Comments Add Comment

संसदका ११ समितिका सभापति सर्वसम्मत 

१० भदौ, काठमाडौं । व्यवस्थापिका संसदका ११ वटा समितिका सभापतिहरु सर्वसम्मत चयन हुने भएका छन् । तर, विधायन समितिको सभापतिमा भने दुई साना दलका सभासदले उम्मेदवारी दिएका छन् ।

कांग्रेस र एमाले फरक-फरक उम्मेदवारको समर्थक बसेका कारण विधायन समितिलाई कांग्रेस एमाले भिडन्तका रुपमा हेरिएको छ । व्यवस्थापिका संसदमा सभापतिहरुको चयन बुधबार हुँदैछ ।

समितिहरुको सभापतिका लागि मंगलबार उम्मेदवारीको समय तोकिएको थियो । दलीय भागवण्डाका आधारमा कांग्रेस र एमालेले चार-चार, एमाओवादी, राप्रपा, मधेसवादी र साना दलले एक समितिमा उम्मेदवारी दिएका छन् ।

कांग्रेस र एमालेले जुधाए !

साना दलको भागमा परेको विधायन समितिमा प्रेमबहादुर सिंह र गंगा चौधरीको उम्मेदवारी परेको छ । सिंहको प्रस्तावक तथा समर्थक एमाले नेता छन् भने चौधरीको प्रस्तावक कांग्रेस सभासद तारिणीदत्त चटौत छन् ।

‘प्रधानमन्त्रीसहितको सल्लाहअनुसार नै हाम्रो दलको तर्फबाट चौधरीले उम्मेदवारी दिनुभएको हो’ थरुहट तराई पार्टीका सभासद गोपाल दहितले अनलाइनखबरसँग भने । तर, एमालेले अनावश्यक बखेडा झिकेको भन्दै उनले अब मिलाउने जिम्मा कांग्रेसको भएको बताए ।

अर्का उम्मेदवार सिंहले भने सानासहितका दलको आग्रह उम्मेदवारी दिएको बताए । ‘अधिकांश दलका साथीहरुले दिनुपर्छ भनेपछि मैले उम्मेदवारी दिएको हो’ सिंहले अनलाइनखबरसँग भने ।

कुन समितिमा को सभापति ?

संसदको शक्तिशाली मध्येको एक राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका दिलबहादुर घर्तीको मात्र उम्मेदवारी परेको छ । कृषि तथा जलस्रोत समितिको सभापतिमा गगन थापा सर्वसम्मत हुने भएका छन् । संसदीय सुनवाइ विशेष समितिमा कुलबहादुर गुरुङ र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा भीष्मराज आङदेम्बे सर्वसम्मत हुने भएका छन् ।

एमालेको भागमा परेको विकास समितिको सभापतिमा रविन्द्र अधिकारी सर्वसम्मत हुने भएका छन् । अर्थ समितिमा प्रकाश ज्वाला, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा रञ्जु झा र सुशासन तथा अनुगमन समितिमा शेरधन राईको मात्र उम्मेदवारी परेको छ ।

एमाओवादीको भागमा परेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिमा पूर्वकानुनमन्त्री प्रभु साहको मात्र उम्मेदवारी परेको छ । राप्रपा नेपालको भागमा सामाजिक न्याय तथा मानव अधिकार समिति परेको छ र सुशीलकुमार श्रेष्ठ सर्वसम्मत सभापति बन्ने भएका छन् ।

मधेसी दलको भागमा परेको वातावरण संरक्षण समितिको सभापतिमा फोरम लोकतान्त्रिकका रामजनम चौधरीको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment