३ असोज, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटाउन प्रमुख दलहरुबीच छलफल सुरु भएको छ । अमेरिका जानुअघि नै सहमति गरेर संसद सुचारु गर्ने प्रधानमन्त्री सुशील कोइरालाको प्रयास छ ।

प्रमुख दलबीच भइरहेको छलफलमा सत्तारुढ नेपाली कांग्रेस एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाउन सहमत भएको छ । मधेसी मोर्चालाई समेत राख्ने गरी राजनीतिक समिति गठनको तयारी भइरहेको छ ।
बालुवाटार बैठकमा एमाअेावादी अध्यक्ष प्रचण्डले मधेसवादी दलका नेतालाई समेत लिएर गएका छन् । तीन दलको बैठकमा मधेसवादी दलका नेतालाई किन ल्याइयो भन्ने एमाले नेताहरुले प्रश्न उठाएपछि प्रधानमन्त्रीसँग सल्लाह भएर ल्याएको प्रचण्डले एमाले नेतालाई बताएका छन् ।
एमालेले निर्णय दिएन
प्रचण्डलाई उच्च स्तरीय राजनीतिक समितिको संयोजक बनाउनेबारे एमाले भने आन्तरिक छलफलमा छ । बालुबाटार बैठकमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएका कारण एमाले नेताहरु आन्तरिक छलफलका लागि बाहिरिएका छन् ।
‘प्रधानमन्त्रीलाई भनेर हामी आन्तरिक छलफलका लागि आएका हौं’ नेता अग्नि खरेलले अनलाइनखबरसँग भने ।
चारबुँदे सहमति कार्यान्वयन लगायतका माग गर्दै एमाओवादीसहितका विपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् । बिहीबार संसद बैठक अवरुद्ध भएपछि सभामुखले प्रधानमन्त्री अमेरिका जानुअघि नै सदन सुचारु गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया 4