Comments Add Comment

विषाक्त पानीले धानबाली मरेपछि किसानको अनसन

 Farmera Protest Rautahat

गौतम श्रेष्ठ
१२ भदौ, रौतहट । वर्षाभरी  पसिना बगाई रोपेको धानबाली उद्योगले नष्ट पारेपछि पीडित बनेका रौतहटका किसान बिहीबारबाट अनिश्चीतकालीन अनशनमा बसेका छन् ।

वर्षभरको छाक टारी घरबार समेत चलाउन रोपेको धानबाली क्षणभरमै नष्ट भएपछि किसान आन्दोलित भएका हुन् ।

बाढी आएको मौकामा चिनी मिल र दुईवटा डिष्टीलरीले दुषित पानीको ढल खोलामा मिसाएपछि रौतहटको दक्षिणी भेगमा करिब एकहजार हेक्टर जग्गाको धानखेती नष्ट भएको हो  ।

रौतहटको मध्यबजार गरुडामा रहेको श्रीराम सुगर मिल्सको डिष्टीलरी, ज्योति डिष्टीलरी डुमरिया र बाबा डिष्टीलरी विर्ताले पोखरीको दूषित पानी (स्पेण्ड वास) को ढल बाढीको मौका छोपेर बगाउँदा किसानका खेतका बाली नष्ट भएको हो ।

राजपुर तुल्सी, भेडियाही, मत्सरी, पचरुखी, जेठरिया, सरुअठा, बडहर्वा, मिठुअवा, जयनगर, हजमिनिया, झुनखुनवा, बसतपुर लगायतका गाविसका हजारौ किसानको धान बाली नष्ट भए पछि उनीहरु आन्दोलित भएका छन ।

सरकार र स्थानीय प्रशासनले माग सम्बोधन नगरेकाले आफूहरु अनशनमा बस्नु परेको कृषक ब्रजभुषण सिंहले बताए । किसानहरुले पटकपटक सम्बन्धित निकायमा पीडा पोखे पनि अनुसन्धान सुस्त भएको सिंहले बताए । उनीहरुले नष्ट भएको धानबालीको क्षतिपूर्ति र दोषी उद्योेग सञ्चालकलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

तीनै उद्योगले रसायनयुक्त पानी खोलामा मिसाउने गरेकाले टि्रटमेन्ट प्लान्ट राख्न लगाउनुपर्ने र जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेका छन ।

यता प्रशासनले हप्ताअघि नै धानबाली नष्ट हुनुको कारण र क्षतिको मूल्याङ्कनका लागि जिल्ला कृषि कार्यालयका प्रमुख राज नारायण यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिले स्थलगत अवलोकन गरी क्षतिको तथ्याङ्क संकलन गरिरहेको छ ।

कुहिएका बिरुवा, खेतमा रहेको विषाक्त पानी र माटोसमेत परीक्षणका लागि क्षेत्रीय कृषि कार्यालय हरिहर भवन ललितपुर र रोनाष्टमा समेत पठाएको छ ।
छानबिन समितिका संयोजक एवम् कृषि कार्यालय प्रमुख राजनारायण यादवले प्रारम्भीक तथ्याङ्कअनुसार झन्डै एक हजार हेक्टर भूमिमा लगाइएको धानबाली रसायनयुक्त पानीले नष्ट भएको बताएका छन । नष्ट भएका धानबालीको क्षेत्रीय प्रशासक शंकर कोइराला, कृषि विभागका क्षेत्रीय निर्देशक टेकबहादुर बमसहितले पनि स्थलगत अवलोकन गरी सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment