Comments Add Comment

एमाले संसदीय दलका पदाधिकारीमा को-को ?

uml-leder-bisnu-rajendra१९ भदौ, काठमाडौं । सभासद् मनोनयन र संसदीय समितिका सभापतिहरुको चयनमा एकलौटी भएको भन्दै माधव नेपाल पक्षले विरोध गरिरहेका बेला एमाले संसदीय दलमा थप पदाधिकारी नियुक्तिको तयारी भइरहेको छ ।

अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली विहीबार स्वास्थ्य उपचारबाट स्वदेश फर्किएलगत्तै संसदीय दलका बाँकी पदाधिकारी नियुक्ति हुने ओली निकट स्रोतले जनाएको छ ।

संविधानसभा निर्वाचन सकिएको दश महिना पुग्न लाग्दा पनि एमाले संसदीय दलमा प्रमुख सचेतक र सचेतकको नियुक्ति हुन सकेको छैन ।
दलका प्रमुख सचेतक नतोकिँदा संसदमा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको र सभासदहरु कसले कुन विषयमा कहिले बोल्ने भन्ने अन्योल रहने गरेको छ ।

‘संसदको दोस्रो ठूलो पार्टीको प्रमुख सचेतक अहिलेसम्म नतोकिँदा हामीलाई असहज त भएकै छ, बाहिर पनि लज्जाको विषय हो’ एमाले सभासद यज्ञराज सुनुवारले अनलाइनखबरसँग भने ।

स्रोतका अनुसार दलका नेता ओलीले अग्नि खरेललाई प्रमुख सचेतक बनाउन चाहेका छन् । उनलाई प्रमुख सचेतक बनाउनकै लागि यो पद अहिलेसम्म खाली राखिएको हो ।

हाल राजेन्द्र पाण्डेले कामचलाउ रुपमा प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका छन् । तर, आधिकारिक रुपमा प्रमुख सचेतकको जिम्मेवारी नहुँदा अप्ठेरो हुने गरेको उनले बताए ।

प्रमुख सचेतकका दावेदार मानिएका रविन्द्र अधिकारीलाई विकास समितिको सभापति बनाएका ओलीले भानुभक्त ढकाललाई सचेतक नियुक्त गर्ने चर्चा थियो ।

तर, सचेतकमा महिला सभासद ल्याउन नेपाल पक्षले ओलीमाथि दबाव दिइरहेको छ । माधव नेपाल पक्षले दलका पदाधिकारीमा एकलौटी गरे स्वीकार्य नहुने चेतावनी दिएको छ ।

नेपाल निकट स्रोतका अनुसार प्रमुख सचेतकमा ओलीले खरेललाई अघि सारे सचेतकमा नेपाल पक्षकी सभासद श्रीमाया थकालीलाई अघि सारिनेछ ।

उपनेतामा विवाद

एमाले संसदीय दलमा उपनेताको विवाद झनै पेचिलो बनेको छ । ओली अध्यक्ष हुनुअघि नै झलनाथ खनालकै पालामा स्थायी समितिले विष्णु पौडेललाई दलको उपनेता बनाउने निर्णय गरेको थियो ।

तर, माधव नेपाल पक्षले केन्द्रीय कमिटीमै यसको विरोध गरेको थियो । दलको नेता निर्वाचनबाट आएपछि उपनेताको पनि निर्वाचन हुनुपर्ने माग नेपाल पक्षले गरेको छ ।

नेपाल पक्षले दलको उपनेतामा राजेन्द्र पाण्डेलाई अघि सारेको छ । पाण्डेले पार्टीले दलको उपनेता तोक्न बिधानले नमिल्ने बताए ।
‘म दलको उपनेताको दावेदार हुँ, अन्त निर्णय गराएर यहाँ कसैलाई नियुक्त गर्न सकिन्न’ पाण्डेले अनलाइनखबरसँग भने-‘चुनाव लड्न म तयार छु’ ।

पौडेलको नाममा अडान

ओली पक्षले भने विष्णु पौडेललाई उपनेता बनाउने तयारी गरेको छ । पौडेललाई उपनेता बनाउन बामदेव गौतमले समेत जोडबल गरेका छन् ।
‘बरु सचेतकमा नेपाल पक्षबाट श्रीमाया थकालीलाई नियुक्त गर्न सकिन्छ तर, दलको उपनेतामा बिष्णु पौडेलको विकल्प छैन’ ओली निकट एक सभासदले भने ।

यसअघि संसदीय समितिका चार सभापति चयनमा आफूलाई ओलीले वाइपास गरेको र २० पटक फोन गर्दा पनि कुरा गर्न नचाहेको भन्दै नेपालले आपत्ति जनाएका थिए ।

चार सभापतिमध्ये नेपाल पक्षका प्रकाश ज्वाला परेका छन् । गौतम निकट रविन्द्र अधिकारीसहित ओली पक्षका शेरधन राई र रञ्जु ठाकुर सभापति भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment