Comments Add Comment

बेल्जियमको व्यवसाय छाडेर पोखरामा ३० करोडको रिसोर्ट

Rupakot-Resort-Photo-2

पुष्प दुलाल

१० भदौ पोखरा । काखैमा सुन्दर बेगनास र रुपाताल । आँखैअघि लमतन्न सुतेका सेता हिमाल । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य । चारैतिर हरियाली । चराचुरुङी र झ्याउँकिरीको सुमधुर आवाज । फाँट र शहरको मनै लोभ्याउने दृश्य ।

यो कुनै स्वर्गको बयान नभई सञ्चालनमा आउन लागेको कास्कीको ‘रुपाकोट रिसोर्ट’बाट देखिएका  दृश्यहरूको सवुत बयान हो । जुन दृश्यले बेल्जियममा २० वर्षदेखि रेस्टुरेन्ट व्यवसाय गरिरहेका गैरआवासीय नेपाली (एनआरएन) पुष्प अधिकारीलाई तानेर स्वदेश फर्कायो । र, उनी अहिले ३० करोड रुपैयाँ खर्चिएर रिसोर्ट निर्माण गरिरहेका छन् ।
दशैँअघि सञ्चालनमा आउने यस रिसोर्टमा एक रात बिताउन ३ सय डलर अर्थात ३० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

Pushpa Adhikariदृश्यहरुको ‘ब्रान्डिङ’ गरेर ग्राहकलाई आकषिर्त गर्ने योजनाका साथ रिसोर्टमा लगानी गरेको प्रवन्ध निर्देशक अधिकारी बताउँछन् । ‘यही दृश्यदेखि लोभिएर बेल्जियमबाट फर्किएँ, अब यहीँ बस्छु’ उनले भने ।

सन् २०१२ मा निर्माण थालिएको यो रिसोर्टको २ सय रोपनी कम्पाउन्ड छ । रिसोर्टका आठ वटा भवन छन् । जहाँ ८४ जना ग्राहक बस्न सक्ने ४२ वटा वातानुकुलित कोठाहरु छन । अहिले मुख्य भवन, पार्किङ, स्वीमिङ पुल, गार्डेन र दुईवटा हेलिप्याड तयार भइरहेका छन् । ‘पैसावाल र प्राकृतिक सुन्दरताका पारखीहरुलाई लक्षित गरेर रिसोर्ट निर्माण गरिएको हो’ अधिकारीले भने ।

बेल्जियममा रहँदा आफूले २१ औं शताब्दीका धनाड्यहरु प्रकृतिसँग साक्षात्कार गर्न रुचाउने थाहा पाएको बताउँदै उनलेे शहरभन्दा टाढा रिसोर्ट खोल्नुको कारण प्रष्ट्याए । उनको रिसोर्टमा सय जनाले रोजगारी पाउने छन् ।

रिसोर्टको मूख्य विषेशता एकै ठाउँबाट बेगनास र रुपा तालका साथै दर्जनांै हिमशृंखला र पोखरा शहरको दृश्यावलोकन हो । ‘एकै ठाउँबाट यतिधेरै मनमोहक दृश्य देखिने ठाउँहरु संसारमा थोरैमात्रै रहेको उनको दाबी छ । रुपाकोटसँग बेलायतका राजकुमारले पैदल हिँडेको इतिहास पनि छ ।

Pokhara Lakeचाँडै पाँचतारे

रिसोर्ट सञ्चालनमा आएको केही वर्षमै पाँचतारेमा स्तरोन्नति गर्ने योजना रहेको अधिकारीले जानकारी दिए । ‘बेल्जियमको व्यवसाय बिक्री गरेर रुपाकोटमा लगानी गर्ने सोच छ’ उनले भने । बेल्जियममा उनका दुईवटा रेस्टुरेन्ट सञ्चालनमा छन् ।

अग्र्यानिक भान्सा

रिसोर्टको भान्सामा पाक्ने खाद्य वस्तु ९० प्रतिशत अग्र्यानिक हुने अधिकारीको दाबी छ । ‘रुपाकोटका किसानलाई अग्र्यानिक खेती गर्न प्रोत्साहन गरेको छु, सिंचाइका लागि बोरिङ गाडिसकेको छु’ उनले भने- रिसोर्टमा स्थानीय अग्र्यानिक उत्पादनको खपत हुन्छ ।

आफ्नै गाउँ फर्की आएँ

अधिकारीको जन्म रुपाकोटमै भएको हो । उनले निमाविसम्म त्यहीँ अध्ययन गरेका थिए । पछि उनीका बुबाआमा परिसवारसहित चितवनमा बसाइँ सरे । ‘बाल्यकालमा म यही ठाउँबाट रकेट बनाएर रुपा र बेगनासतातिर उडाउँथे’ अधिकारीले स्मरण गरे -‘आज यही ठाउँमा व्यवसायी भएर आएको छु, अब रुपाकोटलाई संसारमा चिनाउने रहर छ ।’

Rupakot-Resort-Photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment