Comments Add Comment

माधव नेपालको कैलाश यात्राप्रति बाबुराम आक्रोशित

१४ भदौ, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख दलका सभासदहरुले संविधान निर्माणमा भन्दा पारिवारिक काम र घुमफिरलाई प्राथमिकता दिएको बताएका छन् ।

Baburam-and-madhav-nepalसंविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि शीर्ष नेताहरुको विदेश दौडाहाबारे आक्रोश पोखेका छन् । नेताको विदेश भ्रमणले संविधान निर्माणमा पारेको असरबारे नेम्वाङ र डा. भट्टराईवीच शनिबार टेलिफोनमा कुराकानी भएको छ ।

नेताहरुले पारिवारिक काम र घुमफिरलाई प्राथमिकता दिनु दुःखद भएको भट्टराईले बताए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाओवादी नेतासमेत रहेका सभापति भट्टराईले प्रमुख नेताहरु नै संविधान निर्माणमा सक्रिय नभएको बताए ।

बैठकमा उपस्थित हुँदैनन् ठूला नेता

सम्वाद समिति मुख्य विवादित विषयमाथिको छलफलमा प्रवेश गरेका बेला नेकपा एमाले नेता माधवकुमार नेपाल मनसरोवर (कैलाश) भ्रमणमा गएका छन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली शुक्रबार उपचारका लागि भारत गएका छन् ।

प्रधानमन्त्री सुशील कोइराला पनि लामो समयदेखि बैठकमा उपस्थित भएका छैनन् । समिति स्रोतका अनुसार बैठकमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागिता न्यून छ । ‘आउँदा पनि ठूला नेताहरु प्राय बोल्दैनन्’ एक सदस्यले अनलाइनखबरसँग भने- ‘हामीले ३/४ घन्टा छलफल गर्दा पनि नेताहरु नबोल्दा विषयवस्तु केन्दि्रत हुन सकेको छैन ।’

मलाई पनि विदेश भ्रमणको निम्तो छ : नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूलाई विभिन्न देशबाट भ्रमणको निम्तो आएको बताएका छन् । विदेशीले निम्तो दिनु स्वाभाविकै भए पनि संविधान बनाउन छाडेर विदेश दौडनु हाम्रा नेताहरुको कमजोरी भएको उनको तर्क छ ।

‘मलाई संसारका कैयौं देशबाट निम्तो आएको छ, तर मैले भ्याउँदिन माघ ८ मा संविधान बनेपछि आउँला भन्ने गरेको छु,’ संविधानसभाका अध्यक्ष नेम्वाङले अनलाइनखबरसँग भने, ‘विदेशी मित्रले निम्तो गर्नु स्वाभाविकै हो, तपाईको समय कस्तो छ भनेर उनीहरुले सोध्छन्, हाम्रै नेताहरुले संविधान बनाउने बेलामा म भ्याउँदिन, पछि आउँछु भन्नुपर्ने हो ।’

सभाध्यक्षले बोलाए सभापतिहरुलाई

यसैवीच संविधानसभाका अध्यक्ष नेम्वाङले आइतबार संविधानभसभाका पाँच समितिका सभापतिहरुको बैठक बोलाएका छन् ।

संविधान निर्माणको कार्यतालिका प्रभावित हुने खतरा बढेपछि नेम्वाङले सभापतिहरुलाई छलफलमा बोलाएका हुन् । बैठक आइतबार बिहान साढे ११ बजे राखिएको नेम्वाङको निजी सचिवालयले जनाएको छ । बैठकमा डा. बाबुराम भट्टराई, कृष्ण सिटौला, विष्णु पौडेलसमेतलाई बोलाएर संविधान निर्माणको कामबारे जानकारी लिन लागिएको सभाध्यक्ष नेम्वाङले अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

१७ सभासदको सपथको तयारी

यसैबीच संसद सचिवालयले मन्त्रिपरिषद्बाट मनोनित १७ सभासदको सपथको तयारी गरेको छ । तर, मन्त्रिपरिषद्बाट मनोनित भएको औपचारिक पत्र नआएकाले समय तय हुन नसकेको संसद सचिवालय स्रोतले जनाएको छ ।

‘आइतबार बिहानै पठाइदिनुस् भनेका छौं’ स्रोतले भन्यो-‘उनीहरुले चाहे र सम्भव भयो भने भोलिको संसद बैठकमा सहभागी हुन सक्छन् ।’

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले २६ मध्ये कांग्रेस र एमालेका ८/८ र राप्रप्रा नेपालको कोटामा एक सभासद मनोनित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment