको एक वर्ष म्यादथप गर्ने निर्णय मन्त्रिपरिषद्मा पेश गरेपछि स्वास्थ्यका उच्च अधिकारीहरु असन्तुष्ट बनेका छन् ।

Khagraj-Adhikari६० वर्षे उमेर हदका कारण अवकाश पाइसकेका झालाई मन्त्रिपरिषदबाट निर्णय गराएर पुनः सरकारी सेवामै राख्न खोजिएपछि अन्य उच्च अधिकारीहरु असन्तुष्ट बनेका हुन् ।

११ वर्षदेखि सार्क क्षयरोग केन्द्रको प्रमुख रहेका डा. झाले कुनै काम नगरी विदेश भ्रमणमै केन्द्रको बजेट सिध्याउने काम गरेकाले उनलाई पुनः प्रमुखका रुपमा राख्नु नहुने भन्दै मन्त्रालयका कर्मचारीले मन्त्रीलाई आग्रह गरेका थिए ।

‘विदेश जाने र भत्ता खानेबाहेक कुनै काम नगरे पनि मन्त्री अधिकारीलाई अष्टे्रलिया भ्रमणमा जाने क्रममा प्रभावित पारेकाले मन्त्रीले जबर्जस्ती उनको म्याद थप्न खोजे’ स्वास्थ्यका एक सहसचिवले भने । डा. झा मन्त्री अधिकारीसँगै गत महिना अष्ट्रेलिया गएका थिए । त्यस लगत्तै उनको म्याद थप्ने प्रस्ताव अघि बढेको हो ।

क्षयरोग र एचआइभी एड्स रोकथामका क्षेत्रमा काम गर्नुपर्ने सार्क क्षयरोग केन्द्रका झाको उमेर ६१ बर्ष पुगिसकेको छ । गतबर्ष पनि उनको म्याद एक बर्ष थप गरिएको थियो ।

मन्त्रालयको प्रशासन महाशाखाका कर्मचारीहरु डा. झाको म्यादथप गर्नु नहुने पक्षमा भए पनि मन्त्री अधिकारीले सचिव शान्तबहादुर श्रेष्ठबाटै प्रस्ताव तयार गरी भदौ ४ गते डा. झाको म्यादथप गर्ने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा लगेको मन्त्रालय स्रोतले बतायो ।
यसअघि पदमुक्त गर्ने मन्त्रालयको निर्णयविरुद्ध डा.झाले सचिव र मन्त्रीलाई विपक्षी बनाई सर्वोच्च अदालतमा मुद्दा हालेका छन्, जुन मुद्दा अहिलेसम्म विचाराधीन छ ।

यस्तो अवस्थामा पुनः एक बर्ष म्यादथप गर्न नहुने मन्त्रालयका कर्मचारीहरुको सुझावविपरीत मन्त्री अधिकारीले झाको म्यादथपको प्रस्ताव क्याविनेटमा लगेका हुन् ।

स्वास्थ्यका कर्मचारीको असन्तुष्टि

स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फका सचिव ल्याइएको बिरोधमा डाक्टरहरुले आन्दोलन गरिरहेका बेला मन्त्रीले अर्को विवादस्पद प्रस्ताव लगेर स्वास्थ्यमा अस्वस्थ अवस्था सिर्जना गरेको कर्मचारी संगठनहरुले जनाएका छन् ।

‘मन्त्रालयका अधिकारीहरुले म्यादथप गर्नु नहुने सुझाव दिँदादिँदै थप गर्नुको पछाडि मन्त्री उनको प्रभावमा परेको बुझ्न सकिन्छ’ ती अधिकारीले भने ।
मन्त्रीको दबावमा प्रस्ताव तयार पारेका सचिव श्रेष्ठले उच्च अधिकारीहरुसँग लाचारी प्रकट गर्दै मुख्य सचिवसमक्ष जान सुझाव दिएको स्रोतले जनाएको छ ।
विशेषज्ञ डाक्टरको आवश्यताअनुसार म्यादथप गर्न सकिने भए पनि कार्यकारी पद दिन नमिल्ने स्वास्थ्य सेवा ऐनको भावनाविपरीत डा. झाको म्यादथप गरी उनलाई सार्क क्षयरोग केन्द्रकै प्रमुखमा राख्ने पक्षमा मन्त्री पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment