Comments Add Comment

गच्छदारले संसदमा भने- दुई तिहाइले बनाउने संविधान काम लाग्दैन

१५ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्तारुढ कांग्रेस र एमालेले दुई तिहाइ बुहमतका आधारमा नयाँ संविधान जारी गर्न खोजेको भन्दै यो गलत बाटो भएको बताएका छन् ।

फाइल फोटो
फाइल फोटो

व्यवस्थापिका संसदको आइतबारको बैठकमा गच्छदारले मधेसवादी दल चौथो शक्ति भएको दावी गरे । कांग्रेस र एमाले गलत बाटोमा हिडेको भन्दै उनले-‘सत्तारुढ कांग्रेस र एमाले गलतबाटोमा हिँडदैछ । दुई तिहाइ बहुमतले बनाउने संविधान काम लाग्दैन ।’

कांग्रेस र एमाले सभासदहरुको सिटतिर औला देखाउँदै उनले भने-‘तपाईहरुले रोज्नु भएको बाटो एकदम गलत छ ।’

गच्छदारले कांग्रेस र एमाले संविधान निर्माणमा गम्भीर नभएको आरोप लगाए । कांग्रेस र एमाले शीर्ष नेताहरुको सिट खाली रहेकोतर्फ देखाउँदै उनले भने-यसले पनि प्रष्ट हुन्छ सभामुख महोदय ।’

एक मधेस प्रदेश सम्भव छैन भनेर आफूले भनेको भन्दै उनले अब कति प्रदेश बनाउने छलफल गरौं न भन्दा नेताहरु बैठकमै नआएको बताए ।

गच्छदारलाई सभामुख सुवास नेम्वाङले संविधानको विषय संविधानसभामै गर्न ध्यानाकर्षण गराए । तर, गच्छदारले त्यही छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति गठन गर्न माग गरेको बताए ।

मधेसी चौथो शक्ति भएको दावी गर्दै उनले प्रमुख तीन दलसहित मधेसी र जनजातिलाई समेटेर समिति बनाउनु पर्ने माग गरेका छन् ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मन्त्रिपरिषद्बाट मनोनित सभासदको भागवण्डाप्रति असन्तुष्टि जनाए । मतको आधारमा गर्नु पर्ने भन्दै उनले भने-‘कुन आधारमा मनोनयन गरिएको हो यसको आधार चाहियो ?’ संविधानसभामा कांग्रेस र एमालेले पाएको मत्र झण्डै ५७ प्रतिशत भएको भन्दै उनले भने-‘तपाईको मात्र अधिकार हो ? संविधानसभामा रहेका सबै दलको भावना बुझ्नु पर्दैन ?’

सरकार मजदुर मार्न खोज्दैछ

गच्छदारले गिट्टी बालुवा र ढुंगासहितका नदीजन्य पदार्थ उत्खननमा रोक लगाएर सरकारले लाखौं मजदुर मार्न खोजेको आरोप लगाए ।

‘ढुंगा बालुवा र गिट्टी फुटाउने सबै गरिब मजदुर हुन्, लाखौंले रोजगारी पाएको व्यवसाय बन्द गर्नु कति जायज हो ?,’ गच्छदारले भने-‘ढुंगा गिट्टी व्यवसायीले आन्दोलन गरिरहँदा सरकार मजदुरलाई मारेर टुलुटुलु हेरेर बसिरहेको छ, दशैंको मुखमा लाखौं मजदुर मार्नतर्फ सरकार उद्यत छ ।’

साना दलका कुरा मिडियाले सुनेनन्

ठूला पार्टी असफल भएको जनाउँदै गच्छदारले राम्रा कुरा उठाउँदा पनि साना दलका कुरा सञ्चारमाध्यले नसेमेटेको गुनासो गरे ।

‘सानो पार्टीका नेतालाई सञ्चारमाध्यमले बेवास्ता गरे, हाम्रा कुरा कसैले सुन्दैन’, अध्यक्ष गच्छदारले भने-‘ठूला पार्टी गलत बाटोमा जाँदैछन् भन्ने कुरा बोल्दा पनि सञ्चारमाध्यले सुन्न छाडे ।’

संसदमा अवरोध 

गच्छदारले बोलेपछि विपक्षी दलले संसद बैठक अवरुद्ध गरेका छन् । यसअघि शुक्रबार पनि संसद अरुवद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment